६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा

द नेप्लिज संवाददाता
२१ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– अमेरिकाले नेपाल फर्काएको ९ जनालाई प्रहरीले करिब  अढाइ घण्टाको सोधपुछ पछि परिवारको जिम्मा लगाएको छ । डिपोर्ट भएर बुधबार बिहान चार्टर जहाजमा नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रक्रिया पूरा गरेर प्रहरीको मानव बेचबिखन ब्यूरो पठाएको थियो ।

उनीहरूले प्रहरीसँगको बयानका क्रममा अबैध बाटो (डंकी) रुटबाट अमेरिका गए पछि अध्यागमनले पक्रेको बताएका छन । फर्काइएका ९ मध्ये ७ जना नेपालको विमानस्थल भएर बाहिरी देश गएको देखिएको छ । बाँकीको ट्राभल हिस्ट्री नरहेको प्रहरीले जनाएको छ ।

सात पुरुष र एक महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा अवतरण भएको थियो । निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो । केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो । उक्त चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको थियो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओराले पछि उक्त विमान सोझै नेपाल आएको हो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो ।

दोस्रो पटक राष्ट्रपनि निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरे पछि अमेरिकाबाट जनवरी २० यता बुधबार ९ जनासहित ३६ जना नेपाली डिपोर्ट भएका हुन् । यसअघि २७ जना नियमित उडानबाट डिपोर्ट भएका हुन् । अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फर्काइसकेको छ । आइसले तीन नेपालीलाई भने पानामा डिपोर्ट गरिएको जनाएको छ । ‘कस्टम एन्ड बोर्डर प्रोटेक्सन’ (सीबीपी) ले मेक्सिको सीमाबाट बिनाभिसा छिर्न खोज्ने विदेशी नागरिकलाई पक्राउ गरेर मेक्सिको नै फर्काउँछ ।  ।

‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा बिनाभिसा अमेरिका प्रवेश गरेका करिब ९ हजार नेपालीमा २ हजार ८ जना आइसको हिरासतमा परेका थिए । अमेरिकाले पहिलो चरणमा १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा १ हजार ३ सय ६५ जना नेपाली छन् ।
पहिलो चरणमा अमेरिका निकालाको सूचीमा रहेकामा होन्डुरसका सबैभन्दा बढी २ लाख ६१ हजार ६ सय ५१ जना छन् ।

ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना छन् । सूचीमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् । आइसका अनुसार यो सूचीमा २४ नोभेम्बर २०२४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेका समावेश छन् । राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा गैरकानुनी रूपमा सीमा पार गर्न खोज्नेको संख्यामा कमी आएको भन्दै सामाजिक सञ्जाल एक्समार्फत सीमा सुरक्षामा खटिएकालाई धन्यवादसमेत दिएका छन् । गत डिसेम्बरमा ३ लाख आप्रवासी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए । अमेरिकाले सन् २०२४ मा अवैध रूपमा सीमा पार गर्न खोज्नेमध्ये २ लाख ७१ हजार २ सय २४ लाई सीमाबाटै फर्काएको थियो ।
 

प्रकाशित : २१ फागुन २०८१, बुधबार 15:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved