६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

राप्रपासहित २२३ संस्था र व्यक्तिले तिरे महानगरको जरिवाना

द नेप्लिज संवाददाता
२६ फागुन २०८१, सोमबार

Advertisement

विराटनगर– पत्र पाएको २४ घण्टा नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाले लगाएको एक लाख जरिवाना तिरेको छ । सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत महानगरको कार्यालयमै पुगेर सम्मानका साथ जरिवाना बुझाउनुका साथै प्रमाणका लागि तस्बिरहरु पनि खिचे, खिचाए र फेसबुकमा पोस्टयाए ।
 
पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतमा आइतबार भएको प्रदर्शनमा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाखको जरिवानापत्र काटेको थियो । महानगरको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड, बिरुवा र रेलिङमा भौतिक क्षति गरेको उल्लेख छ । छ ।

जरिवाना बुझाएपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको राय समेत राखेका छन् । ‘हामी राप्रपा सुशासन मान्छौं, विधिको शासन मान्छौं, राजाको स्वागतमा आएका लाखौं आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूले हिंड्दा बाटोमा केही कुल्चिए होलान्, महानगरपालिकाको निर्णयलाई हामी स्विकार्दछौं । एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं,’ शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले ज्ञानेन्द्र शाहीसँगै आएका नेताहरूले जरिवाना बुझाएको बताए । राप्रपाले जरिवाना बुझाएको यो पहिलोपल्ट भने होइन । यसअघि २०८० चैत्र २७ मा राप्रपाले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । त्यो क्रममा विभिन्न ठाउँमा फोहोर गरेको र ट्राफिक आयरल्यान्डमा नोक्सानी गरेको भन्दै महानगरले राप्रपालाई पाँच हजार जरिवाना तिराएको थियो ।

राप्रपाले २४ घण्टाभित्रै जरिवाना बुझाउँदा सत्ताधारी दल नेकपा एमाले माथि सामाजिक सञ्जालमा घोचपेच सुरु भएको छ  ।  एमालेले भने महानगरले पत्र काटेको साढे तीन महिना बित्दा पनि एक लाख जरिवाना बुझाएको छैन । गत मंसिर ७ मा एमालेद्वारा आयोजित जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेकोे भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।  

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिशोध साँधेको भन्दै एमालेले जरिवाना नतिर्ने अडान लिएको छ । एमाले नेता–कार्यकर्ताले बालेनको जरिवानापत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्छन् । जरिवानापत्र बुझाउन महानगरको नगरप्रहरी टोली नै एमाले पार्टी कार्यालय पुगेको थियो । तर, एमालेले जरिवानापत्र बुझ्न मानेन । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ‘औचित्यहीन चिर्कटो’ भन्दै महानगरको जरिवाना नतिर्ने जवाफ दिएका थिए । 

गौतमले भनेका थिए,‘चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गरियो । कार्यक्रम सकिएलगत्तै हाम्रा स्वयंसेवकले कार्यक्रमस्थल सरसफाइ पनि गरिसकेका छन । यस्ता वाहियात चटकको एमालेले सम्बोधन गर्दैन ।’ एमाले नेता तथा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वमन्त्री महेश बस्नेतले बालेन पूर्वाग्रही बनेको बताएका थिए । एमालेविरुद्ध बालेन परिचालित भएको आरोप नै नेताहरूले लगाए । हल्का टिकाटिप्पणी गरेर छवि धुमिल बनाएका एमालेका विवादित नेता बस्नेतले मेयर बालेनले एमालेबाट एक लाख भिख मागेको समेत आरोप लगाए । उनले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत रहेको टिप्पणी गरेका थिए । 

पछिल्लो समय मेयर बालेन र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक–अर्काविरुद्ध शब्द प्रहार गरिरहेका छन् । बालेनले फेसबुकमार्फत ओली नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएका छन् । ओलीले पनि आफ्ना भाषणहरूमा बालेनको शैलीप्रति टिप्पणी गरिरहन्छन् । 

महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश पोखिरहेका छन् । महानगर महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । महानगरले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोस्टर टाँस्ने, निर्माण सामग्री जथाभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रमक नीति अनुरुप अगाडि बढेको छ । 
नगरप्रहरी निरीक्षक भण्डारीका अनुसार आर्थिक वर्ष २०८१÷०८२ माघदेखिको अहिलेसम्म राप्रपासहित २२३ संस्था तथा व्यक्तिलाई सार्वजनिक स्थलमा जथाभावी फोहोर फालेकै कसुरमा जरिवाना तिराइएको छ । यसमा २ सय १६ जनालाई जनही पाँच हजारका दरले १० लाख ३० हजार जरिवाना तिराएको उनले बताए । 

विभिन्न ६ वटा क्लिनिक तथा अस्पताललाई ५० हजारका दरले तीन लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । महानगरले चिकित्साजन्य फोहोर जथाभावी फालेको भन्दै उनीहरूलाई ५० हजार जरिवाना तिराएको थियो । महानगरले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा फोहोर तथा वातावरण प्रदूषण गर्दा जरिवाना तिराउँदै आएको छ । महानगरले एमालेलाई पनि जरिवाना तिराएरै छाड्ने जनाएको छ । ‘फोहोरमैलाको विषयमा जरिवाना नतिरी सुखै छैन । एमालेले जरिवानापत्र बुझ्नै मानेको छैन । अब हुलाकमार्फत पत्र पठाउने तयारी छ,’भण्डारीले सञ्चारकर्मीहरुसँग भने । 
 

प्रकाशित : २६ फागुन २०८१, सोमबार 18:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved