४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

नो केवलकार समूहको आन्दोलन

कोशी संसदमा गृहमन्त्रीको राजिनामा माग

द नेप्लिज संवाददाता
११ फागुन २०८१, आइतबार

Advertisement

प्रतिनिधिसभाका सांसदहरूद्वारा पनि तत्काल रोक्न माग

विराटनगर–कोशी प्रदेशसभामा प्रदेश सांसदहरुले मुकुम्लुङ पाथिभारा क्षेत्रमा ‘नो केवलकार’ समूहको आन्दोलनमा भएको दमनको विरोधमा गृहमन्त्रीको राजिनामा माग गरेका छन् । उनीहरुले ताप्लेजुङका स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुलाई कानूनी कारवाहीको माग गरेका छुन् । 

नेकपा एकिकृत समाजवादीका प्रदेश सांसद तथा पूर्वमन्त्री खिनुलङ्वा लिम्बूले प्रदेशसभाको शून्य समयमा मुकुम्लुङ क्षेत्रमा कथित केवलकार निर्माण गर्ने नाममा राज्य निकायले अशान्ति सृजना गरी मुकुम्लुङ संरक्षक पक्षलाई व्यापक दमन गर्दै युद्ध मैदान बनाइरहेको भन्दै आपति जनाइन् । ‘ताप्लेजुङका सुरक्षाकर्मीहरुले शनिबार १० बजे राती मुकुम्लुङ संरक्षण पक्षमाथि व्यापक लठ्ठी चार्ज, कुटपिट, अश्रुग्यास प्रहार, हवाई फायर गर्नुका साथै घरघरमा सुतिरहेका नागरिकलाई ढोका फोडेर कुटपिट गर्दै गिरफतार गरेको छ,’ उनले भनिन्, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगाएर निषेधाज्ञा लगाउनुका साथै २ सय बढी नागरिकलाई गिरफतार गरेको र सयौं संख्यामा निर्ममता पूर्वक कुटपिट गरी घाइते बनाएको छ । दर्जनौं जनालाई बेपत्ता बनाइएको छ । सञ्चारकर्मीलाई कुटपिट, दुरव्यवहार, सञ्चार सामग्री नियन्त्रणमा लिएर गिरफतार गर्ने जस्ता नेपाल सरकारको कामप्रति घोर भत्सर्ना गर्छु ।’

राज्यपक्षबाट व्यापक मानवअधिकार उलंघन र बर्बरतापूर्ण दमन भएको कार्यलाई राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश सांसद लिम्बूले ध्यानाकर्षण गराइन् । मुकुम्लुङ संरक्षक समूहमाथि दमन गर्ने र आम नागरिकलाई कुटपिट गर्नुका साथै ताप्लेजुङको शान्ति भंग गरी युद्ध मैदान बनाउने गृहमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने र ताप्लेजुङको स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुखलाई कारवाहीको दायरामा ल्याउन उनले माग गरिन् । 

सत्तारुढ दल कांग्रेसका प्रदेश सांसद तथा पूर्वमन्त्री प्रदिप सुनुवारले नो केबलकार समूहको जुलुसमा दोहोरो भिडन्तका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी पक्षबाट भएका घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचारका लागि नेपाल सरकार र प्रदेश सरकारसँग माग गरेका छन् । ‘धेरै दिनदेसिख सांसदहरुले पाथिभारको बारेमा कुरा उठाइरहेको र सरकारले वार्ता समिति गठन गरी, केही समय वार्ता पनि भयो, वार्तामा के भयो र के कारणले वार्ता भाँडियो ? जसले ताप्लेजुङ जिल्ला युद्ध मैदानमा परिणत भएको छ,’ उनले भने, ‘ताप्लेजुङमा धार्मिक सहिष्णुता भंग गर्ने, जातीय दंगा भड्काउने जस्ता काम भइरहेको छ । प्रदेश सरकार प्रदेशका मुख्यमन्त्री र सांसदहरुलाई विभिन्न जिल्लामा निषेध गर्ने सामाजिक सञ्जालमार्फत भनिरहेको हँदा प्रदेश सरकारले तत्काल यो आन्दोलनप्रतिको धारणा तत्काल सार्वजनिक गरेर मन्त्रीस्तरीय वार्ता समिति बनाई समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदछु ।’

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा निरन्तरको आन्दोलनले हिंसात्मक रुप लिन थाले पछि स्थानीय प्रशासनले आइतबार बिहानैदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले  फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा भएको झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार यी प्रदर्शनले स्थानीय स्तरमा  प्रतिकूल स्थिति सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी  गरेको हो । प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । 

अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ । घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणको लागि जानकारी गराइन्छ,’ आदेशमा भनिएको छ। पाथीभरा क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच पटक–पटक झडप हुँदै आएको छ । प्रदेशसभा सदस्य विद्या चाम्लििङ राईले ताप्लेजुङको मुकुम्लुङ पाथिभारा अशान्त बनेको छ । आन्दोलनले आक्रान्त बनाएको छ । आन्दोलनलाई वार्ता द्वारा तत्काल समस्या समाधान होस् र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएकाले प्रतिनिधिसभाका सांसदहरूले पनि तत्काल रोक्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज (आइतबार) उनीहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको संझाउँदै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको कटाक्ष गरे ।

उनले भने, ‘सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यस पछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो ।’ अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि बढिरहेकोमा प्रतिकार भइरहेको उनले बताए । सांसद योगेश भट्टराईले ताप्लेजुङ्स्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउनु उचित हो वा होइन वार्ता र संवादबाट टुंग्याउनुपर्ने बताए । सांसद तोसिमा कार्कीले सरोकारवालासँग संवाद गरेर समाधान खोज्न सरकारसँग आग्रह गरिन् । 
 

प्रकाशित : ११ फागुन २०८१, आइतबार 14:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved