४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

कोशी नामकरणमा माओवादी : पहिचानको मुद्दा छोडेर कोशीतर्फ ढल्किँदै

राज्य शक्ति र विकासे नाराका अगाडि पहिचान पक्षधरको आन्दोलन नटिक्ने परिस्थितिको आँकलन गरेरै माओवादीले कित्ता परिवर्तन गर्न लागेको हो
देव नारायण साह
६ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– कोशी प्रदेश नामकरणको विषयमा नेकपा (माओवादी केन्द्र)मा देखिएको दुबिधा हट्न थालेको छ । भोटको राजनीतिले कोशीको पक्षमा मतदान गरेर पहिचान पक्षधरको कित्तामा उभिएका माओवादी अब कोशीतर्फ ढल्किन थालेको हो । भाषणमा प्रदेश १ भन्दै आएका माओवादीले कार्यक्रमको ब्यानरमा प्रदेशको नाम ‘कोशी’ लेख्न थालेको छ । 

माओवादी कन्द्रले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशको नाम प्रदेश १ (कोशी) लेखेर पार्टीको पहिलो प्रदेश परिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा कोशीको पक्षमा मतदान गरेका प्रदेश सांसद र कोशीको विपक्षमा रहेका प्रदेश अध्यक्ष, इञ्चार्ज, सहइञ्चार्जलगायतका नेताको उपस्थिति रहेको थियो । 

माओवादीका उपमहासचिव तथा कोशी इञ्चार्ज हरिबोल गजुरेलले पार्टीभित्र प्रदेशको नामको विषयमा दुबिधा रहेको स्विकारेका थिए । ‘प्रदेशको नाम कोशी कि प्रदेश १ भन्ने विषयमा अस्पष्टता रहेकाले समस्या खडा गरेको छ,’ उनले भने, ‘त्यसैले प्रदेश नामको विषयमा अब चाँडै निर्णय गरेर स्पष्ट हुन्छौं ।’ 

नेपालको संविधान २०७२ लागु भएपछि २०७२ साल असोज ३ गते बनेको प्रदेश १ पहिचान पक्षधरको विरोधका बीच प्रदेशसभाको दोस्रो कार्याकालमा २०७९ फागुन १७ गते बसेको प्रदेशसभा बठैकमा पूर्ण बहुमतले ‘कोशी प्रदेश’ नाम पारित गरेको थियो । प्रदेशको नाम कोशीको पक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा माओवादीका प्रदेश सांसदहरुले मतदान गरेका थिए । तर प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले संयूक्त संघर्ष समिति गठन गरेर आन्दोलन चर्काएपछि माओवादी पहिचान पक्षधरको कित्तामा उभिएका थिए । यो दोहोरो नीतिले माओवादीमाथि प्रश्न उठ्दै आएको छ । चुनावी फाइदा लिन र सस्तो लोकप्रियताका लागि दोहोरो नीति अख्तियार गरेका माओवादीलाई पहिचानको मुद्दाले अप्ठयारो परिस्थितिमा ल्याइदिएको छ । 

केवलकार निर्माणको विरोधले कमजोर धरातलमा अडेको पहिचान पक्षधर नै विभाजित भएको अवस्थामा उनीहरुको माग र मुद्दा समातिरहन उचित नहुने र त्यसले पार्टी झन कमजोर हुने भएकाले कोशी नाम स्विकार्ने नीति लिएको छ

पहिचान पक्षधरको विरोधका बीच मुकुम्लुङ अर्थात् पाथिभारामा राज्यको संरक्षणमा भइरहेको केवलकार निर्माणले गतिलिन थालेको छ । केवलकार निर्माणले गति लिएसँगै पहिचान पक्षधरको आन्दोलन कमजोर हुँदै गएको देखेर माओवादी केन्द्र पुनः ‘कोशी’ कै कित्तामा फर्किने नीति लिएकोले ब्यानरमा कोशी लेख्न थालेको राजनीतिक विशलेषकहरुको भनाइ छ । ‘राज्य शक्ति र विकासे नाराका अगाडि पहिचान पक्षधरको आन्दोलन नटिक्ने परिस्थितिको आँकलन गरेरै पार्टीले कित्ता परिवर्तन गर्न लागेको हो,’ माओवादी केन्द्रका एक नेताले भने, ‘केवलकार निर्माणको विरोधले कमजोर धरातलमा अडेको पहिचान पक्षधर नै विभाजित भएको अवस्थामा उनीहरुको माग र मुद्दा समातिरहन उचित नहुने र त्यसले पार्टी झन कमजोर हुने भएकाले कोशी नाम स्विकार्ने नीति लिएको छ ।’

प्रदेश इञ्चार्ज गजुरेलले विगतमा पार्टीको तर्फबाट भएको गल्ती, कमजोरीले नै ३२ सांसदमा पार्टी खुम्चिएको हुँदा ती हरेक गल्ती र कमजोरी स्विकार गरेर जनताको घरदैलोमा माफी मागदै संगठन विस्तारको कार्यक्रम अघि सारेको बताए । ‘वृहत शान्ति सम्झौतापछि भएको पहिलो संविधानसभा निर्वाचनमा कोशी प्रदेशको २८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १० वटा र देशभरिमा प्रत्यक्ष र समानुपातिकसहित २३८ सिटमा माओवादीले जित हात पारेको थियो,’ उनले भने, ‘संसदीय राजनीतिमा आएपछि नेता कार्यकर्ताहरुलाई अनेक धुलोमैलो लाग्यो, हामी बिगर्यौँ जसले पार्टी अहिले ३२ सिटमा खुचिएको छ । त्यसैले अब गल्ती, कमजोरी स्विकार गरेर जनताको घरदैलोमा पुगी माफी माग्दै पार्टीलाई पूरानै अवस्थामा फर्काउने नीति तथा कार्यक्रम ल्याएका छौं ।’ यसपटकको पालिका उपचुनावमा यस प्रदेशमा ग्रामथान गाउँपालिकामा पार्टीले प्राप्त गरेको सफलताले माओवादी पूरानै अवस्थामा फर्किने विश्वास बढेर आएको उनको भनाइ थियो । 

गजुरेलले ‘जनतासँग माओवादी, तराई–मधेस जनजागरण अभियान’ आउँदो फाल्गुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट शुभारम्भ गरेर हुलाकीमार्ग हुँदै कन्चनपुरमा गएर समापन गर्ने निर्णय गरेको बताए । यो अभियानमा पार्टीका अध्यक्षलगायतका पदाधिकारी टोली सहभागी रहने उनले जानकारी दिए । यस प्रदेशको झापा, मोरङ र सुनसरीमा गरी ५ हजार नेता, समाजिक व्यक्तित्व, नागरिक अगुवाहरुलाई पार्टी प्रवेश गराउने योजना उनले सार्वजनिक गरे । अभियानका क्रममा २०६४ को निर्वाचनमा पार्टीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन गराउने लक्ष्य रहेको गजुरेलले बताए । 

उनले हिमाली र पहाडी जिल्लाबाट सुनसरी, मोरङ, झापा र उदयपुरमा बसाईसराइ वा अन्य कामले आएका पार्टी कार्यकर्ता, शुभचिन्तकहरुको सम्पर्क मन्च गठन गर्ने, तराई–चुरे जनसांगीतिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणका लागि तराई चुरे अभियान’ सञ्चालन गर्ने जानकारी गराए । यस अभियानका क्रममा जनताको दैनिक जीवनमा आइपरेका समस्या समाधानका लागि सहजीकरण र भ्रष्टाचार, बेथिति, अनियमितता, जनताको काममा भइरहेको सरकारी ढिलासुस्तीविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने गजुरेलले सुनाए । 

प्रकाशित : ६ फागुन २०८१, मङ्गलबार 00:48
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved