विराटनगर– पैसा त्यस्तो भाषा हो, जुन दुनियाँले सजिलै बुझ्छ। तर कतारमा देखिएको ‘पैसाको भाषा’ झनै चकित पार्ने खालको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारले ४० करोड अमेरिकी डलर (झण्डै ५४ अर्ब रुपैयाँ) बराबरको सुपर–लग्जरी बोइङ ७४७–८ जम्बो जेट विमान उपहार दिने तयारी गरेको छ।
यसै सन्दर्भमा अमेरिकी विमान निर्माता कम्पनी बोइङले कतारसँग २ अर्ब डलरको व्यापार सम्झौता गर्न लागेको छ। यस्तो ऐतिहासिक उपहार र व्यापार सम्झौताले अन्तर्राष्ट्रिय कूटनीतिमा चासो र विवाद दुवै उब्जाएको छ।
कतारका अमिर शेख तमिम बिन हमद अल–थानीसँग भेटपछि ट्रम्पले मित्रताको प्रशंसा गर्दै भनेका छन्, ‘हामी दुवै एकअर्का जस्तै छौँ।’ तर ट्रम्प र कतारी अमिर वास्तवमै ‘एकअर्का जस्तै’ हुन् त? भन्ने प्रश्न उठिरहेको छ।
कतार भ्रमण ट्रम्पका लागि ‘दुवै हातमा लड्डु’ सावित भएको छ—उपहार पनि, व्यापार पनि। यसअघि साउदी अरेबियामा पनि उनले अर्बौँ डलरको सम्झौतामा हस्ताक्षर गरेका थिए।
उपहारमा आकाशको महल
बोइङ ७४७–८ विमानलाई ट्रम्पले ‘आकाशको दरबार’ उपमा दिएका छन्। सुनजडित फर्निचर, मास्टर सुइट, ९ वटा शौचालय, दुई बाथरुम, बैठक र सयन कक्षसहित यो विमान ८९ यात्रु क्षमताको हो। ट्रम्पले यसलाई ‘एअर फोर्स वन’ को अस्थायी विकल्पका रूपमा प्रयोग गर्ने बताएका छन्।
उपहारमाथि उठेका प्रश्न
यो उपहारले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ। डेमोक्रयाटिक पार्टीका नेताहरूले यस्तो बहुमूल्य उपहार स्वीकार गर्नु नैतिक र कानुनी रूपमै गलत हुने तर्क गरिरहेका छन्। ट्रम्प समर्थकहरूकै केही धारणा पनि विभाजित छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा लेख्दै विमान पुरानो ‘एअर फोर्स वन’ लाई अस्थायी रूपमा प्रतिस्थापन गर्न पारदर्शी र कानुनसम्मत तरिकाले दिइएको उपहार हो भनेका छन्। ‘कतारको यो ठूलो उदारता हो, म यस्तो प्रस्ताव अस्वीकार गर्ने व्यक्ति होइन,’ उनले लेखेका छन्।
के भन्छ कानुन?
अमेरिकी ‘फरिन गिफ्ट्स एन्ड डेकोरेशन्स एक्ट १९६६’ अनुसार राष्ट्रपति वा अधिकारीले विदेशबाट निश्चित मूल्यभन्दा माथिका उपहार पाउन कङ्ग्रेसको अनुमति लिनुपर्छ। अहिले ४८० डलरभन्दा महँगो उपहार लिन मिल्दैन।
ट्रम्पले भने आफूले विमानलाई आफ्नो राष्ट्रपति संग्रहालयमार्फत सर्वसाधारणको अवलोकनका लागि प्रयोग गर्ने बताउँदै कानुन उल्लङ्घन नहुने दाबी गरेका छन्।
विवाद चर्कँदै
बीबीसी भेरिफाइले कुरा गरेका कानुनी विज्ञहरूका अनुसार उपहार सिधै राष्ट्रपतिलाई नभइ अमेरिकी सरकारलाई दिइने भएकाले र त्यो संग्रहालयमा प्रयोग हुने भएकाले यो संविधानविपरीत नपर्न सक्ने बताएका छन्। तर ट्रम्पले पदावधि पछि निजी रूपमा विमान प्रयोग गरे भने भने यो पूर्णतः अस्वीकार्य हुने स्पष्ट चेतावनी पनि विज्ञहरूले दिएका छन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने उपहार लिने कानुनी प्रक्रियाबारे काम भइरहेको जानकारी दिएकी छन्। अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा हालसम्म सार्वजनिक नभएको एक टिप्पणी तयार पारेको छ।
#पैसाको भाषा
विश्व/प्रवास
चीनले पाकिस्तानलाई उक्साइ रहँदा...
द नेप्लिज संवाददातामिसाइलदेखि ड्रोनसम्म : पाकिस्तानले चीनबाट के–के किन्छ ?
द नेप्लिज संवाददाताशान्ति चाहने ट्रम्पले साउदीसँग १४२ अर्ब डलरको हतियार सम्झौता गरे
द नेप्लिज संवाददाताअमेरिकी अदालतबाट ट्रम्पको आप्रवासी योजनामा रोक
द नेप्लिज संवाददातापाकिस्तानलाई समर्थनपछि संकटमा टर्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares