४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

कोशी प्रदेशमा ८१ हजार ९६० परीक्षार्थीले एसईई दिँदै

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

प्रदेशस्थित १४ वटै जिल्लाबाट साधारणतर्फका ७७ हजार ९५७, प्राविधिक धारका २ हजार ९७७ र खुल्लाबाट ४२६ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने । परीक्षामा नियमिततर्फ ७२ हजार ६१३ र ग्रेडवृद्धितर्फ ८ हजार ७४७ परीक्षार्थी सहभागी हुने

विराटनगर– एसईई परीक्षा २०८१ मा कोशी प्रदेशका ८१ हजार ९६० जना विद्यार्थी सहभागी हुनेभएको छ । सामाजिक विकास मन्त्रालय कोशीले बुधबार पत्रकार सम्मेलन गरी चैत ७ गतेदेखि १९ गतेसम्म हुने एसईई परीक्षाको तयारीको बारेमा जानकारी दिएका हुन् । 

शिक्षा निर्देशनालय धनकुटा एवं प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिका निर्देशक कृष्ण पोखरेलले यस प्रदेशस्थित १४ वटै जिल्लाबाट साधारणतर्फका ७७ हजार ९५७, प्राविधिक धारका २ हजार ९७७ र खुल्लाबाट ४२६ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने बताएका छन् । परीक्षामा नियमिततर्फ ७२ हजार ६१३ र ग्रेडवृद्धितर्फ ८ हजार ७४७ परीक्षार्थी सहभागी हुने उनले बताए । 

ताप्लेजुङबाट २ हजार २७२, पाँचथरबाट २ हजार ८०६, इलामबाट ४ हजार २३१, झापाबाट १७ हजार २८, संखुवासभाबाट ३ हजार १२०, तेह्रथुमबाट १ हजार १९०, धनकुटाबाट २ हजार ५३५, भोजपुरबाट २ हजार ४९२, मोरङबाट १८ हजार १०७, सुनसरीबाट १३ हजार ५८३, सोलुखुम्बुबाट १ हजार ६६०, खोटाङबाट ३ हजार ८०९, ओखलढुंगाबाट २ हजार २२० र उदयपुरबाट ५ हजार ८८१ परीक्षार्थी सहभागी हुने तथ्यांक निर्देशनालयले सार्वजनिक गरेको छ । 

परीक्षा सञ्चालनका लागि समितिले प्रदेशस्थित १४ वटै जिल्लामा परीक्षा सञ्चालनका लागि ३७१ वटा विद्यालयमा परीक्षाकेन्द्र निर्धारण गरेको छ । परीक्षाकेन्द्रको केन्द्राध्यक्ष केन्द्र तोकिएकै विद्यालयका प्रधानाध्यापक रहने समितिले व्यवस्था गरेको हो । परीक्षाकेन्द्रहरुमा सहायक केन्द्राध्यक्ष ५४६, निरीक्षक ४ हजार ४५, परीक्षा सहायक ८०९, सहयोगी १ हजार ६१३ र सुरक्षाकर्मी ५ हजार ५६५ जना खट्ने निर्देशक पोखरेलले बताए । 

‘केन्द्राध्यक्षले सिफारिस गरेका सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सहयोगी जिल्ला शिक्षा समन्वय इकाइले परिचयपत्र उपलब्ध गराउनेछ,’ उनले भने, ‘प्रत्येक दिन निरीक्षक फेरिने समस्या समाधानका लागि केन्द्राध्यक्षले नियुक्त गरेका सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सहयोगीको सूची सम्बन्धित पालिकाको शिक्षा शाखालाई उपलब्ध गराउनु पर्ने र सोही आधारमा पालिकाले एसईई परीक्षाको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।’

एसईई परीक्षा प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले सञ्चालनका लागि उत्तरपुस्तिका छपाइ गरेर १४ वटै जिल्ला शिक्षा समन्वय इकाइमा पठाइसकिएको निर्देशक पोखरेलले बताए । उनले प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डले १४ वटै जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको सुनाए । 

परीक्षाकेन्द्रमा परीक्षामा सहभागी हुन टाढाबाट आउने परीक्षार्थीहरुलाई केन्द्र तोकिएका विद्यालयका विद्यालय व्यवस्थापन समितिले बसाइँ व्यवस्थापनमा सहजीकरण गर्ने व्यवस्था गरिएको निर्देशक पोखरेलले बताए । ‘एसईई परीक्षाको उत्तरपुस्तिका प्रदेशमा नै परीक्षण गरेर प्राप्तांक मात्रै राष्ट्रि परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पठाउने र त्यहाँबाट एसईईको परीक्षा फल प्रकाशित हुने शिक्षा ऐनले व्यवस्था गरेको छ,’ उनले भने । 

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले परीक्षा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र निर्भय रुपमा सञ्चालन गर्न र कुनै किसिमको अनियमितता हुन नदिनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

गतवर्ष नेपाली, सामाजिक, गणित, विज्ञान जस्ता विषयमा अत्यधिक विद्यार्थी अनुतिर्ण भएकोले यसपटक त्यसमा सुधार ल्याउने गरी व्यवस्था गरेको निर्देशक पोखरेलले बताए ।

प्रकाशित : २८ फागुन २०८१, बुधबार 17:22
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved