काठमाडौँ, – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीतिमा पुनः अस्थिरताको आशंका चुलिएको छ । तर नेपाली कांग्रेसले दाहालको अभिव्यक्तिलाई ‘हल्ला मात्रै’ भन्दै खारेज गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताले भने, ‘प्रचण्डजीले जे–जे भन्नुभयो, ती हल्ला मात्रै हुन् । उहाँको मन्तव्यको सार त ओलीजी प्रधानमन्त्री हुँदा अस्थिरता देखियो, त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भन्ने हो भन्ने बुझिएको छ । तर हामी स्थायित्वको पक्षमा छौँ । देउवा असार १७ को सहमतिको पक्षमै दृढ हुनुहुन्छ ।’
ती नेताका अनुसार प्रचण्डले देउवासँग भेट गरी संवाद अघि बढाउने प्रस्ताव गरेका थिए तर देउवाले स्पष्ट रूपमा अस्वीकार गरेका छन् । देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘पहिले तपाईंका साथ थिएँ, ओलीसँग भेटिनँ । अहिले ओलीसँग छु, तपाईंका साथ भेटिँदा हामी दुवैलाई राम्रो गर्दैन । स्थायित्वको पक्षमा भएकाले गठबन्धन परिवर्तन हुँदैन ।’
कांग्रेस स्रोतका अनुसार पछिल्लो समय माओवादीका दोस्रो तहका नेताहरूले विभिन्न माध्यममार्फत वैकल्पिक सरकार गठनको प्रस्ताव अघि सारेका छन् । तर कांग्रेस ती ‘प्रलोभन’हरूमा नपर्ने बताइन्छ । यसअघि पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा प्रचण्डले सरकार जुनसुकै बेला परिवर्तन हुनसक्ने अभिव्यक्ति दिएका थिए ।
त्यसको भोलिपल्ट गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका थिए । ‘विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा यस्तो भनिएको हो,’ उनले भनेका थिए, ‘यो सरकार धेरै अगाडि जान सजिलो देखिन्न ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीमा आयोजित कार्यक्रममा सरकार ढल्ने चर्चा ‘निराधार’ भएको टिप्पणी गरेका थिए । उनले सरकार स्थिर रहेको संकेत दिएका छन् । यता कांग्रेसभित्रका शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउदलगायतका नेताहरूले भने प्रधानमन्त्री ओलीप्रति आलोचनात्मक धारणा राख्दै आएका छन् । तर पार्टी नेतृत्व सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट देखिन्छ ।
तर सत्तारूढ दल एमालेले उक्त सम्भावनालाई सशक्त रूपमा खारेज गर्दै वर्तमान सरकार स्थिर रहेको दाबी गरेको छ । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उठाइएको सरकार परिवर्तनको सम्भावनालाई ‘कुण्ठा र पीडाबोधको अभिव्यक्ति’ भन्दै खारेज गरेको छ ।
सोमबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्ड सरकारबाहिर रहँदाको पीडा पोखिरहेको टिप्पणी गरे । ‘अस्तिदेखि माओवादी केन्द्रका अध्यक्षले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ,’ उनले भने, ‘यसले उहाँमा सरकारबाहिर रहँदाको कुण्ठा र पीडाबोध झल्किन्छ ।’
ज्ञवालीका अनुसार अहिले न सरकार परिवर्तन सम्भव छ, न यसको कुनै सान्दर्भिकता वा औचित्य । ‘सरकार परिवर्तन कतैबाट सम्भव छैन,’ उनले भने, ‘त्यसको अहिले कुनै आधार छैन ।’ उनले राष्ट्रिय राजनीतिका गम्भीर विषयहरूलाई छाडेर सरकार परिवर्तनको मात्रै कुरा गर्नु सत्ताप्रतिको अतिशय आशक्ति भएको टिप्पणी गरे । ‘केही कमीकमजोरी देखाएर सरकार परिवर्तनको कुरा गर्नु भनेको मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास हो,’ ज्ञवालीले थपे ।
साथै पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आइतबार सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उनले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए । उनले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने निर्णय गरेको जानकारी दिए । उनले निरकुंश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बिजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई उत्सका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले बताए ।
राजनीतिक वृत्तमा जारी चर्चाकाबीच सत्ता गठबन्धनका प्रमुख दलहरूले हालको सरकारबारे उठेका आशंकाहरूलाई ‘हल्ला’ मात्रै भन्दै खारेज गर्दै आएका छन् । तर प्रचण्डको अभिव्यक्ति र त्यसपछिका घटनाक्रमले सत्ता समीकरण फेरिने अड्कलबाजीलाई एकचोटि फेरि सक्रिय बनाएको देखिन्छ ।
समाचार
तस्करी–लेनदेन विवादमा गोली प्रहार, दुई पक्राउ, तीन फरार
द नेप्लिज संवाददाताटोखा विदेशी मुद्रा काण्डमा दुई जनाविरुद्ध मुद्दा, २५ करोड बराबरको बिगो माग
द नेप्लिज संवाददाताएमाले विराटनगर अधिवेशनमा देखियो गहिरिँदो आन्तरिक फाटो : मंच बहिष्कारदेखि संस्थापन–इतर टकरावसम्म
द नेप्लिज संवाददाताभण्डारीको नेतृत्व आकांक्षामा ओली चिन्तित : एमालेमा आन्तरिक द्वन्द्व चुलिँदै
द नेप्लिज संवाददातावीरगन्ज फेरि तनावग्रस्त : तीन युवा पक्राउपछि हिन्दूवादी प्रदर्शन, पत्रकार घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares