विराटनगर– संघीय राजधानी काठमाडौँमा आज (आइतबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृत्वमा राजावादी शक्तिहरूले सरकारविरुद्ध व्यापक प्रदर्शन गर्ने घोषणा गरेसँगै अवस्था संवेदनशील बनेको छ । प्रदर्शनको प्रभाव शिक्षक आन्दोलनदेखि सुरक्षा संयन्त्रसम्ममा देखिन थालेको छ । गृह मन्त्रालयले हिंसात्मक गतिविधि भएमा कानुनी कारबाहीको चेतावनी दिँदै सतर्कता बढाएको छ ।
राप्रपाले आज दिउँसो १२ बजे काठमाडौँको बिजुलीबजार पुलबाट प्रदर्शन सुरु गर्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मुख्य जुलुसको अगुवाइ हुने जनाइएको छ । अन्य दुई समूह बालुवाटार र भद्रकालीतर्फ सर्न सक्ने र तीन ठाउँबाट निषेधित क्षेत्र तोड्ने रणनीति तय गरिएको स्रोतहरू बताउँछन् ।
शिक्षकहरूको प्रदर्शनको तालिका परिवर्तन
राजावादी प्रदर्शनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल शिक्षक महासंघले आइतबारको आफ्ना नियमित प्रदर्शन कार्यक्रमको समय सारेको छ । महासंघका महासचिव तुला बहादुर थापाका अनुसार विगतमा राजावादीहरूबाट हिंसात्मक गतिविधि भएका कारण आफूहरूको आन्दोलन प्रभावित हुन सक्ने भएकाले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने भएका छौं ।
महासंघले यसअघि हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएको थियो । ‘उनीहरूको आन्दोलनमा हिंसा भयो भने हाम्रो शान्तिपूर्ण आन्दोलन घुसपैठमा पर्न सक्छ,’ महासचिव थापाले भने, ‘त्यसैले आवश्यक परेमा हाम्रो प्रदर्शन अझै छोट्याउन सकिन्छ ।’
प्रदर्शनको पृष्ठभूमि : हिरासत, निषेधाज्ञा र ‘कमाण्ड संरचना’
राप्रपाले आफ्ना नेता र कार्यकर्ताहरूको रिहाइको माग, चैत्र १५ को प्रदर्शनमा भएको घटनाको छानबिनका लागि न्यायिक आयोग गठन र संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनःस्थापनाको मागलाई लिएर आन्दोलन थालेको हो । चैत्र १५ को प्रदर्शनमा हिंसा भएपछि राप्रपाका वरिष्ठ नेता धवलशमशेर राणा, रवीन्द्र मिश्र लगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका थिए ।
प्रदर्शन अघि आज बिहान राप्रपाको धुम्बाराहीस्थित कार्यालयमा रणनीतिक बैठक राखिएको छ जहाँ ‘त्रिकोणीय कमाण्ड संरचना’को अन्तिम टुंगो लाग्ने बताइएको छ । यो रणनीति सन् २०२० को अमेरिकी आन्दोलन ‘ब्ल्याक लाइभ्स म्याटर (कालोहरुको जीवन पनि महत्वपूर्ण छ ) आन्दोलन जस्तै एकभन्दा बढी स्थानबाट दबाब सिर्जना गर्ने मोडलमा आधारित देखिन्छ ।
यस्तै राप्रपाको आन्दोलनमा कार्यवाहक संयोजक जगमान गुरुङ रहेको संयुक्त जनआन्दोलन समितिले पनि ऐक्यबद्धता जनाएको छ । समितिले संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, संघीयताको खारेजी र भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिने भन्दै जनआह्वान गरेको छ ।
गृह मन्त्रालयको चेतावनी
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र तोड्ने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त मन्त्रालयले संविधान र कानुनको उल्लंघन सह्य नहुने भन्दै जो कोहीलाई कारबाही हुने चेतावनी दिएको छ ।
‘अराजक र हिंसात्मक गतिविधिमा संलग्न जो कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सबैलाई संयमित र कानुनी दायराभित्र रहन पनि आग्रह गरेको छ ।
सत्ता पक्षको तयारी
संविधान र गणतन्त्रको रक्षा गर्न सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति बनेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तीन दलका शीर्ष नेताहरूबीच गणतन्त्रविरुद्धको आन्दोलनविरुद्ध ‘संविधानको रक्षाका लागि साझा धारणा’ मा सहमति जुटेको हो ।
राजधानीमा एकातिर राजावादी प्रदर्शनका तयारी, अर्कातिर शिक्षकहरूको आन्दोलन र यता सरकार तथा सत्ता गठबन्धनको सतर्कता — यी सबै संकेतले आजको दिन काठमाडौँका सडकहरू राजनीतिक शक्ति परीक्षणको अखाडा बन्ने स्पष्ट संकेत देखिन्छ । हिंसात्मक सम्भावनाले नागरिकको सुरक्षामा चुनौती खडा गरिरहेको बेला सुरक्षाकर्मीहरू, नागरिक समाज र सञ्चारमाध्यमहरूको भूमिका पनि झन् चुनौतीपूर्ण बन्दै गएको छ ।
समाचार
राप्रपाका अध्यक्षसहित तीन नेता पक्राउ
द नेप्लिज संवाददाताजनमत पार्टीका कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ
द नेप्लिज संवाददातासिंहदरबारभित्र प्रदर्शन गर्ने राप्रपा नेताहरू रिहा
द नेप्लिज संवाददाता२४ दिनपछि हाजिरी जमानीमा छुटे राप्रपाका महामन्त्री धवलशमशेर राणा
द नेप्लिज संवाददातानक्कली परीक्षार्थी बनेका अस्कल सचिव पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares