१९ वैशाख २०८२, शुक्रबार 02 May 2025, Friday

राष्ट्रकाे उन्नयनमा श्रमिककाे संघर्ष अमूल्य : उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समाज र राष्ट्रको विकास–निर्माण तथा प्रगती–उन्नयनमा श्रमजीवीहरुको श्रम, मेहनत, समर्पण र संघर्ष अमूल्य रहेकाे बताएका छन् । उपराष्ट्रपति यादवले १३६ औं विश्व श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै श्रमिककाे अधिकारको रक्षा र जीवनस्तर सुधार गर्दै उचित पारिश्रमिक प्रदान गर्ने अवस्था सिर्जना गर्न सबैजना आ–आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहन जरुरी रहेकाे बताएका हुन् ।

श्रमिक दिवसकाे अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाई दिँदै उहाँहरुको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उनले यो दिवस श्रमजीवीहरुको लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ संकल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर भएकाे बताएका छन् ।

´श्रमिकहरुको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ,` उनले भने, ´श्रमजीवीहरुको अधिकार, सम्मान र योगदानलाई मान्यता दिने प्रतीकका रुपमा समेत मनाइने यो दिवसले श्रम अधिकारको सुनिश्चितताका लागि थप क्रियाशील हुन सबैलाई उत्प्रेरित गर्न सकोस् ।`

कृषि, उद्योग, विकास–निर्माण, पर्यटन, घरेलु क्षेत्र र अन्तर्राष्ट्रिय श्रम बजारलगायतका क्षेत्रमा श्रमिकहरुको भूमिका उल्लेखनीय रहेकाे उपराष्ट्रपति यादवकाे भनाइ छ । ´नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट ठूलो परिमाणमा विदेशी मुद्रा आपूर्ति हुनु सकारात्मक भएपनि श्रमजीवीहरुका लागि आफ्नै माटो–पानीमा रही श्रम र रोजगार गरी न्यायोचित अर्थोपार्जनको वातावरण मिलाउन जरुरी छ,` उनले भने, ´नेपालको संविधानमै श्रमिकवर्गको अधिकार सुनिश्चित गरेको छ । सबै नागरिकलाई श्रम गर्ने अधिकार, न्यायोचित पारिश्रमिक, काम गर्ने सुरक्षित वातावरण र सम्मानजनक जीवनको प्रत्याभूति नेपालको संविधानले गरेको छ ।`

उनले संविधानले श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था, बालश्रम निषेध गर्दै बालबालिकाको अधिकारको सुनिश्चिततातासहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली श्रमिकहरुको हकहित संरक्षण र उनीहरुको क्षमता विकासका लागि संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई उत्तरदायी बनाएको बताएका हुन् । ´श्रमिकबारेको संवैधानिक व्यवस्थालाई सबैले अक्षरशः पालना गर्दै श्रकिमहरुको जीवनस्तर सुधार्न र अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ,` उनले भने, ´श्रमिकका लागि न्यूनतम ज्याला सुनिश्चित गर्ने, समयमै पारिश्रमिक उपलब्ध गराउने तथा उहाँहरुका लागि पेन्सन, बीमा र अन्य सामाजिक सुरक्षा लाभहरु व्यवस्थित गर्न जरुरी छ ।`

श्रमिकमैत्री कानूनको कार्यान्वयन, सुरक्षित कार्यस्थलको प्रबन्ध, सीप विकास कार्यक्रमहरु सञ्चालन, सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापन, मुलुकमै पनि रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नीति तथा कार्यक्रमहरु लागु गर्न सबैको ध्यानाकृष्ट हुन उत्तिकै आवश्यक रहेकाे उपराष्ट्रपति यादवकाे भनाइ छ ।

´यो दिवसले बालश्रमको निषेध गर्न, महिला श्रमिकहरुलाई सुरक्षा प्रदान गर्न र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस्` उनले भने, ´सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी समतामूलक समाज निर्माणको दिशामा काम गर्दै नेपाललाई आर्थिकरुपमा बलियाे, समृद्ध र सामाजिकरुपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने नै छ भन्ने विश्वासका साथ विश्व श्रमिक दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।`

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 08:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved