१७ वैशाख २०८२, बुधबार 30 Apr 2025, Wednesday

कोशी प्रदेशका २३ सय संस्थाका ६१ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

द नेप्लिज संवाददाता
१६ वैशाख २०८२, मङ्गलबार

Advertisement

विराटनगर– कोशी प्रदेशस्थित दुई हजार ३७३ संस्था सामाजि सुरक्षा कोषमा आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोष विराटनगरका अनुसार यस प्रदेशका हालसम्ममा ६१ हजार २५३ जना श्रमिक तथा कामदार कोषमा आबद्ध भएका हुन् । 

सामाजिक सुरक्षा कोष विराटनगरका प्रमुख दिपकराज भट्टले मोरङका सबै स्थानीय तहमा कार्यरत करार सेवाका कर्मचारीहरु पनि कोषमा आबद्ध भएको जानकारी दिएका छन् । कोषमा आबद्ध श्रमिक र उनका परिवाजनलाई उपचार सेवा प्रदान गर्न यस प्रदेशका २५ वटा अस्पतालहरुसँग सम्झौता गरेर कार्यान्वयन गरिएको उनले बताएका हुन् । उनले कोषमा आबद्ध व्यक्तिको मृत्यु भएका कारण २३ जना मृतकका परिवारले पेन्सन प्राप्त गरिरहेको बताए । 

उनले देशभरिमा २० हजार ४३२ रोजगारदाता र त्यसमा कार्यरत २१ लाख ८४ हजार ४६६ जना श्रमिक कोषमा आबद्ध भएको बताएका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २०७६ सालदेखि रकम संकलन सुरु गरेर हालसम्ममा ७९ अर्ब ९ करोड रुपैयाँ संकलन गर्नुका साथै १४ अर्ब २३ करोड भुक्तानीसमेत गरिसकेको छ । 

सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने संस्थानमा घट्ना, दुर्घटना भएको अवस्थामा ठूलो रकम क्षतिपुर्ति तिर्नुपर्ने कानुनी व्यवस्था रहेकोले रोजगारदाताहरुलाई कोषमा आबद्ध नहुँदा ठूलो आर्थिक भार पर्ने अवस्था रहेको प्रमुख भट्टले बताए । उनले यहाँका रोजगारदाता र श्रमिक दुबै कोषमा आबद्ध हुन झन्झटिलो मानिरहेको र सरकारले निर्धारण गरेको श्रमिकहरुका लागि न्यूनतम पारिश्रमिकसमेत प्रभावकारी कार्यान्व्यन हुन नसकिरहेको सुनाए । 

सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु भनेकै न्यूनतम पारिश्रमिक लागू भएको स्वतः बुझिने गरेको उनले बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको तलब स्केलको ११ प्रतिशतमा रोजगारदाताले थप २० प्रतिशत गरी ३१ प्रतिशत कोषमा मासिक जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसपछि श्रमिकले उपचार, दुर्घटना हुँदाको उपचार तथा मृत्यु भएपछि परिवारजनले उपदान तथा पेन्सनका साथै श्रणसमेत प्राप्त गर्ने सुबिधा रहेको उनले सुनाए ।  

प्रकाशित : १६ वैशाख २०८२, मङ्गलबार 22:57
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved