विराटनगर— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको राजसंस्था, राजावादी र ठूला दलका शीर्ष नेताहरूबारेको उही पुरानो गुनासो शनिबार मुख्य सञ्चार माध्यमहरूमा प्रमुख स्थान ओगट्न सफल त भयो, तर आममानिसको ध्यान भने खासै तान्न सकेन।
थापाको विचारमा कुण्ठा, असन्तुष्टि र उच्च महत्वाकांक्षाको झल्को देखिन्छ भन्ने सर्वसाधारणको बुझाइ छ। जानकारहरूका अनुसार शून्य राजनीतिक पृष्ठभूमिका रवि लामिछानेले छोटो समयमै नयाँ पार्टी खोलेर अनपेक्षित रूपमा सिट जित्दै गृहमन्त्री बनेको दिनदेखि नै थापाको राजनीतिक छटपटाहट सुरु भएको हो। सहकारी ठगी अभियोगमा लामिछाने कारागार पुगे पनि थापाको राजनीतिक बैचेनी दिनहुँ बढिरहेको छ ।
थापाको भनाइको ठीक विपरीत प्रमुख दलहरूको मूल संरचनामा अझै केही वर्ष पुरानै नेताहरू रहने संकेत देखिन्छ। राजावादी आन्दोलन स्वतःस्फूर्त रूपमा अगाडि बढेकाले थापाको सतही विश्लेषणसँग मेल नखाने स्थलगत अवलोकनकर्ताहरूको भनाइ छ।
भिजिट भिसाको विवादमा गृहमन्त्री लेखकमाथि उठेको प्रश्न र आन्तरिक मतभेद आज फेरि छताछुल्ल भयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकालाई लिएर कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र प्रधानमन्त्री केपी शर्मा ओलीको धारिलो प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्यो।
गृहमन्त्री लेखकमाथिको विवादमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएको छ। कांग्रेस नेता कोइरालाले लेखकले राजीनामा दिनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेका छन् भने प्रधानमन्त्री ओलीले त्यसलाई ‘पूर्वाग्रहपूर्ण र अनुचित’ भन्दै खारेज गरेका छन्।
शनिबार खोटाङको हलेसीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले राजनीतिमा नैतिकता अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै राजीनामा दिनुपर्ने बताएका हुन्।‘राजनीतिमा नैतिकता रहेन भने अराजकता बढ्छ, त्यसले राजनीतिलाई कमजोर बनाउँछ,’ कोइरालाले भने, ‘राजनीतिक संस्कार भनेको नैतिकताको संस्कार हो।’
पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले वर्तमान सत्ता गठबन्धनले पाँच वर्षे कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अहिलेको सरकार असफल हुने छुटमा छैन।’ साथै, हिन्दू राष्ट्र र राजतन्त्रको आभास सत्ताधारी दलकै नेतृत्वबाट आइरहेको दाबी गर्दै उनले सुशासन, रोजगारी, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार चुकेको टिप्पणी गरे।
कार्यक्रमपछि तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा डेलामा सम्बोधन गरी उनी राजधानी फर्किएका थिए। उनी हेलिकप्टरमार्फत हलेसी पुगेका थिए।
यता काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले लेखकमाथि कुनै आरोप नलागेको स्पष्ट गर्दै राजीनामा दिनुपर्ने कारण नरहेको दाबी गरे।‘गृहमन्त्रीमाथि कुनै मुद्दा छैन, कुनै छानबिन छैन। यो विषय नै इश्यु होइन,’ ओलीले भने, ‘राजीनामा माग्नु पूर्णतः अनुचित र पूर्वाग्रहपूर्ण हो।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा सम्बन्धी अनियमिततामा लेखकको संलग्नता नभएको प्रधानमन्त्रीको दाबी छ। उनले एउटा कर्मचारीलाई अख्तियारले सोधपुछ गरेको आधारमा गृहमन्त्रीलाई जिम्मेवार ठहराउनु तर्कहीन भएको बताए। ‘मानौँ ३५ किलो सुन ओसारेको जस्तै गम्भीर विषय भए त बहस गर्न सकिन्थ्यो, तर यो त त्यस्तो पनि होइन,’ ओलीले भने।
गृहमन्त्री लेखकमाथि आफ्नै पार्टीभित्रबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूलाई कटाक्ष गरेका छन्। उनले पार्टीभित्रको असहमति आन्तरिक रूपमा समाधान गर्न सुझाव दिए।‘तपाईंहरूको घरझगडा छ भने घरभित्रै बसेर गर्नुस्, आँगनमा निस्केर तमासा नगर्नुस्,’ ओलीले भने, ‘झगडाले छिमेकी डिस्टर्ब हुन्छ।’
प्रधानमन्त्रीले कांग्रेस नेताहरूले सार्वजनिक रूपमा आफ्नै पार्टी नेतृत्वको आलोचना गरेर सत्तारूढ गठबन्धनमा नकारात्मक सन्देश प्रवाह गरिरहेको बताएका छन्।‘घरभित्रको आवाजले नपुगेझैं झगडा सार्वजनिक रूपमा गर्ने हो भने त्यो सामाजिक प्रदूषण बन्छ,’ उनले भने। प्रधानमन्त्रीको भनाइअनुसार विपक्षी दलहरूले अस्थिरता ल्याउन राजीनामा मागजस्ता असम्भव माग गर्दै छन् र सत्तारूढ दलभित्रको मतभेदले त्यसलाई थप मलजल गर्ने सम्भावना रहेको छ।
#शेखर# ओली #गगन
समाचार
दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददातारेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares