राजा बनेका ज्ञानेन्द्र शाहले प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन गरे। तर मात्र ७ दिनको म्याद दिइएको समितिले घटनास्थलको विवरण र बयान मात्रै संकलन गरी निष्कर्ष निकालेको थियो— दीपेन्द्र नै दोषी थिए।
विराटनगर– २०५८ साल जेठ १९ को राति नारायणहिटी दरबारभित्र घटेको हत्याकाण्ड नेपाली इतिहासको सबैभन्दा ठूलो, रहस्यमय र राजनीतिक रूपमा चिरफार नगरिएको घटना हो। राति पौने नौ बजेपछि दरबारभित्र भएको गोलीकाण्डले राजा वीरेन्द्रसहित उनका परिवारका १० सदस्यको हत्या गर्यो, जसले समस्त देश स्तब्ध बनायो र संसारभरि सनसनी फैलायो।
विनाशको रात : घटनाको आधिकारिक कथन
छानबिन समितिका अनुसार तत्कालीन युवराज दीपेन्द्र शाह प्रेमिकासँगको विवादपश्चात मादक पदार्थ र लागू औषधको प्रभावमा सैनिक पोशाकमा दरबारभित्र प्रवेश गरी दुईवटा राइफल र १२ बोर बन्दुकबाट एकपछि अर्को गर्दै परिवारका सदस्यहरूलाई गोली हाने। गोली प्रहारपछि उनले आफैँमाथि पनि गोली चलाएको उल्लेख छ।
घटनाको भोलिपल्ट गम्भीर घाइते अवस्थामा रहेका दीपेन्द्रलाई औपचारिक रूपमा राजा घोषणा गरियो। तर ३ दिनमै उनको मृत्यु भएपछि ज्ञानेन्द्र शाह नयाँ राजा घोषित भए।
यो घटनामा राजा वीरेन्द्र,रानी ऐश्वर्य,राजकुमार निराजन,राजकुमारी श्रुति,युवराज दीपेन्द्र (पछि राजा घोषित),राजकुमार धिरेन्द्र,राजकुमारी जयन्ती,राजकुमारी शान्ती,राजकुमारी शारदा र कुमार खड्ग विक्रम शाहलगायतले ज्यान गुमाए । अधिराजकुमारी शोभा, कुमार गोरख, कोमल राज्यलक्ष्मी र केतकी चेस्टर घाइते भएका थिए।
छानबिन समितिको सीमितता र अविश्वास
राजा बनेका ज्ञानेन्द्र शाहले प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन गरे। तर मात्र ७ दिनको म्याद दिइएको समितिले घटनास्थलको विवरण र बयान मात्रै संकलन गरी निष्कर्ष निकालेको थियो— दीपेन्द्र नै दोषी थिए।
तर यो प्रतिवेदन न पोस्टमार्टम, न घटनास्थलको मुचुल्का, न वैज्ञानिक फरेन्सिक परीक्षणजस्ता आधारभूत अनुसन्धान प्रक्रियाबाट गुज्रिएको थियो। त्यसैले जनस्तरमा अझै पनि यो विश्वासिलो प्रमाणका रूपमा स्वीकारिएको छैन।
विवादित निर्णय र सन्देहको घेरा
पोस्टमार्टम नगर्नु : प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै ‘मृत्युको कारण स्पष्ट छ’ भन्दै पोस्टमार्टम आवश्यक नरहेको अभिव्यक्ति दिएपछि त्यो रोकिएको थियो। ज्ञानेन्द्रको भूमिका : हत्यापछि अचानक राजा बनेका ज्ञानेन्द्र शाहले दिएको अस्पष्ट अभिव्यक्तिहरू र संलग्नताको शंका अझ बलियो हुँदै गएको हो। पत्रकार सुधीर शर्माको किताब प्रयोगशाला, विवेककुमार शाहको मैले देखेको दरबार, पूर्वडीआईजी हेमन्त मल्लका संस्मरणहरूले पनि छानबिनको अपूरोपन देखाउँछन्।
दुई दशकपछिको राजनीतिः रहस्यको प्रयोग
२४ वर्ष बितिसक्दा पनि न त राजावादीहरू यसबारे गम्भीर ढंगले उभिएका छन्, न त कुनै सत्ताधारी दलले घटनाको निष्पक्ष पुनःछानबिन गराउने प्रयास गरेको छ। उल्टो दलहरूले यस विषयलाई राजनीतिक आरोप–प्रत्यारोपको हतियार बनाउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले हालै मात्र दरबार हत्याकाण्डको प्रसँग जोड्दै राजावादी राजतन्त्रलाई ‘कुशको बाहुन’ संज्ञा दिए। यसको विपरीत राजावादीहरू ओली, देउवा, प्रचण्डकै नाम जोड्दै रहन्छन्।
अझै सकिन्छ पुनः छानबिन?
पूर्वसभामुख र छानबिन समिति सदस्य तारानाथ रानाभाट भन्छन्, ‘हामीले म्यान्डेटअनुसारको काम मात्रै गर्यौं, त्यो विस्तृत अनुसन्धान थिएन।’ अर्कातर्फ पूर्वडीआईजी मल्लले औंल्याएका छन्— ‘घटनास्थलमै कमजोरी भयो, वैज्ञानिक अनुसन्धान भएन, त्यसैले आजसम्म रहस्य बाँकी छ।’
यो सन्दर्भमा एउटा प्रश्न अझै बाँकी छ : यदि दलहरू साँच्चै इच्छुक छन् भने पुनः छानबिन सम्भव छैन र?
एउटा युगको पीडा, एउटा देशको प्रश्न
२०५८ सालको त्यो रात केवल एक दरबारको विनाश होइन, एक युगको अन्त्य थियो। तर यो हत्याकाण्डको वास्तविकता अझैसम्म ‘राजनीतिक सुविधा’ अनुसार प्रयोग हुने र जनताका आँखामा धुवाँ हाल्ने औजार बनेको छ। २४ वर्षपछिको नेपालको यो अवस्था आफैँमा गम्भीर प्रश्न हो— एक सशस्त्र विद्रोहबाट गणतन्त्र बनेको देशमा किन एउटा शाही परिवारको मृत्यु अझै छानबिन हुन सक्दैन ?
#नारायणहिटी #दरबार#हत्याकाण्ड
समाचार
दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददातारेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares