२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

नेपालको सेयर बजारमा आम लगानीकर्ता लुटिँदै

जितेन्द्र साह
१ जेठ २०८२, बिहीबार

Advertisement

विराटनगर– सेयर बजार भन्ने वित्तीय थलोको बारेमा नेपालको मध्यमवर्गीय समाजमा एउटा ठूलो भ्रम छ—थोरै पूँजी लगानी गरेर जीवन बदल्न सकिने सपना। यिनै सपना बेच्नेहरू हुन्—दलाल कम्पनी, स्वघोषित ’फाइनान्स गुरु’, युट्युबरहरू, सञ्चार माध्यमका ’विश्लेषक’, अनि नियामक संस्था आफ्नै स्वार्थमा चुपचाप बसेका कर्मचारीहरू।

तर पछिल्लो घटनाक्रमले त्यो सपना चकनाचुर मात्र होइन, नियोजित रूपमा तोड्ने षड्यन्त्र खुलस्त पारेको छ। चर्चित पात्र दीपेन्द्र अग्रवाल यस षड्यन्त्रका पर्दामा रहेका ‘मुखौटा’ हुन्—तर उनी एक्ला होइनन्, उनीहरू पछाडि छन् ती गोप्य शक्तिहरू, जसको न त अनुहार देखिन्छ, न त आवाज सुनिन्छ, तर जति पैसा बग्छ, उनीहरूको खल्तीमा पुग्छ।

दीपेन्द्र अग्रवाल त खेलको प्यादा मात्रै हुन्
गोरखाज फाइनान्स, पोखरा फाइनान्स, जोशी हाइड्रोपावर जस्ता कम्पनीका सेयरहरूमा हेराफेरी गरिएका केसहरू अहिले बोर्डको छानबिनमा छन्। अग्रवालले फेसबुकमार्फत ‘हल्ला’ चलाएर, बजारमा ‘हाइप’ सिर्जना गरेर मूल्य बढाएका थिए। अनि हल्ला फैलाएर बेच्ने खेल खेलेर करोडौँ कमाए। तर यो खेलमा उनीमात्र दोषी हुन् त?

बिल्कुल होइन। किनभने अग्रवालले १५ जनाको नाममा सेयर कारोबार गरेका थिए, सम्पूर्ण स्वामित्व भने आफ्नै हातमा राखेर। यो ’बेनामी सम्पत्ति’ को स्पष्ट उदाहरण हो। अनि उनलाई सघाएका ब्रोकर कम्पनीहरू? बोर्डले त जरिवाना सिफारिस गर्यो । तर सम्पत्ति शुद्धीकरण ऐन अनुसार मुद्दा किन नचलाउने?

यसलाई ठगी नभनेर के भन्ने?
हिजो सम्हाल्न नसकिने गरी घटेका सेयरहरू आज अचानक बढ्छन्, अनि फेरि भोलिपल्ट डुब्छन्। यो सबै नियोजित हो—अनि नियन्त्रणमा छन् दलालहरूको कार्टेल। बोर्ड र नेप्से यस्तो देखिन्छ, जसले गधा खोजिरहेको छ, तर सिंह आए पनि आँखा चिम्लिरहेको छ।

किन भने यिनीहरू सत्ता, राजनीतिक चन्दा, विज्ञापन र प्रभावको मोहमा जकडिएका छन्। कसैले बोल्न सक्दैन, कसैले केही देख्दैन—किनकि उनीहरूले ‘बजार’ लाई व्यक्तिगत एटीएम मेसिन बनाएका छन्।

राज्यको मौनता आफैँमा सहयोगी अपराध हो
धितोपत्र बोर्ड होस् वा नेप्से, प्रहरी होस् वा अर्थ मन्त्रालय—कसैले अग्रवालजस्ता ठगीकर्ताहरूलाई स्पष्ट रूपमा अपराधी घोषणा गरेनन्। किन? किनभने उनीहरू चन्दा दिने घरानाहरूका प्रतिनिधि हुन्। यिनै घरानाले कानुन बनाउने प्रक्रियालाई प्रभावित गर्छन्।

दीपेन्द्र अग्रवाल सरीका पात्रहरूलाई कारबाही गर्न ढिलाइ हुनु भनेको सन्देश स्पष्ट हो—यदि तिमी सत्ताको नजिक छौ भने तिमी जे गरे पनि माफ हुन्छ।

अब प्रश्न केवल अग्रवालको छैन—प्रश्न हो, प्रणालीको
नेपालको सेयर बजारमा सूचनाको असमानता, नियामकको लाचारी र दलालहरूको कार्टेलले साना लगानीकर्तालाई जालझेलमा पारेर लुटिरहेको छ। जुनसुकै बेला कम्पनीको मूल्य उछालिन्छ, हल्ला फैलाइन्छ, अनि जब पैसा उठ्छ, ‘बजार सुधार’ को नाममा झारिन्छ। यही रणनीतिमा चलिरहेको छ बजार।

अब नबोलिने हो भने भोलि फेरि लुटिन्छ
दीपेन्द्र अग्रवाल त केवल खेलमा अगाडि देखिएको अनुहार हो, मुख्य खेलाडीहरू ती शक्तिशाली व्यावसायिक घराना हुन् जसले बजार, सरकार र मिडिया तीनैवटा नियन्त्रण गर्छन्। सेयर बजार आम जनताको आर्थिक सपना होइन, उनीहरूको रणनीतिक खेल हो।

अब समय आइसकेको छ—जहाँ धितोपत्र बोर्डले ‘फेस सेभिङ’ होइन, ‘फेस एक्सपोज’ गर्ने कदम चालोस्। सम्पत्ति शुद्धीकरण ऐन लागू होस्। बेनामी कारोबारमा संलग्नहरूमाथि कारबाही होस्। साना लगानीकर्ताको भविष्यसँग यसरी खेलवाड नगर्ने कानुनी सुरक्षा स्थापना होस्।नत्र, आज अग्रवाल, भोलि अर्को ‘मुखौटा’ फेरिएला, तर लुटिने त सधैँ सर्वसाधारण नै हुनेछन्।
 

#दीपेन्द्र अग्रवाल #सेयर #बजार

प्रकाशित : १ जेठ २०८२, बिहीबार 17:04
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved