विराटनगर– कोशी प्रदेशको विभिन्न ठाउँमा मंगलबार र बुधबार भएको आगलागीमा करोडौँको धनमालको क्षति हुनुका साथै एक बालिकाको मृत्यु भएको छ ।
मोरङको धनपालथान–७ मा मंगलबार (५ चैत) दिउँसो साढे बाह्र बजे अमित मियाँको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी छोरी ४ वर्षीया रेस्मा खातुनको जलेर मृत्यु भयो ।
घटनाको जानकारी हुना साथ प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली, स्थानीय र ५ वटा दमकलको सहयोगमा पौने २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट नजिकैका १३ परिवारका फुसका १६ घर, ३ भान्सा घर र २ वटा गोठ पूर्ण रूपमा जलेर नष्ट भए । यसैगरी उदयपुरको चौदण्डीगढी–७ मा बुधबार दिउँसो स्थानीय शरण कुमार राईको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा नजिकै रहेका सर्वधन राई र कालुमान राईको घर समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
उक्त घर नजिकका ४ वटा घर आंशिक रुपले जलेको छ । समग्रमा करिब १ करोड २२ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली, स्थानीय र ३ दमकलको सहयोगमा साँझ पूर्ण रूपमा आगो नियन्त्रणमा आएको थियो ।
सुख्यायाममा दैनिक रुपले आगलागी हुन थालेको मोरङ प्रहरीले जनाएको छ । अधिकांश आगलागीका घटनाहरू मानवीय त्रुटीका कारण हुने भएकाले रोकथाम तथा न्यूनिकरण गर्न सबै सचेत हुन आवश्यक भएको मोरङ प्रहरी प्रमुख चिमरियाले बताए । प्रहरीका अनुसार घरमा विद्युत सर्ट हुन नदिन गुणस्तरीय सामग्री प्रयोग गरी वायरिङ्ग गर्नु जरुरी देखिन्छ ।
बालबालिकालाई सलाइ, लाइटर खेलाउन नदिनु, खाना पकाएपछि आगो राम्ररी निभाउनु, ग्यास सिलिन्डरको प्रयोगमा सावधानी अपनाउनु, चुरोट बिँडीको ठुटो जथाभावी नफाल्नु, वन जंगलमा डढेलो नलगाउनु, गाईगोठमा मच्छड धपाउन आगो नबाल्नु, आगो लगायत प्रज्वलनशील पदार्थको प्रयोगमा सावधानी अपनाउनु जस्ता उपायहरू अवलम्बन गर्दा गाउँ बस्ती र शहरहरूमा हुने आगलागीका घटनाबाट सुरक्षित रहन सकिने मोरङको प्रजिअ यादवको सुझाव छ ।
झ्यास जलाउने क्रममा मृत्यु
आफ्नै बारीमा झ्यास जलाउने क्रममा आगो दन्किएर भाग्न खोज्दा बारीको डिलबाट तल लडेर ताप्लेजुङको आठराईत्रिबेणी–१ निगुरादिनमा बुधबार दिउँसो ७५ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरबाट डेढसय मिटर दूरीको बारीमा झ्यास जलाउने क्रममा आगो ठूलो बल्दा भाग्नेक्रममा बारीको डिलबाट सात/आठ मिटर तल लडेर मृत्यु भएको हो । उनको खुट्टाहरु आगोले पोलेको छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares