४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

मानवीय संकट गहिरिँदै

इजरायली हवाई आक्रमणमा गाजामा पत्रकारको मृत्यु

द नेप्लिज संवाददाता
२५ चैत २०८१, सोमबार

Advertisement

गाजा सिटी (एजेन्सीहरु) — इजरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै सञ्चारकर्मीहरू बसेको टेन्टमा हवाई आक्रमण गर्दा कम्तीमा दुई पत्रकारको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । 

मृतकमध्ये पहिचान खुलेका यूसुफ अल–फकावीे ’प्यालेस्टाइन टुडे’ समाचार वेबसाइटका पत्रकार थिए । घाइतेहरूमध्ये छ जना पत्रकार रहेको बताइएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले उक्त आक्रमण हमासका एक लडाकुलाई लक्षित गरिएको दाबी गरेको छ । तर थप विवरण दिएको छैन ।

यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल–बलाहका पाँच वटा बस्तीकालाई तत्काल खाली गर्न आदेश दिएको थियो । त्यसक्रममा गरिएको आक्रमणमा ५० भन्दा बढीले ज्यान गुमाएका थिए । पश्चिमी किनारमा इजरायली सुरक्षाकर्मीले एक प्यालेस्टिनी–अमेरिकी किशोरलाई गोली हानी हत्या गरेका छन् । इजरायली सेनाको दाबी अनुसार उक्त किशोरले सवारी साधनतर्फ ढुंगा प्रहार गरिरहेको थियो । यस घटनामा अन्य दुई जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा हालसम्म कम्तीमा ५० हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन् ।

यो युद्धको सुरुवात २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणबाट भएको थियो । उक्त आक्रमणमा इजरायलमा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २ सय ५१ जनालाई बन्धक बनाइएको थियो। इजरायली सेनाले गाजाको भूभागको ५०% भन्दा बढी भागमा नियन्त्रण कायम गरेको छ जसका कारण हजारौं प्यालेस्टिनीहरू विस्थापित छन् । अन्तर्राष्ट्रिय समुदायले यस क्षेत्रमा जारी हिंसात्मक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयम अपनाउन आह्वान गरिरहेको छ ।

अर्कोतिर हजारौं मोरक्कोली नागरिकहरू राजधानी रबातमा भेला भइ गाजामा जारी इजरायली आक्रमणको विरोधमा शक्तिशाली प्रदर्शन गरेका छन् । संसद भवन नजिकै आयोजित विरोधसभामा प्रदर्शनकारीहरूले प्यालेस्टिनी झन्डा फहराउँदै ‘गाजाको हत्या रोकिनुपर्छ’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनकारीहरूले मोरक्को सरकारलाई इजरायलसँग सबै राजनीतिक, कूटनीतिक र आर्थिक सम्बन्ध पूर्ण रूपमा तोड्न माग गरेका छन् । उनीहरूले गाजामाथिको नाकाबन्दी अन्त्य गर्न र प्यालेस्टिनी जनतालाई तत्काल मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गरे ।

प्रदर्शन मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एन्ड अगेन्स्ट नर्मलाइजेसनले देशका दर्जनौँ मानव अधिकार समूहहरूसँग मिलेर आयोजना गरेको हो । सहभागीहरूमा सर्वसाधारण, नागरिक अगुवा, मानव अधिकारकर्मी र विद्यार्थीहरू उल्लेख्य थिए ।

इजरायली सरकारले मार्च २ देखि गाजामा सबै प्रकारका मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गाजाका २३ लाख जनसंख्या चरम भोकमरी र औषधिको अभावको सामना गरिरहेका छन् । गाजा सहर, डेइर अल–बलाह र खान युनिस लगायत क्षेत्रहरूमा खाद्यान्न, पानी र इन्धन अभाव गम्भीर संकटमा परिणत भएको छ ।

इजरायली आक्रमणमा पछिल्लो एक महिनामा मात्र १ हजार ३ सय ३५ प्यालेस्टिनीले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ९७ भन्दा बढी घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालहरूमा औषधि अभावका कारण सामान्य उपचार पनि असम्भवजस्तै बनेको छ । संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले इजरायललाई मानवीय सहायता अवरुद्ध नगर्न आग्रह गरेका छन् । हालसम्म सहायताका मार्गहरू सीमित रूपमा मात्र खुलाइएका छन् ।
 

प्रकाशित : २५ चैत २०८१, सोमबार 14:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved