९ वैशाख २०८२, मङ्गलबार 22 Apr 2025, Tuesday

वैदेशिक रोजगारीको सपना देखाउने तीन पक्राउ

द नेप्लिज संवाददाता
८ वैशाख २०८२, सोमबार

फाइल तस्बिर

Advertisement

पछिल्लो समय क्यानडा र जापानजस्ता उच्च आय भएका देशहरूको नाममा ठगी हुने घटना बढ्दै गएको प्रहरीको भनाइ छ । यस्तो ठगीमा परेका धेरै पीडितहरूले उजुरी दिन नचाहने वा ढिलो गरी उजुरी दिने गरेको हुँदा अनुसन्धानमा समय लाग्ने गरेको प्रहरीले बताएको छ ।


विराटनगर — आकर्षक तलब र सुविधा हुने भन्दै क्यानडा, जापान र माल्दिभ्सजस्ता देशहरूमा वैदेशिक रोजगारीमा पठाइदिने लोभ देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठग्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा २९ वर्षीया उरुषा क्षेत्री, २७ वर्षीय केदार ढुंगाना र ४० वर्षीय पोषणराज घर्ती क्षेत्री छन् । उनीहरूलाई काठमाडौँ र दाङबाट फरक–फरक समयमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१० स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–३१ मा बस्दै आएकी उरुषाले क्यानडा पठाइदिने बहानामा एक व्यक्तिबाट ८ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन् ।त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ स्थायी घर भइ काठमाडौँ–३२ मा बस्दै आएका केदार ढुंगानाले माल्दिभ्स पठाइदिने भन्दै दुई जनाबाट जम्मा ८ लाख रुपैयाँ ठगेका थिए ।

यसबाहेक दाङ तुल्सीपुर उपमहानगरपालिका–६ निवासी पोषणराज घर्ती क्षेत्रीले जापान पठाइदिने भन्दै दुई व्यक्तिबाट ३४ लाख ५० हजार रुपैयाँ असुली फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो । तीनैजनालाई पीडितहरूले दिएको उजुरी र प्रारम्भिक अनुसन्धानको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उरुषालाई शनिबार काठमाडौँ –३१ बाट, केदार ढुंगानालाई शुक्रबार काठमाडौँ –३२ बाट र पोषणराज घर्तीलाई बुधबार तुल्सीपुर–६ बाट पक्राउ गरिएको हो । प्रहरीले उरुषा र केदारलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ भने पोषणराजलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंँमा राखिएको छ ।

वैदेशिक रोजगारीको नाममा बढ्दो ठगी
वैदेशिक रोजगारीका लागि युवाहरूको उत्सुकता बढ्दै गएसँगै ठगहरूको सक्रियता पनि तीव्र हुँदै गएको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार प्रत्येक वर्ष लाखौं नेपाली युवा रोजगारको सिलसिलामा खाडी मुलुकदेखि क्यानडा, जापान, कोरिया, युरोपसम्म पुग्छन् ।

तर म्यानपावर कम्पनीको अनुमति नलिइकन व्यक्तिगत रूपमा एजेन्टमार्फत रोजगारीका अफर दिने, वैदेशिक रोजगारीको झूटा आश्वासन दिने, पासपोर्ट र भिसाको नाममा रकम असुल्ने जस्ता गतिविधि बढ्दै गएकाले प्रहरीले समय–समयमा निगरानी र पक्राउ अभियान चलाउँदै आएको छ । पछिल्लो समय क्यानडा र जापानजस्ता उच्च आय भएका देशहरूको नाममा ठगी हुने घटना बढ्दै गएको प्रहरीको भनाइ छ ।

यस्तो ठगीमा परेका धेरै पीडितहरूले उजुरी दिन नचाहने वा ढिलो गरी उजुरी दिने गरेको हुँदा अनुसन्धानमा समय लाग्ने गरेको प्रहरीले बताएको छ । प्रहरीले आम नागरिकलाई यस्ता प्रलोभनमा नपर्न आग्रह गर्दै कुनै पनि देशमा वैदेशिक रोजगारी जानुअघि श्रम स्वीकृति, भिसा प्रक्रिया र नियमनकारी निकायहरूबाट प्रमाणित जानकारी अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरेको छ ।

सपना देखाएर रकम असुल्ने यस्तो ठगी नेपाली समाजमा गम्भीर समस्या बन्दै गएको छ । प्रहरीले पक्राउ गरेका तीनजनामार्फत यस्तो गिरोहको सञ्जालमा अरू पनि संलग्न हुनसक्ने अनुमान गरिएको छ । आवश्यक अनुसन्धानपछि थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

प्रकाशित : ८ वैशाख २०८२, सोमबार 16:48
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved