६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा देशव्यापी आन्दोलनको चेतावनी

द नेप्लिज संवाददाता
१७ चैत २०८१, आइतबार

Advertisement

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा सरकारले ज्यादती गरेको आरोप लगाएको छ । राप्रपाले सरकारकै दमनकारी नीतिका कारण आन्दोलन उग्र बनेको निष्कर्ष निकालेको छ । 

शनिबार (चैत १६) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले २४ घण्टाभित्र बिनासर्त रिहाइ नभए देशभर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । 

लिङ्देनका अनुसार सरकारले २४ घण्टाभित्र रवीन्द्र मिश्र, धवलशमशेर जबरा, अधिवक्ता स्वागत नेपाललगायतलाई रिहा नगरे राप्रपा सडक संघर्षमा उत्रनेछ । ‘२४ घण्टाभित्र बिनासर्त रिहा गरिएन भने राप्रपाले देशभर विरोध कार्यक्रम गर्नेछ र आन्दोलनलाई निरन्तरता दिनेछ,’उनले भने । 

राप्रपाले मिश्र र जबरालाई षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजिएको आरोप लगाएको छ । ‘शुक्रबारको शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका हाम्रा नेताहरूमाथि सरकारको दमन भयो । उनीहरू हिंसा, तोडफोड वा आगजनीमा संलग्न थिएनन् । यदि संलग्नताको प्रमाण छ भने निष्पक्ष छानबिन गरियोस्, दोषीलाई कारबाही होस् । तर षड्यन्त्रपूर्वक मुद्दा लगाइँदैछ,’ लिङ्देनले भने । 

प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिलाई सहिद घोषणा गर्नुपर्ने र घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोडेर अनावश्यक विवाद सिर्जना गरिएकोमा राप्रपाले आपत्ति जनाएको छ । राप्रपाले सरकारलाई शान्तिपूर्ण प्रदर्शनमा दमन नगर्न चेतावनी दिँदै यदि माग सम्बोधन नभए थप कडा आन्दोलन गर्न बाध्य हुने बताएको छ ।
 

प्रकाशित : १७ चैत २०८१, आइतबार 00:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved