४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

उडिसामा नेपाली छात्रा मृत्यु प्रकरण

नेपाली विद्यार्थी अगाडि झुक्यो भारतीय विश्वविद्यालय

उडिसा राज्य सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन
द नेप्लिज संवाददाता
६ फागुन २०८१, मङ्गलबार

Advertisement

नेपाली विद्यार्थीमाथिको ज्यादती नरोकिए उडिसाका शैक्षिक संस्थाको एन्ओसी रोक्ने नेपाल सरकारको चेतावनी

विराटनगर– भारतमा नेपाली छात्रा २० वर्षीया प्रकृति लम्सालको रहस्मय मृत्युपछि विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीे सामु अन्ततः भारतीय विश्वविद्यालय घुँडा टेक्न बाध्य भएको छ । ज्यादतिविरुद्ध सडकमा उत्रेका नेपाली विद्यार्थीको समर्थनमा सडकदेखि नेपाल र भारतको उडिसा प्रदेश संसदसम्म आवाज उठ्यो । 

नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध भारतस्थित नेपाली दूतावासले उडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी–किट)सँग निरन्तर संवादको माध्यमले दबाब सृजना गरी दोषीलाई हिरासतमा पुर्‍याउन बाध्य पार्यो । नेपाली दूतावासबाट खटिएको टोली मंगलबार दिउँसो किट पुगेर नेपाली विद्यार्थीहरू, विश्वविद्यालय र कलेज प्रशासनसँग छलफल गरेर घटनाको सत्यतथ्य बारे जानकारी लिएका छन् । नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई बरिष्ठ अधिकारीहरु सञ्जीव शर्मा दास र नवीनराज अधिकारी मंगलबार दिउँसो त्यहाँ पुगेका थिए । यो टोलीले किटका व्यवस्थापन पक्षसँग नेपाली विद्यार्थीको समग्र सुरक्षाको प्रत्याभुति गराएको छ । 

यसैबीच, उडिसा राज्य सरकारले प्रकृतिको मृत्यु प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । उडीसा सरकारको सूचना तथा जनसम्पर्क विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको र समितिको निष्कर्षअनुसार दोषीमाथि कानुनी कारबाही अगाडि बढाइने उल्लेख छ । छानबिन समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त सह–सचिव सदस्य छन् ।

उडीसा सरकारले नेपाली विद्यार्थीमाथि गरिएको दमनलाई दुर्भाग्यपूर्ण रहेको बताउँदै त्यस विषयमा तुरुन्तै ’एक्सन’ लिइएको बताएको छ । केआइआइटीका सुरक्षा गार्डलाई पक्राउ गर्न र गल्ती गर्ने कर्मचारीहरूलाई निलम्बन गर्न निर्देशन दिइएको विभागको विज्ञप्तिमा उल्लेख छ । स्थानीयहरूले पनि नेपाली विद्यार्थीमाथि बल प्रयोग गरेको विषयमा समेत अनुसन्धान गर्न राज्य सरकारले निर्देशन दिएको विज्ञप्तीमा उल्लेख छ ।

त्यसपछि केआईआईटीले आफ्ना दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त, दुई होस्टेल अधिकारी र एकजना प्रशासन अधिकारीलाई निलम्बन गरेको छ । भारतको ओडिसा राज्य प्रहरीले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार तथा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न मानव स्रोत हेर्ने महानिर्देशक शिवानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चमुपती र छात्रावास हेर्ने निर्देशक सुधीर रथलाई पनि मंगलबार साँझ पक्राउ गरेको छ ।   भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र केआईआईटी विश्वविद्यालय संस्थापक प्रा.अच्युत सामन्तबीच समेत धेरै पटक फोन वार्ता भएको थियो । सामन्तले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने अधिकारीलाई कारबाही गरिएको  राजदूतलाई  जानकारी गराएका थिए ।

केआईआईटीले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यवहारको घटनामा माफी मागेको छ । क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि दुःखी छौँ । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै हानि पुर्याएका छैनौँ ।’

दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनले स्वीकारेका छन् । उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै ती कर्मचारीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागिसकेको सिंहले बताएका हुन् । ‘हामी पनि सबै कुराको लागि माफी चाहन्छौँ र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौँ,’ सार्वजनिक रुपमा माफी मागेको पत्रमा उनले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई भारतीय जस्तै माया गरेका छौं र उनीहरूलाई अब नियमित अध्ययनमा लाग्न अपिल गर्दछु ।’ 

केआईआईटी विश्वविद्यालयमा आइतबार राति नेपाली विद्यार्थी लम्साल मृत फेला परेकी थिइन् । कम्प्युटर इञ्जिनियर विषयको तेस्रो वर्षमा अध्ययनरत उनको रहस्मय भएको थियो । उक्त घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै नेपाली विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रेका थिए । आन्दोलनमा उत्रेपछि नेपाली विद्यार्थीलाई कलेज प्रशासनले बल प्रयोग गरी होस्टेल छाड्न बाध्य पारिएको थियो । 

यो पनि पढ्नुहोस् : भारतीय दूतावास अगाडि विद्यार्थीको प्रदर्शनपछि विद्यार्थी छात्रावास फिर्ता

लम्सालको मृत्युका लागि दोषी मानिएको २१ वर्षीय अद्विक श्रीवास्तवालाई सोमबार नै पक्राउ गरी अनुसन्धान भइरहेको भारतको भुवनेश्वर–कटक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विश्वविद्यालयको बीटेक मेकानिकल तेस्रो वर्षमा अध्ययनरत  २४ वर्षीय सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी थानामा आइतबार उजुरी दर्ता गराएका थिए । उनी प्रकृतिको आफन्त हुन् । उजुरीमा बीटेक मेकानिकल तेस्रो वर्षमा अध्ययनरत श्रीवास्तवाले दुर्व्यवहार गरेपछि लम्सालले आत्महत्याको बाटो रोज्न बाध्य भएको उल्लेख छ । उजुरी दिए लगतै श्रीवास्तावविरुद्ध आत्महत्या दुरुत्साहनको एफआईआर दर्ता गरिएको प्रहरीको भनाइ छ । श्रीवास्तवको दस्ताबेज र विद्युतीय उपकरणहरू प्रहरीले प्रमाणका रूपमा संकलन गरेर अनुसन्धान गरिरहेको जनाएको छ । नेपाली विद्यार्थीहरूको सुरक्षा पनि सुनिश्चित गरिएको भुवनेश्वर प्रहरीको भनाइ छ । प्रहरीले यो घटनामा निष्पक्ष छानबिन गर्ने सार्वजनिक प्रतिबद्धतासमेत जनाएको छ ।

प्रकृति मृत भेटिएकै राति श्रीवास्तव भुवनेश्वरबाट भाग्न खोजेका थिए । उनलाई राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । उनले कोलकाताका लागि हवाई टिकट लिएको फेला परेपछि प्रहरीले उनलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो । 

यता, नेपालमा घटनाको जानकारी प्राप्त भएदेखि सडक र सदन दुबै ठाउँबाट सरकारको कूटनीतिक भूमिकामाथि सवाल उठेको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार सांसदहरूले सरकारको कूटनीतिक कमजोरीले नेपाली विद्यार्थीमाथि अमानवीय व्यवहार भएको भन्दै भारत र विश्वविद्यालय प्रशासनको आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको कूटनीतिक असक्षमताका कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरु असुरक्षा र अपमानजनक व्यवहारको सामना गरिरहनु परेको बताए । ‘ज्यान गुमाएकी आफ्ना साथीको न्यायका लागि आन्दोलन गर्दा नेपाली विद्यार्थीलाई भारतमा अमानवीय व्यवहार गरियो, सिंगो नेपाली र नेपालमाथि प्रहार भयो’, उनले भने, ‘तर सरकारको कुटनीतिक असक्षमताका कारण नेपाली विद्यार्थीले अपमानको सामना अझै गरिरहनुपरेको छ ।’

उनले उक्त घटनाको विषयमा उच्चस्तरबाट सरकारले संवाद गर्न ढिला गरेको पनि आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पनि भारतमा भएको उक्त घटनाप्रति सरकारको राजनीतिक तथा कूटनीति कमजोर भएकाले कलेजको चौकीदारलेसमेत नेपाल र नेपालीको अपमान गरेको बताए ।

‘प्रकृतिको मृत्यु घटना एउटा विशेष घटनामा सिमित नभएर हाम्रो डेप्लोम्याटिक रणनीति कति कमजोर भयो कि त्यहाँको एउटा चौकीदारले हाम्रो नेपाली विद्यार्थीलाई सजिल्यै पिटिदिन सक्ने भयो । तिम्रो देशको बजेट हाम्रो कलेजको बजेट जति पनि छैन भनेर हेप्न पायो’, उनले भने ‘यो दुई तिहाइको दम्भ सिंहदरबार भन्दा बाहिर किन नागरिकले महसुस गर्न पाएनन् ?’

उनले सरकारलाई उक्त घटनाको सत्यतथ्य छानबिनका लागि पहल गर्न आग्रह गरे । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली विद्यार्थीमाथि प्रशासनबाट गरिएको अभद्र व्यवहारप्रति खेद प्रकट गरे । उनले नेपाल र नेपालीमाथि गर्नुपर्ने न्यून्तम व्यवहारसमेत केआईआईटी कलेजले नगरेको बताए । संसद्मा अन्य सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराउँदै प्रकृतिको मृत्यु घटनामा छानबिन गर्न, त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षा र अध्ययनको सुनिश्चितता गर्न माग गरे ।

सांसद छविलाल विश्वकर्माले शंकास्पद मृत्यु भएकोले सत्यतथ्य छानबिनका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग मंगलबार बैठकको आकस्मिक समयमा सांसदहरू उक्त घटनाको बारेमा प्रश्न उठाएका थिए । अध्यक्ष दाहालले घटनाको सत्यतथ्य पत्ता लगाई पीडित परिवारलाई न्याय प्रदान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु, अध्यक्ष दाहालले भने ।

यसैबीच, उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो ।  गल्ती गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता उडीसा सरकारले गरेको छ । केआईआईटीका रजिष्ट्रारले जारी गरेको सूचनामा भनिएको छ, ‘ अनुसन्धानको लागि अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय(आईआरओ)का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गरिएको छ ।’ लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू आक्रोशित बनेका थिए। उनीहरूले घटनाको छानबिनको माग राख्दै प्रदर्शनसमेत गरेका थिए । त्यसपछि त्यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई निकालिएको थियो ।

चौतर्फी दबाब बढ्दै गएपछि निकालिएका विद्यार्थीलाई पुनः फर्काइएको छ । तर विद्यार्थीहरू अझै त्रासमा छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्यहाँ पुगेका प्रहरीहरूलाई घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको बताइन् ।
यता नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ । ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा ती एनओसी दिन रोक्ने चेतावनी दिएको हो । 

उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने चेतावनी दिएको हो ।
काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वरस्थित प्रहरी कमिशनरको कार्यालयले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै दुई सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । किट प्रशासनले नेपाली विद्यार्थीहरूलाई इन्स्टिच्युटबाट निकाल्दा सुरक्षागार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।  

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो । त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार जानकारी गराएकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।

उक्त घटनाको भारत र नेपालमा आलोचना भएपछि विश्वविद्यालय प्रशासनले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको थियो । नेपाली  नेपाली विद्यार्थीलाई फर्काउन सहजीकरण गर्न केआईआईटीमा ‘कन्ट्रोल रुम’ सञ्चालन गरिएको र यसले सातै दिन काम गर्ने सूचनामा उल्लेख छ । विटेक पहिलो वर्षदेखि पिएचडीसम्म नेपालका करिब १ हजार ५ सय बढी विद्यार्थी अहिले केआईआईटीमा अध्ययनरत छन् । 

प्रकाशित : ६ फागुन २०८१, मङ्गलबार 19:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved