६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

अमेरिकाले फिर्ता गर्दै २० वटा नेपाली सम्पदा

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– अमेरिकाले नेपाललाई २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने बताएको छ । विभिन्न कालमा नेपालबाट तस्करी गरी अमेरिका पुर्याइएका ३० लाख अमेरिकी डलर (४१ करोड १० लाख नेरु) मूल्यको ति पुरातात्वि सम्पदा फिर्ता गरिने न्युयोर्कस्थित म्यानहटन डिस्ट्रिक एटोर्निज् अफिस (जिल्ला न्यायधिवक्ताको कार्यालय)ले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । उसले मितिको भने टुंगो लगाएको छैन ।  

विज्ञप्ति अनुसार १५ औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो र उनकी पत्नीहरूको चित्र, बुङ्मतीको एक स्तूपबाट चोरी भएको बुद्धको मूर्ति, ढुंगाको देवीको मूर्तिलगायतका सम्पदा भएको विज्ञप्तिमा भनिएको छ । सम्पदाहरुमध्ये गगनसिंह भारो र उनकी पत्नीहरूको चित्र स्मारकीय रंगद्रव्य र सुनको कपासको पौभा नेपालका नेवारहरूले बनाएको परम्परागत धार्मिक चित्र भएको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

शिलालेखको अध्ययनबाट चित्र लगभग सन् १४५० देखि १४७४ बीचको रहेको अनुमान गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ । यो चित्र सन् १९८० मा काठमाडौंको इटुम्बहाः गुम्बाबाट चोरी भएको प्रहरीमा अनुसन्धानबाट खुलेको थिया । सन् १९८२ मा यो न्युयोर्क काउन्टीका पुराना वस्तुहरुको व्यापार गर्ने व्यक्तिकोमा फेला परेको हो । 

‘काठमाडौंस्थित बुङ्मतीको स्तूपबाट चोरी भएको बुद्धको मूर्ति नवौं शताब्दीको भएको बुझिएको छ । यसमा शाक्यमुनि बुद्धको चित्रण गरिएको छ । यो मूर्ति सन् १९७० को दशकको अन्त्यतिर नेपालको बुङ्मतीको स्तूपबाट चोरी भएको र त्यसपछि १९८० को दशकमा लन्डनका एक व्यापारीबाट फेला पारिएको थियो,’ विज्ञप्तिमा प्रष्ट भनिएको छ । 

ढंगाको देवीको मूर्ति भने पहिलो पटक सन् १९७५ मा अस्ट्रियाली वास्तुकार कार्ल प्रुस्चाले खिचेको तस्बिरमा काठमाडौंको विष्णुदेवी मन्दिर परिसरको एउटा कोठामा देखा परेको थियो । त्यसपछि सन् १९८४ मा स्विट्जरल्याण्डबाट न्युयोर्क काउन्टीमा आइपुगेको थियो । मूर्ति न्युयोर्कस्थित कलेक्टर रोबर्ट ह्याटफिल्ड एल्सवर्थले किनेका थिए । यसैवर्ष २०२५ मा डिस्ट्रिक्ट एटोर्नीको पुरातात्विक वस्तुहरूको बेचबिखन एकाइले लिएको हो ।

भारतीय मूलका सुवास कपुरको तस्करी सञ्जालबाट बरामद गरिएको पुरातात्विक सम्पदा नेपालबाट ल्याइएको पुष्टि भएपछि फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको डिस्ट्रिक एटोर्नी (जिल्ला न्यायधिवक्ता) अल्भिन एल ब्राग जुनियरले विभिन्न सञ्चारमाध्यमहरुलाई बताएका छन् । एक दशक अघिदेखि एटोर्नीको कार्यालयले दक्षिण र दक्षिणपूर्वी एसियाका धेरै देशहरूबाट कलाकृतिहरूको अवैध लुटपाट, निर्यात र बिक्रीको आरोपमा कपुर र उनको सञ्जालमाथि अनुसन्धान गर्दै आएको समेत खुलाएको छ ।

एटोर्नी कार्यालयले सन् २०१२ मा कपुरका लागि पक्राउ वारेन्ट गरेको थियो । भारतमा उनको मुद्दा विचाराधीन रहेको जनाएको छ । ‘नेपाली जनता दशकौंदेखि यी बहुमूल्य पुरातात्विक वस्तुको फिर्तीका लागि संघर्ष गरेका छन् । हाम्रो दीर्घकालीन अनुसन्धानले यी वस्तु फिर्ता गर्न सफल भएकोमा खुसी छु,’ब्रागले विज्ञप्तिमा भनेका छन्, ‘तस्करी सञ्जाल व्यापक छन्, तर उनीहरूलाई कारबाही गर्दै भइसकेको नोक्सानीलाई पूर्ववत गर्न हाम्रो काम जारी रहनेछ ।’ ब्रागको कार्यकालमा उनको टोलीले २९ देशहरुबाट २ सय ५० मिलियन डलरभन्दा बढीको चोरी भएका २ हजार २ सय ७५ भन्दा बढी पुरातात्विक वस्तुहरू बरामद गरेको विज्ञप्तिमा खुलाइएको छ ।
 

प्रकाशित : २८ फागुन २०८१, बुधबार 15:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved