६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

चीनको चुम्बकमा अड्कियो अमेरिका

द नेप्लिज संवाददाता
४ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर– एकअर्कामाथि लगाएको ’जस्तालाई त्यस्तै’ आयात शुल्क दौडमा चीनले अन्ततः अमेरिकालाई पछारेको छ । चीनले अहिले आवश्यक दुर्लभ खनिज तथा चुम्बकहरूको निर्यातमा नियन्त्रण लगाएर अमेरिकालाई तिरिमिरी पारेको छ । 

यस कदमले अमेरिका यस्ता खनिजमा कति निर्भर छ भन्ने कुरा खुलाइदिएको छ । यही साता राष्ट्रपति डोनाल्ड ट्रम्पले वाणिज्य विभागलाई अमेरिका भित्रै यस्ता महत्वपूर्ण खनिजको उत्पादन बढाउने र आयातमा निर्भरता घटाउने उपायहरू ल्याउन निर्देशन दिएका छन् ।  वासिङ्टनको यो महत्वपूर्ण उद्योगमा पुनः नियन्त्रण कायम गर्ने प्रयास हो । तर यस्ता दुर्लभ खनिज किन यति महत्वपूर्ण छन् र तिनीहरूले व्यापार युद्धलाई कसरी प्रभावित गर्न सक्छन् ?

दुर्लभ खनिज के हुन् र तिनीहरूको प्रयोग कहाँ हुन्छ ?

दुर्लभ खनिज १७ वटा रासायनिक रूपमा मिल्दोजुल्दो तत्वहरूको समूह हो जुन उच्च प्रविधियुक्त उत्पादनहरू बनाउन अत्यन्त जरूरी मानिन्छन् । यीमध्ये धेरैजसो तत्व प्रकृतिमा प्रशस्त पाइन्छन् तर शुद्ध रूपमै भेटिनु कठिन भएकाले यिनलाई ‘दुर्लभ’ भनिन्छ, साथै निकाल्न पनि खतरनाक मानिन्छ ।

यस्ता खनिजहरूको नामहरू जस्तै नेओडिमियम, यट्रियम र युरोपियम कमै सुन्न पाइन्छ । तर तिनीहरूको प्रयोग हुने सामग्रीहरू भने राम्ररी चिनिएका छन् । उदाहरणका लागि नेओडिमियम शक्तिशाली चुम्बक बनाउन प्रयोग हुन्छ जुन स्पिकर, कम्प्युटर हार्ड ड्राइभ, विद्युतीय गाडीका मोटर र जेट इन्जिनहरूमा प्रयोग हुन्छ । यसले ती उपकरणलाई सानो र प्रभावकारी बनाउँछ ।

यट्रियम र युरोपियम टेलिभिजन र कम्प्युटर स्क्रिन निर्माणमा प्रयोग हुन्छन् जसले रंग देखाउने तरिकालाई प्रभाव पार्छ । ‘जुनसुकै सामान अन र अफ गर्न सकिन्छ, त्यो सम्भवतः दुर्लभ खनिजमै चलेको हुन्छ,’भन्छन् जिङ्गर इन्टरनेशनल ट्रेड एन्ड इन्भेस्टमेन्टका निर्देशक थोमस क्रुमर । यी खनिजहरू लेजर सर्जरी र एमआरआई स्क्यान जस्ता चिकित्सा प्रविधि निर्माणमा पनि अत्यावश्यक छन् । साथै प्रमुख सुरक्षा प्रविधिमा पनि प्रयोग गरिन्छ ।

चीनको नियन्त्रण केमा छ ?

दुर्लभ खनिज निकाल्ने र प्रशोधन गर्ने काममा चीनको एकछत्र प्रभुत्व छ  जसमा तिनीहरूलाई अन्य खनिजबाट अलग पार्ने प्रक्रिया समावेश हुन्छ । अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए) का अनुसार चीनले ६१% दुर्लभ खनिज उत्पादन र ९२% प्रशोधनको नियन्त्रण राखेको छ । यसको अर्थ चीनले आपूर्ति श्रृङ्खलामा वर्चस्व जमाएको छ । कुन कम्पनीलाई दुर्लभ खनिज आपूर्ति दिने भन्ने निर्णय गर्न सक्ने क्षमता राख्दछ ।

यी खनिज निकाल्ने र प्रशोधन गर्ने प्रक्रिया महँगो र प्रदूषणयुक्त हुन्छ । सबै दुर्लभ खनिज स्रोतमा रेडियोधर्मी तत्वहरू पनि हुने भएकाले युरोपेली देशहरू लगायत धेरै राष्ट्रहरू यसको उत्पादन गर्न हिचकिचाउँछन् । ‘प्रशोधनबाट निस्कने रेडियोधर्मी फोहोरलाई सुरक्षित, कानुनी र स्थायी रुपमा व्यवस्थापन गर्नुपर्छ । युरोपमा हाल सबै फोहोर व्यवस्थापन केन्द्रहरू अस्थायी छन्,’ भन्छन् क्रुमर । चीनको यो प्रभुत्व रातारात आएको होइन — बरु यो दशकौंको सरकारी रणनीति र लगानीको परिणाम हो ।

सन् १९९२ मा इनर मंगोलिया भ्रमणका क्रममा तत्कालीन नेता देंग सियाओपिङले भनेका थिएः ‘मध्यपूर्वसँग तेल छ, चीनसँग दुर्लभ खनिज ।’ बर्मिंघम विश्वविद्यालयका अनुसन्धानकर्ता ग्याभिन हार्परका अनुसार २० औँ शताब्दीको अन्त्यतिर चीनले आफ्नो दुर्लभ खनिज उत्खनन र प्रशोधन क्षमतामा प्राथमिकता दियो जुन अरु देशको तुलनामा सस्तो श्रम र कमजोर वातावरणीय मापदण्डमा आधारित थियो । यसले चीनलाई विश्व प्रतिस्पर्धीहरूभन्दा सस्तो उत्पादन गरेर सम्पूर्ण मूल्य श्रृङ्खलामा प्रभुत्व जमाउन मद्दत गर्यो । ।

चीनले कसरी निर्यातमा प्रतिबन्ध लगाएको छ ?
वाशिङ्टनले लगाएको शुल्कको प्रतिक्रिया स्वरूप चीनले यस महिनाको सुरुमा सातवटा दुर्लभ खनिजहरूको निर्यातमा नियन्त्रण सुरु गरेको छ । तीमध्ये धेरै ‘गम्भीर दुर्लभ खनिजमा पर्छन् जसको प्रयोग सुरक्षा क्षेत्रमा अत्यावश्यक हुन्छ । यी कम मात्रामा पाइने र प्रशोधन गर्न गाह्रो हुने भएकाले मूल्यवान मानिन्छन् ।

अप्रिल ४ देखि चीनबाट दुर्लभ खनिज वा चुम्बक निर्यात गर्न सबै कम्पनीले विशेष अनुमति लिनुपर्ने नियम बनाइएको छ । चीनले परमाणु हतियार निषेध सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेकाले ’द्वैध प्रयोग हुने वस्तुहरूमा व्यापार नियन्त्रण गर्न सक्छ । स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) का अनुसार अमेरिका यस मामिलामा विशेष रूपमा संवेदनशील छ किनकि चीनबाहिर गम्भीर दुर्लभ खनिज प्रशोधन गर्ने कुनै सुविधा छैन ।

यसको असर अमेरिकामा कस्तो पर्छ ?
अमेरिकी भूगर्भ विभागका अनुसार सन् २०२० देखि २०२३ सम्म अमेरिका आफ्नो कुल दुर्लभ खनिज र धातु आयातको ७०% चीनबाट आयात गर्दै आएको छ । यसले देखाउँछ कि नयाँ प्रतिबन्धले अमेरिकालाई ठूलो असर पार्न सक्छ । गम्भीर दुर्लभ खनिजहरू मिसाइल, राडार, स्थायी चुम्बक जस्ता सुरक्षा उपकरण निर्माणमा प्रयोग हुन्छन् । सीएसआईएसको रिपोर्ट अनुसार एफ–३५ जेट, टोमहक मिसाइल र ड्रोनजस्ता उपकरणहरू यी खनिजमा निर्भर छन् ।

रिपोर्टमा भनिएको छ, ‘चीनले आफ्नो हातहतियार उत्पादनलाई तीव्र गतिमा विस्तार गरिरहेको छ, जुन अमेरिका भन्दा पाँचदेखि छ गुणा छिटो छ ।’ ‘यसको प्रभाव अमेरिकी रक्षा उद्योगमा गहिरो हुनेछ,’ भन्छन् क्रुमर । यो असर केवल रक्षा क्षेत्रमा सीमित छैन । राष्ट्रपति ट्रम्पले शुल्क लगाएर पुनःस्थापित गर्न चाहेको अमेरिकी उत्पादन क्षेत्र पनि ठप्प पर्न सक्छ । ‘रक्षा र उच्च–प्रविधि उत्पादनमा संलग्न उद्योगहरूले ढुवानी रोकिएपछि कच्चा पदार्थको अभाव र उत्पादन ढिलाइको सामना गर्न सक्छन्,’ भन्छन् डा. हार्पर ।

‘दुर्लभ खनिजहरूको मूल्य तीव्ररूपमा बढ्न सक्छ जसले स्मार्टफोनदेखि सैन्य उपकरणसम्मको लागत बढाउँछ,’ उनी भन्छन्  । यदि चीनबाट यस्तो आपूर्ति संकट लामो समयसम्म रह्यो भने, अमेरिका आपूर्ति श्रृङ्खलामा विविधता ल्याउने र आफ्नै घरेलु उत्पादन तथा प्रशोधन क्षमता बढाउने प्रयासमा लाग्न सक्छ । तर यसका लागि दीर्घकालीन लगानी, प्रविधिमा सुधार र चीनमा भर परिएको भन्दा महँगो लागत बेहोर्नुपर्नेछ ।

ट्रम्पलाई यो खतरा स्पष्ट देखिएको छ । यही साता उनले यस्ता खनिजमा विदेशी निर्भरता अमेरिकी राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको भन्दै छानबिनको आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले विदेशी दुर्लभ खनिज र तिनका उत्पादमा अत्यधिक निर्भरता अमेरिकी सुरक्षा, पूर्वाधार विकास र प्रविधि नवप्रवर्तनका लागि खतरा हुन सक्छ भन्ने चिन्दै आएको आदेशमा भनिएको छ ।

के अमेरिका आफैंले दुर्लभ खनिज उत्पादन गर्न सक्दैन ?

अमेरिकामा एक मात्र सञ्चालनमा रहेको दुर्लभ खनिज खानी छ तर त्यहाँ गम्भीर दुर्लभ खनिज छुट्याउने क्षमता छैन । त्यसैले निकालिएको सामग्री चीन पठाउनु पर्ने हुन्छ । एक समय अमेरिकामा यस्ता चुम्बक बनाउने कम्पनीहरू थिए — सन् १९८० को दशकअघिसम्म अमेरिका नै विश्वकै सबैभन्दा ठूलो उत्पादक थियो । तर चीनले मूल्य र उत्पादनमा अग्रता लिँदै गएपछि ती कम्पनीहरूले बजार छाडे ।

ट्रम्पले युक्रेनसँग खनिज सम्झौता गर्न इच्छुक हुनुको मुख्य कारण पनि चीनको निर्भरता घटाउने प्रयास हो भन्ने मानिन्छ । ट्रम्पको ध्यान ग्रिनल्याण्डतर्फ पनि गएको छ — जहाँ विश्वकै आठौँ ठूलो दुर्लभ खनिज भण्डार छ । ग्रिनल्याण्डलाई नियन्त्रणमा लिन ट्रम्पले सैन्य वा आर्थिक कदम चाल्नेसमेत संकेत दिएका छन् । यी सम्भावित वैकल्पिक स्रोतहरू हुन सक्थे, तर ट्रम्पको टकरावपूर्ण नीति र व्यवहारले अमेरिका केही थोरै आपूर्तिकर्तामा मात्र सीमित हुन सक्छ ।

डा. हार्पर भन्छन्, ‘अमेरिका दुई तहमा समस्या भोगिरहेको छ — उसले एकातर्फ चीनलाई चिढ्याएको छ, जसको आपूर्तिमा प्रभुत्व छ र अर्कातर्फ पहिले सहयोगी रहेका देशहरूलाई पनि व्यापार शुल्क र अन्य शत्रुतापूर्ण व्यवहारबाट टाढा बनाइरहेको छ । यी देशहरूले अझै पनि अमेरिकासँग सहकार्यलाई प्राथमिकता दिने कि नदिने भन्ने कुरा यो नयाँ प्रशासनको अस्थिर नीतिमा भर पर्छ ।
 

प्रकाशित : ४ वैशाख २०८२, बिहीबार 12:14
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved