४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

मुलुकमा अब ‘बालेन पथ’ को आवश्यकता

जितेन्द्र साह
२४ चैत २०८१, आइतबार

Advertisement

विराटनगर– रामायणमा मान्छेलाई तीन थरीमा राखिएको छ । पहिलोमा काम गर्ने तर नबोल्ने, दोस्रोमा बोल्ने र गरेर  देखाउने र तेस्रोमा बोल्ने मात्र । उ बेलाको कुरा भएकोले रामायणले कर्तव्यलाई प्राथमिकता दिँदै नबोली काम गर्ने मानवलाई उत्कृष्ट भनेको छ ।

तर त्यो युग रहेन । अरुलाई महसुस गराउलाई पनि कामसँगै प्रचार भनौँ वा बोल्न पनि जरुरी भइसकेको छ । त्यसो गरिएन भने आफूले दिएको योगदानको श्रेय अरुले लिइरहेको हुन्छ । त्यो सबैले देखिरहेको र अनुभव गरिहेकै हुन्छौँ । गरेका असल काम र योगदानले समग्र समाजलाई प्रेरणा र प्रोत्साहन दिने हुनाले अबको समयमा बोल्नु पनि जरुरी छ ।

यो प्रसँगलाई मुलुककै उत्कृष्ट जनप्रतिनिधिहरु काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसँग जोड्न खोज्दैछु । सम्भवतः यतिको बौद्धिक प्रमुख र उपप्रमुख मुलुकको कुनै पनि स्थानीय तहमा छैन होला । छ भने राजनीतिक पार्टीप्रति झुकाव नराखी भन्नुहोला । 

दुवै जनाको हरेक काममा फरक, रचनात्मक र नवीन सोचको अनुभूति हुन्छ । काम गर्दा विवाद र बहस सामान्य हो । यो लोकतन्त्रको सौन्दर्य हो । बालेन र सुनिताले अडानका साथ आफ्ना पक्ष राख्दा सञ्चार माध्यमले त्यसलाई आक्रोश र असन्तुष्टिको रुपमा व्याख्या गरेर खबर बनाउँछ । यो भनेको सशक्त संवाद हो जुन अहिलेको समयको आवश्यकता हो । 

काठमाडौं महानगरपालिकाले थालेको सामुदायिक विद्यालयहरूमा डिजिटल स्मार्ट बोर्ड जडानसहित शिक्षामा रूपान्तरणको अभियान भनेको बालेन र सुनिताकै आधुनिक सोचको परिणाम हो । उक्त महानगरले शिक्षालाई प्रभावकारी बनाउन बजेट र कार्यक्रमलाई चार क्षेत्रमा विभाजन गरी लगानी बढाएको छ ।

यसअन्तर्गत रामशाह पथस्थित पद्मोदय माध्यमिक विद्यालयको कक्षा १० ‘ए’ सहित विभिन्न विद्यालयमा ३ सय १३ स्मार्ट बोर्ड जडान सुरु भएको छ । महानगरले पहिलो क्षेत्रमा विद्यार्थीको आवश्यकताअनुसार भवन निर्माण, दोस्रोमा बालकक्षाका लागि पठन सामग्री, तेस्रोमा खेलकुद र स्वास्थ्य र चौथोमा ल्यापटप तथा डिजिटल स्मार्ट बोर्डलाई प्राथमिकता दिएको छ । यो हो नि, समयअनुरुपको परिवर्तित पाइला ।

शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याइएका यी बोर्डहरू सूचना प्रविधि विभागले प्राविधिक जाँच गरेर जडान थालेको हो । ५० हजार घण्टा डिस्प्ले क्षमता भएका र सामान्य ठक्करबाट नचर्किने यी बोर्डहरू शिक्षकको तत्परता, क्षमता र उपयोग स्थानका आधारमा क्रमशः सबै कक्षामा जडान गरिनेछ ।

तालिम लिएका शिक्षक भएका विद्यालयमा पहिलो चरणमा जडान हुने र अन्यमा तालिमपछि मात्र बोर्ड राखिने छ । प्रमुख शाहले फेसबुकमार्फत भनेका छन्,‘हाम्रा बालबालिका पहिलो प्राथमिकतामा छन् । उनीहरूप्रति गरेको लगानीले विद्यालय, समाज र देशप्रति गर्व गर्न सिकाउँछ । यसमा सबैको अपनत्व आवश्यक छ ।’ मनछुने यो सुन्दर अभिव्यक्ति सकारात्मक दृष्टिकोणको उदाहरण हो ।

महानगरले ‘प्रमाणमा आधारित पूर्वाधार विकास, सिकाइमा प्रविधि र उपकरण, शिक्षक तालिममार्फत मानव पुँजी विकास, सुशासन र दिगोपना’ का लागि लगानी गरेको छ । ‘महानगर गौरव योजना’ अन्तर्गत ‘गरी खाने शिक्षा’, ‘सूचना प्रविधिमैत्री विद्यालय’ र ‘डिजिटल शिक्षण सिकाइ’ कार्यक्रमका लागि चालु र क्रमागत गरी करिब २० करोड रुपैयाँ विनियोजन गरेको छ । 

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन महानगरले परियोजना र समूहगत कार्य, सहपाठीसँग सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ । बालबालिकाको चौतर्फी विकासका लागि फेस्टिभल क्याम्प, हिउँदे शिक्षण शिविर र ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम सञ्चालन गरिएको छ ।

‘पुस्तकरहित शुक्रबार’ मा २५ विषय समेटिएका छन्, जसमध्ये ‘बालबालिका तथा वातावरण (वावा)’ र ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टीम)’ अनिवार्य छन् । अन्य विषयहरू स्काउट, नृत्य, पठन संस्कार, योग, म्युरल, नेतृत्व विकास, नाट्य, कथा वाचन, संगीत (मादल, बाँसुरी, सारङ्गी), चलचित्र सिकाइ, विपद व्यवस्थापन, संस्कृति, ट्राफिक व्यवस्थापन, उद्यमशीलता, कोडिङ, व्यक्तित्व विकास, एनिमेसन, फिल्म मेकिङ र ड्रोन रहेका छन् ।

प्रारम्भिक बाल विकास (ईसीडी) पछि कक्षा १ देखि ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ र माध्यमिक तहमा ‘शिक्षामा सीप’ कार्यक्रम सञ्चालित छन् । ‘शिक्षामा सीप’ अन्तर्गत मोबाइल र इलेक्ट्रोनिक्स, कुलिनरी आर्टस, व्युटिसियन, फेसन डिजाइन, हाउस वायरिङ, कृषि, प्लम्बिङ, कला, कार्पेन्ट्री र परम्परागत डकर्मी कला जस्ता विषय समेटिएका छन् ।

यी कार्यक्रमबाट गुणात्मक शैक्षिक नतिजा हासिल गर्ने महानगरको लक्ष्य छ । यस्ता क्रियाकलापले विद्यार्थीमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण सिर्जना हुन्छ ।  यो सब सुन्दर कामहरुबीच काठमाडौँ महानगर प्रमुख बालेनसँग चिढिँनेहरु पनि बढेका छन् । उनले लिने फरक निर्णय यसका कारणहरु हुन् जुन केहीलाई पच्दैन ।

यसमा प्रमुख दल निकट नेता र दलका पत्रकारहरु छन् । दलीय पूर्वाग्रहल ग्रस्त उनीहरुले बालेनलाई विवादमा धकेल्ने प्रयास गरेको देखिन्छ, त्यो पनि समाचारको रुपमा । त्यो समाचार पढ्दै पत्रकारको दल झल्किहाल्छ ।  २०७९ को स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी उनी स्वयं नयाँ शक्ति हुन् भन्ने देशलाई भ्रम छैन । तर फरक धारमा हिँडदा चिढिनेहरूको ग्राफ बढ्नु स्वभाविक हो । हाम्रो समाजको स्वभाव पनि हो ।

उनीसँग अचेल सबैभन्दा रिस पोख्नेमा गणतन्त्रवादी, राजावादी शक्ति छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको विषयलाई आवश्यकताभन्दा बढी मलजल गरेर बालेनलाई विवादित बनाउन खोजिएको हो । गंभीर आरोप लागेर पदबाट हटाइएका गुरागाईँ फेरि काठमाडौँ महानगरपालिकामा पुग्नु वा पठाइनु भनेको शाहलाई काम गर्न नदिने माहोल खडा गर्ने प्रयास हो जुन सफल हुन सक्दैन । 

यो प्रसँगमा उपमेयर डंगोल र प्रमुख बालेनबीच थोरै असमझदारी भएको देखियो तर अस्थायी हो । किनकी बालेनको राम्रो काममा उपमेयर डंगोलको साथ, सहयोग र सुझावको ठूलो भूमिका रहँदै आएको छ । दुवैको आधुनिक सोचको संगमले काठमाडौँले मुहार फेर्ने बालेन र सुनिताले मजाले बुझेका छन् ।  

कांग्रेस र एमालेकै हस्ती उम्मेदवारहरुलाई भारी मतले पछारेर नगर प्रमुख भएका बालेनसँग सबैभन्दा बढी चिढिने भनेको नेकपा एमालेको नेतृत्व पंक्ति हो । बालेनसँग वारपारको अवस्थामा पुगेपछि सरकारमा रहेको समयमा शक्तिको प्रयोग गर्दै बालेनलाई एमालेले असहयोग गर्ने रणनीति लिएको देखिन्छ ।

बालेनले पटकपटक आग्रह गर्दा पनि गुरागाईँलाई पठाउनु र उनी जानु आफैमा स्तब्ध पार्ने खाले क्रियाक्लाप हो । अन्य मुलुककै उदाहरण मान्ने हो भने यत्रो विवाद भइसकेको ठाउँमा सरकारी कर्मचारी स्वयं पनि जान चाँहदैन । सरकारले पनि त्यही कर्मचारीलाई त्यही ठाउँमा पठाउँदैन । यो विवादमा एमाले र गुरागाईँको नियत प्रष्ट छ । उनको भूमिका पनि प्रमुख प्रशासकिय अधिकृतभन्दा बढी एमाले कार्यकर्ता वा कर्मचारीको जस्तो बढी देखिन्छ । 

पछिल्लो पटक राजवादी शक्तिको निसानामा पनि बालेन परे । चैत्र १५ मा राजसंस्था पक्षधरले तीनकुनेमा प्रदर्शन गर्दा फोहोर गरेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । यो तत्कालीन अवस्थामा बालेनको स्वविवेकीय निर्णय थियो ।

ज्ञानेन्द्रको सचिवालयले जरिवानाको पत्र बुझ्न नमाने पछि बालेनले हुलाकमार्फत उक्त जरिवाना पत्र पठाएका थिए । त्यसपछि उत्पन्न असमझदारीले राजावादी शक्तिको आलोचनामा उनी परेका हुन् । बालेनका ठूलो प्रशंसक रहँदै आएका राजावादी नेता कमल थापाले पनि आलोचना गर्दै बालेनलाई निर्णय फिर्ता लिन आग्रह गरेका थिए । 

राजसंस्थाको वकालत गर्दै आइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालेनले राजालाई नभएर आफूलाई पत्र पठाउनु पर्ने भन्दै असन्तुष्टि प्रकट गरे । विद्यालय, स्वास्थ्य क्षेत्रमा सुधारदेखि फुटपाथ व्यवस्थापनलगायतका कामहरुले उनलाई निडर र जुझारु व्यक्तित्वको रुपमा लिइएको छ । 

स्वयं राप्रपा र राजावादीहरुले बालेनको कार्यको प्रशंसा गरेकै हुन् । सक्रिय भएर जनहितमा पाइला चाल्दा हुने विवाद एवं आलोचनाको सामना गर्दै अघि बढिरहनु पर्छ । मलाई लाग्छ, अब बालेन र सुनिताले लोकसंवादमा जोड दिनुपर्छ । नागरिक समाजको चाहनामा आधारित गतिविधिलाई अघि बढाउनु पर्छ । दुवै उत्तिकै सक्षम भएकाले यो कार्यकाललाई लयात्मक तालमेलका साथ सफल बनाएर देशलाई ‘गर्न सकेमा सुधार सम्भव छ,’ भन्ने सन्देश दिनुपर्छ ।

प्रकाशित : २४ चैत २०८१, आइतबार 09:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved