३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

युक्रेन युद्ध

अमेरिका–रुस वार्तालाई चीनको समर्थन

द नेप्लिज संवाददाता
९ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– तीन वर्षदेखि युक्रेनमा भइरहेको युद्ध समापनका लागि अमेरिका एवं रूसले सुरु गरेको वार्ताको चीनले समर्थन गरेको छ । युक्रेन र युरोपेली देशका प्रतिनिधिको अनुपस्थितिमा मंगलबार साउदी अरेबियाको राजधानी रियाधमा दुवै देशले वार्ता थालेका थिए ।
अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ, रूसी विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ अनि केही साउदी प्रतिनिधिबीचको बैठक साढे ४ घन्टा चलेको थियो ।


दक्षिण अफ्रिकामा जारी जी २० समूहको सम्मेलनमा बिहीबार यस सम्बन्धमा प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्री वाङ यीले शान्तिका लागि हुने प्रयासको आफ्नो देशले समर्थन गर्ने बताए । उक्त वार्तामा भाग लिने पक्षहरूले दीर्घकालीन र दिगो समाधान पहिल्याउने छन् भन्ने चीनले आशा गरेको वाङले बताएको चिनियाँ विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
युक्रेनको युद्ध अन्त्य बारे अमेरिका र रूसले हालै गरेको सहमतिको पनि चीनले समर्थन गर्ने र शान्ति वार्तामा रचनात्मक भूमिका खेल्न तयार रहेको उनले विश्वास दिलाएका छन् । युक्रेन र युरोपेली देशहरूले अमेरिकाले आफूहरुको बेवास्ता गर्दै रूसका शर्तहरूमा युद्ध विराम गर्न खोजेको भनेर असन्तुष्ट छन् । 


उक्त सम्मेलनको क्रममा वाङले रियाधमा भएको वार्तामा भाग लिएका रूसी विदेशमन्त्री लाभ्रोवसँग द्विपक्षीय भेट पनि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा युक्रेनले नै रूससँग युद्ध सुरू गरेको दाबी गरेका छन् । रूसकै शैलीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बेगरका तानाशाह समेत भनेका छन् ।
सन् २०१९ मा राष्ट्रपति निर्वाचित जेलेन्स्कीको कार्यकाल २०२४ मै सकिए पनि देशमा युद्ध चलेको बेलामा चुनाव गर्न असम्भव भएको उनले बताएका छन् । ट्रम्पले समकक्षी भ्लादिमिर पुटिनबाट प्रभावित भएर रूसलाई फाइदा हुने गरी सहमति गर्लान् भनेर डराएका युरोपेली देशका सरकार प्रमुखहरूले आकस्मिक बैठक गरिसकेका छन् ।
पुटिनको माग अनुसार युक्रेनबारे सहमति गरे उनलाई र अमेरिका दुवैलाई चीन, इरान लगायत विपक्षी राष्ट्रले कमजोर ठान्ने छन् भनेर ट्रम्पलाई सम्झाउन केही दिनमै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकाको छुट्टा–छुट्टै भ्रमण गर्ने योजनामा छन् । उनीहरूले भविष्यमा पुटिनले फेरि युक्रेनमाथि आक्रमण नगरून् भनेर प्रत्याभूति नगरी युद्ध रोक्ने सहमति नगर्न बुझाउने प्रयास गर्नेछन् ।
रियाधमा मंगलबार सुरू भएको वार्तामा साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) ले युक्रेनलाई पनि सहभागी गराउन चाहे पनि अमेरिका र रूसले नमानेको खुलिसकेको छ । ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच छलफल भएको हो ।
यो वार्तामा साउदीमा शासन चलाइरहेका एमबीएसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रतिनिधि पनि सामेल गराउन चाहेका थिए । तर अमेरिका र रूस दुवैले युक्रेनको उपस्थिति नचाहेको ब्लुमबर्गले लेखेको छ । बुधबार रियाध आउने पूर्व–निर्धारित कार्यक्रम भएका जेलेन्स्कीलाई वार्तामा साउदी भूमिका र मंगलबार भएको प्रगतिबारे एमबीएसले जानकारी गराउन चाहेका थिए भनेर एक साउदी स्रोतको हवाला दिँदै ब्लुमबर्गले जनाएको छ ।
तर बैठकमा युक्रेनलाई समावेश नगरेको भनेर रिसाएर उनले साउदी भ्रमण सारेका छन् । एमबीएससँग राम्रो सम्बन्ध रहेको भन्दै उनले मार्च १० मा साउदीको भ्रमण गर्ने भनेका छन् । ’युक्रेनमा युद्धको कसरी समापन गर्ने भन्ने बारेमा निर्णय युक्रेन बिना गर्न सकिँदैन, न त कुनै शर्त थोपर्न सकिन्छ,’ टर्की भ्रमणमा रहेका जेलेन्स्कीले मंगलबार भने ।
’साउदीमा भएको यो रूसी–अमेरिकी बैठकमा हामीलाई आमन्त्रण गरिएको थिएन । यो हाम्रो लागि, मलाई लाग्छ धेरै अरूको लागि पनि आश्चर्य थियो,’ उनले जोड दिंदै उनले भने । युक्रेनलाई जस्तै युरोपेली देशलाई पनि उक्त वार्तामा सहभागी नगराइएको भनेर युरोपमा समेत विरोध भएको छ । तर अमेरिकी विदेश मन्त्री रूबियोले कसैलाई पनि पाखा नलगाइएको धारणा राखेका छन् ।
वार्तापछि उनले फ्रान्स, जर्मनी, बेलायत, इटाली र बेलायतका विदेश मन्त्री एवं युरोपियन युनियनका अधिकारीलाई प्रगतिबारे जानकारी गराएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यसअघि जर्मनीमा भएको म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको  वार्तामा जेलेन्स्कीले साउदीमा हुने वार्ताबारे आफू अवगत नभएको जानकारी गराएका थिए ।
उनले आफ्ना अन्य रणनीतिक साझेदारहरूसँगको छलफल अगाडि रूससँगको वार्तामा सहभागी नहुने भनेर पनि भान्सलाई जानकारी गराएको रोयटर्सले लेखेको छ । म्युनिख सुरक्षा सम्मेलनमा भान्सले युक्रेन र रूसबीच युद्ध अन्त्यका लागि हुने वार्तामा युरोपेली मुलुकहरूलाई स्थान नदिइने भनेका थिए ।
ट्रम्पले पनि युक्रेन युद्ध अन्त्य गर्ने छलफलमा युरोपेली मुलुकहरू हुनेछैन भन्दै आएका छन् । रूस विरूद्धको युद्धमा युक्रेनलाई सघाउँदै आएका युरोपेली मुलुकहरूले वार्तामा सहभागी नगराउने भने पछि आपत्ति जनाइरहेका छन् । युक्रेनले पनि आफूलाई सहयोग गरिरहेका युरोपेली मुलुकहरूको सहभागिता बिना हुने निर्णय स्वीकार नगर्ने प्रष्ट पारेको छ ।
यता भने रूसलाई फाइदा हुने गरी युक्रेनको युद्ध रोक्ने सहमति गर्न लागेका ट्रम्पलाई संझाइबुझाइ गर्न फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आगामी साता अमेरिकाको भ्रमण गर्दैछन् । युक्रेनको युद्ध रोक्ने वार्ताका कारण अमेरिकाको युरोपेली देशहरूसँगको दशकौं अघि देखिको घनिष्ठ सम्बन्ध नै बिग्रिन लागेका बेला ट्रम्पलाई सम्झाउन म्याक्रोन र स्टार्मर अमेरिका जान लागेका हुन् ।
 

प्रकाशित : ९ फागुन २०८१, शुक्रबार 21:44
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved