विराटनगर– भारतको जम्मु–कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा बुटवल–१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको छ । उक्त आक्रमणमा कम्तीमा २८ जना पर्यटकको ज्यान गएको छ । यसमा २४ जना भारतीय, दुई जना स्थानीय, एक जना नेपाली र एक जना युएई नागरिक छन् ।
बुटवल उपमहानगरपालिका–१४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप शनिबार परिवारसहित कश्मीर घुम्न गएका थिए । घटनास्थलमा भेटिएको लाइसेन्सबाट उनको पहिचान खुलेको हो । उनी शनिबार आमा रिमा, बहिनी सुस्मा र ज्वाइँ उज्वल काफ्लेसहित जम्मू–काश्मिर घुम्न गएका थिए। आमासँगै बुटवल–११ कालिकानगर, मनकामना पथमा बस्दै आएका सुदिपले धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए।
गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकारहरूसँग कुरा गर्दै रुपन्देहीका सुदीप आमासहित जम्मुकश्मिर घुम्न गएको बेला आतंकवादी आक्रमणमा परी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरे । पारिवारिक स्रोतका अनुसार आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएका थिए । उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाएपछि सुदीपको ज्यान गएको हो ।
हिउँ खेल्ने ठाउँमा एक्कासी आएर बन्दुकधारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली होनेपछि सुदीपको ज्यान गएको हो भन्ने थाहा भएको परिवारजनले बताएका छन् । सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् ।
उनीहरू बुधबार साँझसम्म काठमाडौँ फर्कने गरी जम्मु कश्मिर विमानस्थलमा पुगिसकेको निकटजनले बताएका छन् । परिवारजनका अनुसार सुदीपको शव पनि आज साँझसम्म काठमाडौं आइपुग्ने छ । आमा–बुबाको सम्बन्ध विच्छेद भए पनि सुदीप बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।
त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुख्र्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका- ४ हो । उनीहरू २०२४ सालमै बसाइँ सरेर बुटवल आएको स्थानीयल बताएका छन् । घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ शोकमग्न भएको छ ।
घटनास्थल बैसरन उपत्यका जसलाई ‘मिनी स्विट्जरल्यान्ड’ पनि भनिन्छ । यो पर्यटकहरू माझ लोकप्रिय गन्तव्य हो । आक्रमणमा चारदेखि छ जना बन्दुकधारीहरूले पर्यटकहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले सुरक्षाकर्मीको भेषमा पर्यटकहरूलाई रोकेर पहिचान मागेका थिए र त्यसपछि गोली चलाएका थिए ।
यो आक्रमणको जिम्मा पाकिस्तान समर्थित लश्कर–ए–तैयबाको सहायक समूह ’द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको छ । उक्त समूहले कश्मीरमा बाहिरी नागरिकहरूको बसोबास र त्यसबाट हुने जनसांख्यिकीय परिवर्तनको विरोधमा आक्रमण गरेको दाबी गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबियाको भ्रमण छोट्याएर भारत फर्किएका छन् र दिल्लीमा उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन् । गृह मन्त्री अमित शाहले श्रीनगर पुगेर सुरक्षा अवस्थाको समीक्षा गरेका छन् । भारतका विपक्षी दलहरूले पनि आक्रमणको कडा निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय समुदायबाट पनि आक्रमणको निन्दा गरिएको छ जसमा संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, अमेरिका, रुस, इटाली, युएई लगायतका देशहरू छन् ।
यो आक्रमण २०१९ मा जम्मु–कश्मीरको विशेष दर्जा खारेज गरेपछि भारतले कश्मीरमा स्थायित्व ल्याएको दाबीको चुनौतीको रूपमा देखिएको छ । पर्यटन प्रवद्र्धनको प्रयासमा रहेको भारतका लागि यो आक्रमण ठूलो झट्का हो ।यता सुदीप न्यौपानेको निधनले नेपाली समाजमा शोकको लहर फैलिएको छ । यस घटनाले कश्मीर भ्रमण गर्ने नेपाली पर्यटकहरूका लागि सुरक्षा चिन्तालाई पुनः उजागर गरेको छ ।
समाचार
‘योद्धा’ गाडीमा ३२३ किलोग्राम गाँजा
द नेप्लिज संवाददातायुएईका उपप्रधानमन्त्री शेख अब्दुल्लाह दुई दिने नेपाल भ्रमणमा
द नेप्लिज संवाददातामोरङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु
द नेप्लिज संवाददाताराजनीति र फुटबलका पुराना खेलाडीबीच मैत्रीपूर्ण संवाद
द नेप्लिज संवाददाताविद्यालय शिक्षा विधेयकलाई सदनमा पेस भएलगत्तै पारित गर्ने सहमति
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares