२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

काठमाडौँस्थित मस्जिदमा भारतमाथि आतंककारी आक्रमणको योजना बनाइएको खुलासा

द नेप्लिज संवाददाता
१६ जेठ २०८२, शुक्रबार

Advertisement

विराटनगर — पाकिस्तानी मूलका राजनीतिक विश्लेषक, लेखक तथा मानव अधिकारकर्मी डा. अमजद अयुब मिर्जाले भारतमा ठूलो आतंककारी आक्रमण गर्ने योजना काठमाडौंस्थित दरबारमार्गको कश्मीरी जामिया मस्जिदभित्र बनाइएको गम्भीर दाबी गरेका छन्।

डा.मिर्जाले मई २९ मा आफ्नो युट्युब च्यानल ‘रेडियो हिमालय न्यूज’ मार्फत सार्वजनिक गरेको एक भिडियोमा यो दाबी गरेका हुन्। मिर्जाका अनुसार मई २१, २०२५ को मध्यरात १ बजेदेखि ३ बजेसम्म उक्त मस्जिदमा चलेको जमात–ए–इस्लामीको एक गोप्य बैठकमा आगामी आक्रमणको योजना बनाइएको हो।

जमात–ए–इस्लामी एक इस्लामी राजनीतिक तथा सामाजिक संगठन हो जसलाई बंगलादेश सरकारले विगतमा आतंकवादी गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको थियो। तर छ महिनाअघि मात्र आरोप पुष्टि नभएको भन्दै उक्त प्रतिबन्ध हटाइएको थियो।

डा. मिर्जाका अनुसार उक्त बैठकमा सहभागी समूहले २०२५ जुन ६ देखि १६ को अवधिमा भारतमा एकदमै ठूलो आतंककारी आक्रमण गर्ने योजना तय गरेको छ। उक्त मिति इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल–अधासँग मेल खाने समय हो।  उक्त आक्रमण भारतको कुन क्षेत्र वा सहरमा गरिने हो भन्नेबारे उनले खुलाएका छैनन्।

उनले थप दाबी गरेका छन् कि उक्त योजनामा पाकिस्तानी आतंककारी प्रत्यक्ष संलग्न हुने छैनन्, बरु अन्य ‘विदेशी आतंकवादीहरूलाई प्रयोग गरिनेछ। भारतभित्र नै गुप्त रूपमा सक्रिय समूहहरूको सहायतामा आक्रमण गरिने योजना बनाइएको उनले बताएका छन्।

डा. मिर्जाले नेपाललाई पाकिस्तानको गुप्तचर संस्था आईएसआईको ‘गढ’को रूपमा चित्रण गर्दै त्यस संस्थाले नेपाली भूमि प्रयोग गरेर गतिविधि सञ्चालन गरिरहेको आरोपसमेत लगाएका छन्। यसबारे जानकारी भारतीय गुप्तचर निकायहरूमा पुगिसकेको हुनसक्ने उनको भनाइ छ।

पाकिस्तान नियन्त्रित कश्मीरमा जन्मिएका मिर्जा हाल बेलायतमा निर्वासित जीवन बिताइरहेका छन्। पछिल्लो समय उनी सामाजिक सञ्जालमा भारतको पक्षमा नियमित रुपमा धारणा सार्वजनिक गर्दै आइरहेका छन्।

तर स्रोतका अनुसार काठमाडौँस्थित भारतीय दूतावासले उक्त मस्जिदमा शंकास्पद गतिविधि भइरहेको बारेमा पटकपटक नेपाल सरकारलाई जानकारी गराउँदै आएको छ । हालैका दिनहरुमा भारतका विभिन्न प्रतिनिधि मण्डल र भाजपा नेताहरुको भ्रमणको मुख्य एजेन्डामा नेपाल भूमी प्रयोग गर्दै भारतमा हुनसक्ने आतंककारी योजना सम्बद्ध पनि थियो । 

उक्त टोलीहरुसँग आएका गुप्तचर निकायका अधिकारीहरुले यस बारेमा विस्तृत रिपोर्ट तयार पारेर भारत सरकारलाई बुझाइ सकेको स्रोतले जनाएको छ । नेपाल सरकार वा सुरक्षासम्बन्धी कुनै निकायले मिर्जाले गरेका यी गम्भीर दाबीहरूबारे हालसम्म औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

स्रोतका अनुसार दुवै देशका सरकारलाई यस बारेमा पूर्वजानकारी रहेको र त्यही अनुरुप हवाई र भूमिगत नाकादेखि उक्त थलो एवं अन्य मस्जिद सम्मको आवागमन तथा गतिविधिलाई नेपालका सुरक्षा निकायले पनि निगरानी गरिरहेको छ । 
उक्त पञ्च कश्मीरी टकिया मस्जिद, जसलाई सामान्यतया कश्मीरी मस्जिद भनेर चिनिन्छ, ईसं. १५औं शताब्दीमा निर्माण गरिएको नेपालको पुराना मस्जिदहरूमध्ये एक हो।

कश्मीरबाट मुसलमान व्यापारीहरूको नेपाल प्रवेश राजा रत्न मल्लको पालामा भएको थियो । मस्जिदको निर्माण राजा प्रताप मल्लको पालामा गरिएको हो। मस्जिदमा विभिन्न समयमा पटक–पटक पुनर्निर्माण गरिएको छ। कश्मीरमा भएको हिंसाका कारण थप कश्मीरी समुदाय काठमाडौँ आएका थिए।

हालको मस्जिद भने राजा पृथ्वी नारायण शाहको पालामा निर्माण गरिएको हो, जब मुसलमानहरूले उनलाई मल्ल शासकहरूका विरुद्ध जासुसी गर्न मद्दत गरेका थिए।यस मस्जिदमा तीनवटा भाग छन्, नमाज पढ्ने मुख्य हल, एक सहायक भवन (एनेक्स) र एक मदरसा । मस्जिद परिसरभित्र हाजी मिश्किन शाह र ख्वाजा ग्यासुद्दिन शाहको समाधिसमेत अवस्थित छ।


#आतंककारी# आक्रमण#कश्मीरी #जामिया #मस्जिद

 

 

प्रकाशित : १६ जेठ २०८२, शुक्रबार 16:17
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved