बालिका बलात्कार प्रकरण
रुपन्देही– कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनामाथि सामूहिक बलात्कार, अपहरण र शरीर बन्धकको गम्भीर आरोप लागेको घटनालाई राज्यपक्षले कमजोर बनाएको पीडित पक्षको गुनासो छ ।
प्राप्त जानकारी अनुसार यो घटना भैरहवा–१५ बस्ने कपिलवस्तुकी एक बालिकासँग सम्बन्धित छ । उनी अध्ययनका लागि बुटवलमा बस्दै आइरहेकी थिइन् । उनीसँग गत असोज ५ र ६ मा देवीनगरस्थित एक कोठामा बन्धक बनाएर पटक–पटक बलात्कार भयो । जाहेरीअनुसार, शुद्धोधन–२ का सन्तकुमार यादव, राजेश्वर चौधरी र गाउँपालिका अध्यक्ष स्वयं घटनामा संलग्न थिए ।
पीडितले गत पुस २० मा इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिँदा पनि तत्काल दर्ता नभएको, अध्यक्षका दाजु मधुसूदन शरण चौधरीको दबाबमा प्रक्रिया रोकिएको आरोप पीडितका बुबाले लगाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि मात्र पुस २६ मा जाहेरी दर्ता भएको थियो ।
तर प्रहरी र सरकारी वकिल कार्यालयले पीडितको कथन विपरीत मुद्दा मोडेका छन् । आरोपी सन्तकुमार यादवलाई मात्र पक्राउ गरी एकल प्रतिवादी बनाएर प्रस्तुत मुद्दा पीडितको न्याय प्राप्तिको अधिकारमाथिको कुठाराघात भएको आरोप छ । ‘तीन जनाको विरुद्धमा प्रष्ट रूपमा किटानी जाहेरी दिएँ, तर दुई जना किन उम्किए ?’ पीडितले प्रश्न गरिन् ।
फागुन २५ मा पूरक जाहेरीका लागि प्रहरीबाट पत्र आएपछि बयान दिने क्रममा ‘मुद्दा फाँटका’ प्रहरीले दुव्र्यवहार गरेको पीडितको भनाइ छ । पीडितका अनुसार त्यसपछि केही सत्तारुढ दलका नेताहरू तथा पालिका अध्यक्ष आफैंले मुद्दा चल्न नदिने प्रयत्न थालेका छन् । उनीहरूबाट धम्की, त्रास र दबाबसमेत आएको आरोप पीडित परिवारको छ ।
घटनाको विवरण अनुसार असोज ५ मा पीडित सामान किन्न डेरा बाहिर निस्किँदा गाउँकै चिनेजानेको सन्तकुमारले सिध्दबाबा घुम्न जाने भन्दै झुक्याएर नशालु पदार्थ खुवाएर आफू बस्ने कोठामा लगे । उनलाई बाँधेर र मुख थुनेर बलात्कार गरेपछि गाउँपालिका अध्यक्ष कमलेशलाई बोलाएर पीडितलाई लठ्याउने इन्जेक्सन दिएको आरोप छ ।
असोज ५ को राति यादवले चार पटक बलात्कार गरेको, भोलिपल्ट तीन पटक र राजेश्वर चौधरीले एक पटक बलात्कार गरेको आरोप जाहेरीमा उल्लेख छ । गाउँपालिका अध्यक्ष चौधरीले पीडितको घरमा पुगेर छोरी यादव केटासँग भागेर कोठामा रहेकाले लिन जाने भन्दै परिवारलाई बुटवल पुर्याएका थिए । त्यस पछि अचेत अवस्थाकी छोरी परिवारको जिम्मा लगाएर पीडकहरु भागेका थिए ।
मुलुकी अपराध संहिता दफा २१२, २१३, ३६, र २२७ (क) अनुसार सामूहिक बलात्कार, अपहरण, शरीर बन्धक, ढाकछोप र आरोपी भगाएको अभियोगमा अनुसन्धान हुनुपर्ने अधिवक्ताहरूको भनाइ छ । ‘पीडितले आफै बयान दिएको र सनाखत गरेकी हुनाले मुद्दा नचल्ने आधार छैन,’ उनीहरू भन्छन् ।
इलाका प्रहरी कार्यालय बुटवलकाका अनुसार पूरक जाहेरीको सनाखत भइसकेको, घटनाको वारदात र अवस्था अनुसार सरकारी वकिलको कार्यालयको सिफारिस अनुसार मात्र थप प्रक्रिया अगाडि बढाइनेछ । अध्यक्ष चौधरीले भने ‘म पीडितको उद्धार गर्न गएको थिएँ, आरोप निराधार छन् ।’ उनी सञ्चारकर्मीहरुसँग आफू निर्दोष रहेको दाबी गरेका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares