१९ वैशाख २०८२, शुक्रबार 02 May 2025, Friday

युवाहरु रोजगारीका लागि नभौतारिनु, उद्यमशीलतामा लाग्नुः प्रधानमन्त्री ओली

कोशी ब्यारेजसम्म पानीजहाज चलाउन सप्तरीको हनुमाननगरमा पोर्ट बनाउँदै छौँ
द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई रोजगारीका लागि भौतारिनु भन्दा पनि उद्यमशीलतामा लाग्न आह्वान गरेका छन् । कोशी सरकारले आयोजना गरेको पहिलो प्रदेश लगानी सम्मेलनको बिहीबार उद्घाटनपछि प्रधानमन्त्री ओलीले रोजगारी दशक नभनी उद्यमशीलता दशक भनेर काम अघि बढाउन निर्देशन दिएका हुन् । 

‘उद्यमशीलता नभए रोजगारी कहाँबाट आउँछ त्यसैले उद्यमशीलता दशक भनौं र उद्यमशीलतामा लागौं,’ उनले भने, ‘वर्षमा ४÷५ लाख मानिसहरु रोजगारीका लागि आउँछन् त्यसैले सरकारी रोजगारी सबै जनाले पाउन नसक्ने भएकोले उद्यमशीलतामा लाग्नु जरुरी छ । वर्षमा सरकारी क्षेत्रमा २०÷२५ हजार र व्यवसायिक क्षेत्रमा एक÷डेढ लाख रोजगारी हुन्छ ।’ त्यसैले उद्यमशीलताको विकास आजको आवश्यकता भएको उनको भनाइ थियो । 

‘युवाहरुलाई भन्न चाहन्छु, रोजगारीको खोजीमा नभौतारिनुस्, उद्यमशीलतामा लाग्नुस् र त्यसका निम्ति सरकार सहयोग गर्न तयार छ,’ उनले भने, ‘उद्यमशीलताका लागि सस्तो ब्याज दरमा ऋण उपलब्ध भए पुग्ने रहेछ । अनुदानको आवश्यकता छैन । त्यसैले अहिले राम्रो अवस्था रहेकोले लगानीकर्त्ताहरुले लगानी गर्नु सरकारले साथ दिन्छ । त्यसैका लागि आएको छु । केन्द्रबाट हुने सहयोग पनि हुन्छ ।’ आन्तरिक र वाह्य लगानी कसरी गर्ने भन्नेमा ध्यान दिँदै लगानीभित्र आफ्नै युवाहरुको उद्यमशीलता जोड्न प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् । 
 
‘ढुक्क भएर लगानी गर्न आउनु होस्, ठीक समयमा लगानी सम्मेलन गरिएको छ,’ उनले भने, ‘यही बेला नै सबभन्दा राम्रा सम्भावनाहरु छन् । हामीले चाहे अनुसारको यति बेला विकास भएको छैन । विकासका सम्भावनाहरु छ, छिटो विकास हुन्छ । देशभित्रका उद्योगीहरुलाई राम्रो प्रतिफलका लागि लगानी गर्न अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।’ बाहिरका लगानीकर्ताहरुले यहाँ गरेको लगानीको मुनाफा लग्न कुनै समस्या नहुने उनले प्रतिबद्धता जनाए । लगानीकर्त्र्तालाई मुनाफा आफ्नो देश लग्न दोहोरो करको समस्या पर्दैन किनकी जुन देशको लगानीकर्त्ताले लगानी गर्छ त्यो देशसँग हामीले सम्झौता गरेर दोहोरो करको समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । ‘लगानीकर्त्तालाई कुनै समस्या पर्दैन भनेर सरकारको तर्फबाट सुनिश्चित गर्छु,’ उनले भने, ‘कोभिडको समस्या देखाएर अब छुटपाउने अवस्था छैन । सबैले आ–आफ्ना कमिकमजोर िहटाएर विकासको प्रक्रियामा अगाडि बढ्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले कोशी नदिमा पानी जहाज चलाउन सरकारले तीव्र रुपमा काम अघि बढाउने बताएका छन् । भारतको कलकत्ता देखि नेपालको कोशी ब्यारेजसम्म पानीजहाज सञ्चालनका लागि काम अघि बढाउने उनले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कलकत्ता देखि कोसी ब्यारेजसम्म पानीजहाज चलाउन सम्भाव्यता अध्ययन भइसकेको दाबी गरे। उनले सप्तरीको हनुमान नगरमा पानीजहाजको बन्दर्गाह बनाउने पनि बताए । ‘कलकत्ता देखि कोशी ब्यारेजसम्म पानीजहाज चलाउने र सप्तरीको हनुमाननगरमा पोर्ट बनाउँदै छौँ’ ओलीले भने,‘पानीजहाज चल्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्‍याउन कति सजिलो हुन्छ । तपाईँहरू आफै बुझिहाल्नुहुन्छ ।’ ओलीले कोशी मात्रै नभई गण्डकी र कर्णालीमा पनि पानीजहाज सञ्चालन गर्न सकिने अवस्था रहेको ओलीले बताए । 

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 16:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved