४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

धनपालथानमा निर्माणाधिन योजनाको पुनः सिलान्यास गर्न खोज्दा जनप्रतिनिधिबीच विवाद

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– धनपालथान गाउँपालिकामा निर्माणाधिन अस्पतालको पुनः सिलान्यास गर्न खोजेपछि जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको छ । धनपालथान–५ स्थित निर्माणाधिन १५ शैय्याको अस्पतालको गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले कार्यपालिका बैठकमा पुनः सिलान्यास गर्ने प्रस्ताव लगेपछि विवाद उत्पन्न भएको हो । 

गाउँपालिकाले गत आर्थिक वर्षमा ठेक्का प्रक्रिया पूरा गरी १५ शैय्याको दुई तल्ले भवन र पर्खाल निर्माणका लागि १३ करोड ५९ लाख २० हजार १३८ रुपैयाँमा बस्नेता पी एण्ड जी जेभी भद्रपुरसँग सम्झौता गरेर धमाधम काम अगाडि बढाएको अवस्थामा अध्यक्ष गच्छदारले जबर्जस्ती बैठकमा प्रस्ताव लगेर पुनः सिलान्इास गर्ने तयारी गरेको वडा ५ का वडाध्यक्ष गयानन्द सरदारले गुनासो पोखे । 

निर्माण कम्पनीले हालसम्ममा चारैतिरबाट पर्खाल हालेर घेराबेरा गरी भवन निर्माणका लागि जग हाल्नेलगायतको ३० प्रतिशत काम गरिसकेको छ । तर गाउँपालिका अध्यक्षले पुनः सिलान्यास गर्ने कार्यपालिका बैठकले तयारी गरेपछि निर्माण कम्पनीले सिलान्यास स्तम्भसमेत निर्माण गरेर राखेको छ । पालिका अध्यक्ष गच्छदारले मंगलबार पुनः सिलान्यास गर्ने तयारी गरेपछि वडाध्यक्ष सरदारले पत्रकार सम्मेलन गरी विरोध जनाएका छन् । 

‘अस्पतालको अघिल्लो गाउँपालिकाको अघिल्लो कार्यकालमा नै तत्कालिन अध्यक्ष हरिलाल सिंहले सिलान्यास गरेर निर्माण काम भइरहेको अवस्थामा वर्तमान अध्यक्ष ज्यूले पालिकाको काम भएकोले पुनः सिलान्इास गर्ने पालिका बैठकमा प्रस्ताव ल्याएपछि बहिस्कार गरेर हिँड्न बाध्य भएँ,’ उनले भने, ‘अध्यक्ष गच्छदारले पुनः सिलान्यास गर्ने भएपछि निर्माण कम्पनीले अस्पतालको निर्माण कामसमेत एक महिलादेखि रोकेर राखेका छन् ।’ निर्माण कम्पनी र अध्यक्ष गच्दारबीच भएको मिलेमतोमा अस्पतालको निर्माणमा अनावश्यक ढिलाइ भएकोले तत्काल निर्माण काममा तिव्रता दिन वडाध्यक्ष सरदारले माग गरेका हुन् । 

ठेक्केदार प्रतिनिधि गगनमणी रेग्मीले ठेक्का सम्झौता भएपछि नियम अनुसार प्राप्त हुने मुभिलाइजेशन रकम लिएर पर्खाल निर्माण र अस्पताल भवनको जग निर्माणका लागि छड बाँध्ने काम सकेर भुक्तानीका लागि पालिकामा बील पेस गरेको बताएका छन् । ‘बील पेस गरेपछि पालिकाको उपाध्यक्ष नसिमा बानो नेतृत्वको अनुगमन समितिले अनुगमन गरेपछि मात्रै भुक्तानी दिने जानकारी गराएको छ,’ उनले भने, ‘भुक्तानीका लागि निवेदन दत्र्ता गराएको १५ दिन बित्न लाग्दासम्ममा पनि अनुगमनमा नआएकोले काममा ढिलाइ भएको हो ।’ 

उनले पालिका अध्यक्षले सिलान्यास गर्ने भनेपछि सिलान्यास स्तम्भ निर्माण गरेको सुनाए । तर गाउँपालिका अध्यक्ष गच्छदारले आफूले निर्माण कम्पनीलाई सिलान्यास स्तम्भ निर्माणका लागि कुनै निर्देशन नदिएको दावी गरेका छन् । ‘गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण भइरहेको तर सिलान्यास स्तम्भ नदेखेर सिलान्यस गर्ने प्रस्ताव बैठकमा लगेको थिएँ,’ उनले भने, ‘तर बैठकमा अस्पतालको पूर्वअध्यक्ष हरिलाल सिंहले सिलान्यास गरेर निर्माण काम सुरु भएको जानकारी उपाध्यक्षलगायत जनप्रतिनिधिबाट प्राप्त भएपछि निर्णय प्रक्रिया रोक्यौँ ।’

अध्यक्ष गच्छदारले अस्पताल भवनको जगको ढलान कार्य सुरु गर्नका लागि आउँदो बिहीबार पूजा कार्यक्रम मात्रै राखेको बताए । हिन्दुहरुले जगको ढलान गर्दा पूजा गर्ने परम्परा अनुसारै त्यो गर्न खोजेको र सिलान्यासको कुनै तयारी नरहेको स्पष्ट पारे । उनले निर्माण कम्पनी पेस गरेको बील अनुसार काम भए नभएको प्राविधिकसहित अनुगमन समितिले अनुगमन गरी प्रतिवेदन दिएपछि भुक्तानी गर्ने प्रक्रिया रहेको र त्यो पूरा गरेर भूक्तानी दिने प्रतिबद्धता जनाए । 

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 20:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved