आईपीएल २०२५
विराटनगर– इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को रोमाञ्चक यात्रा आजदेखि सुरु हुँदैछ । खेलप्रेमीहरू मनपर्ने खेलाडीहरूको बारेमा चर्चा गर्न थालिसकेका छन् । यस पटकको लिगमा दश टोली सहभागी छन् । सबैको ध्यान उनीहरूका कप्तानहरूमा छ । यस सिजनमा केही नयाँ अनुहार कप्तान बनेका छन् भने केही अनुभवी खेलाडीहरूले आफ्ना टोलीको नेतृत्व गर्दैछन् । आउनुहोस्, हेरौँ कुन टोलीको कप्तान को बनेका छन् र उनीहरूको रेकर्ड कस्तो छ ।
१. ऋतुराज गायकवाड (चेन्नई सुपर किंग्स)
चेन्नई सुपर किंग्स (सीएसके) को कप्तानी यस पटक ऋतुराज गायकवाडलाई दिइएको छ । उनले २०२० मा आईपीएलमा डेब्यु गरेका थिए । अहिलेसम्म ६६ खेलमा २ हजार ३ सय ८० रन बनाएका छन् । यसमा दुई शतक समावेश छन् । २०२१ मा उनले ६ सय ३५ रन बनाउँदै ओरेंज क्याप जितेका थिए र टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यस पटक पनि उनलाई पूर्व कप्तान महेन्द्रसिंह धोनीको मार्गदर्शन प्राप्त हुनेछ ।
२. अक्षर पटेल (दिल्ली क्यापिटल्स)
दिल्ली क्यापिटल्सको नयाँ कप्तान अक्षर पटेल बनेका छन् । उनले २०२४ को टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीमा भारतलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । २०१३ मा मुम्बई इन्डियन्सबाट आफ्नो आईपीएल यात्रा सुरु गरेका अक्षरले २०१६ मा ह्याट्रिक समेत लिएका थिए । यो पहिलो पटक हो जब उनी कुनै आईपीएल टोलीको कप्तान बन्दैछन् ।
३. शुभमन गिल (गुजरात टाइटन्स)
भारतीय क्रिकेटका प्रतिभाशाली ब्याट्सम्यान शुभमन गिल यस पटक गुजरात टाइटन्सको कप्तान बनेका छन् । २०२३ को आईपीएलमा उनले ८९० रन बनाएका थिए, जसमा चार शतक समावेश थिए । २०१८ देखि आईपीएल खेल्दै आएका गिललाई यस पटक नेतृत्वको जिम्मेवारी दिइएको छ ।
४. अजिंक्य रहाणे (कोलकाता नाइट राइडर्स)
कोलकाता नाइट राइडर्स (केकेआर) ले यस सिजनका लागि अनुभवी ब्याट्सम्यान अजिंक्य रहाणेलाई कप्तान बनाएको छ । २००८ देखि आईपीएलमा रहेका रहाणेले १८५ खेलमा ४ हजार ६ सय ४२ रन बनाएका छन् । गत सिजनमा उनले १३ खेलमा २४२ रन बनाएका थिए ।
५. ऋषभ पन्त (लखनऊ सुपर जायन्ट्स)
विकेटकिपर–ब्याट्सम्यान ऋषभ पन्त यस सिजनमा लखनऊ सुपर जायन्ट्सको कप्तानी सम्हाल्नेछन् । २०१६ मा आईपीएलमा डेब्यु गरेका पन्तले १११ खेलमा ३ हजार २ सय ८४ रन बनाएका छन्, जसमा एक शतक र १८ अर्धशतक छन् । गत सिजनमा उनले १३ खेलमा ४ सय ४६ रन बनाएका थिए ।
६. हार्दिक पाण्ड्या (मुम्बई इन्डियन्स)
अलराउन्डर हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका कप्तान बनेका छन् । उनले १३७ आईपीएल खेलमा २ हजार ५ सय २५ रन बनाउनुका साथै ४२ विकेट पनि लिएका छन् । हालैको च्याम्पियन्स ट्रफीमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
७. श्रेयस अय्यर (पञ्जाब किंग्स)
पञ्जाब किंग्सले श्रेयस अय्यरलाई आफ्नो नयाँ कप्तान बनाएको छ । २०१५ मा आईपीएलमा डेब्यु गरेका अय्यरले ११६ खेलमा ३ हजार १ सय २७ रन बनाएका छन् । २०२४ मा कोलकाता नाइट राइडर्सको कप्तान रहँदा उनले टोलीलाई उपाधि जिताएका थिए ।
८. संजू सामसन (राजस्थान रोयल्स)
केरलका संजू सामसन २०१३ देखि आईपीएल खेल्दै आएका छन् र यस पटक पनि राजस्थान रोयल्सको कप्तानी गर्नेछन् । उनले १६८ खेलमा ४ हजार ४ सय १९ रन बनाएका छन् जसमा ३ शतक र २५ अर्धशतक समावेश छन् ।
९. रजत पाटीदार (रोयल च्यालेन्जर्स बैंग्लोर)
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले यस पटक रजत पाटीदारलाई कप्तान बनाएको छ । २०२२ मा आईपीएलमा डेब्यु गरेका पाटीदारले २७ खेलमा ७९९ रन बनाएका छन् । गत सिजनमा उनले १५ खेलमा ३९५ रन बनाएका थिए ।
१०. प्याट कमिन्स (सनराइजर्स हैदराबाद)
अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स सनराइजर्स हैदराबादका कप्तान बनेका छन् । २०१४ मा आईपीएल यात्रा सुरु गरेका कमिन्सले ५८ खेलमा ५१५ रन बनाउनुका साथै ३८ विकेट लिएका छन् ।
आईपीएल २०२५ मा नयाँ कप्तानहरूको युग देख्न पाइनेछ जहाँ केही युवा खेलाडी पहिलो पटक नेतृत्व गर्दैछन् । केही अनुभवी खेलाडीहरू आफ्नो टोलीलाई जित दिलाउन तयार छन् । यस सिजनमा कुन टोली उपाधि जित्नेछ भन्ने हेर्न रोचक हुनेछ ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares