४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

म्यानमारमा शक्तिशाली भूकम्प, १४० भन्दा बढीको मृत्यु

द नेप्लिज संवाददाता
१६ चैत २०८१, शनिबार

Advertisement

बैंकक (रोयटर्स) – शक्तिशाली भूकम्पमा शुक्रबार म्यानमारमा १ सय ४० भन्दा बढीको मृत्यु भएको छ । भूकम्पले ठूलो क्षेत्र प्रभावित पार्दै भवनहरू भत्काएको छ ।

यसमा छिमेकी थाइल्यान्डमा निर्माणाधीन एक गगनचुम्बी भवनसमेत समेटिएको छ । बैंककका एक अधिकारीका अनुसार भूकम्पका कारण थाइल्याण्डमा पनि कम्तीमा ९ जनाको मृत्यु भएको छ । एक गगनचुम्बी भवन भत्कँदा उद्धारकर्मीहरू भग्नावशेषमा खोजी कार्य गरिरहेका छन्।

यो विनाश मुख्यतः म्यानमारको दोस्रो ठूलो सहर मण्डलेमा देखिएको छ जुन ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु नजिकै छ । शुक्रबार दिउँसो गएको भूकम्प पछि शक्तिशाली परकम्प र मध्यम प्रकृतिका थप झट्काहरू महसुस गरिएका थिए ।
अमरापुरामा रहेका एक उद्धारकर्मीका अनुसार बहु–तले अपार्टमेन्ट भवनहरू भत्किँदा कम्तीमा ३० शव निकालिएको छ । ‘मैले यस्तो कहिल्यै अनुभव गरेको थिइनँ, हाम्रो सहर पूर्ण रूपमा ध्वस्त भएको छ,’उनले भने । उनका अनुसार करिब पाँच मध्ये एक भवन ध्वस्त भएको छ ।

‘हामीलाई भग्नावशेषभित्र फसेकाहरूबाट सहयोगको अपिल आइरहेको छ तर हामीसँग पर्याप्त जनशक्ति र उपकरण छैनन् । तर हामी उद्धार कार्य रोक्ने छैनौं,’उनले थपे । म्यानमारको सैनिक शासक मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्ने चेतावनी दिँदै विश्व समुदायलाई राहत र सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै म्यानमारका अधिकारीहरूसँग कुरा गरेको र अमेरिका राहत सहयोग उपलब्ध गराउने बताएका छन् । ‘हामी मद्दत गर्दैछौं,’उनले पत्रकारहरूलाई भने ।
संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) का विज्ञहरू आवश्यक राहत सामग्रीसहित उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ताले बताइन् । ‘हामी तुरुन्तै अघि बढ्न तयार छौं,’ उनले भनिन्।

म्यानमारमा भयावह अवस्था

मण्डले सहर जसको जनसंख्या करिब १५ लाख छ, यो म्यानमारको प्राचीन राजधानी र बौद्ध धर्मको केन्द्र हो । उद्धार टोलीहरूले भग्नावशेषमा फसेका भिक्षुहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् । राज्य सञ्चालित एमआरटीभीका का अनुसार कम्तीमा १४४ जनाको मृत्यु भएको छ भने ७ सय ३२ जना घाइते भएका छन् । जुन्ता (सैनिक) सरकार विद्रोही समूहहरूसँग लडिरहेको हुँदा उद्धार कार्यमा थप कठिनाइ हुने देखिन्छ ।

‘हामी सबै घरबाहिर दौडियौँ जब जमिन हल्लिन थाल्यो,’ एक स्थानीयले भने । ‘मैले आफ्नै आँखाले पाँच–तले भवन ढलिरहेको देखेँ । सहरभरि मानिसहरू खुला ठाउँमा छन् । कोही पनि घरभित्र जान डराइरहेका छन् ।’ राजधानी नेपिडो नजिकै पाइन्मानामा रहेको मो सईदानार च्यारिटीका उद्धारकर्ताहरूका अनुसार ६० भन्दा बढी शव निकालिएको छ तर अझै धेरै मानिस भग्नावशेषमा फसेका छन् ।

नेपिडोको एक हजार बेडको अस्पतालमा क्षति पुगेको छ भने सडकहरू चिरा परेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन भइरहेको बताएका छन् । विपक्षी राष्ट्रिय एकता सरकार एनयुजीकी कूटनीतिक प्रवक्ता जिन मार आङले सेनाविरोधी जनताका रक्षा बल (पीडी) का सदस्यहरू उद्धार कार्यमा संलग्न भइरहेको बताएका छन् । 

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार यस भूकम्पले हजारौं मृत्यु हुन सक्ने र सागैङ तथा मेइक्तिला क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको हुन सक्छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार पाँच सहरमा भवनहरू भत्किएका छन् । साथै रेलवे पुल र याङ्गुन–मण्डले राजमार्गमा सडक पुलसमेत ढलेका छन् । तस्बिरहरूमा इरावदी नदीमाथिको आवा पुल पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ ।

मण्डलेका एक स्थानीयका अनुसार सहरभरि नै विनाश फैलिएको छ । एउटा टोल सैन पानमा आगलागी भइरहेको छ । विद्युत् आपूर्ति बन्द छ । सडकहरू अवरुद्ध छन् । फोन सम्पर्क विच्छेद भएको छ । टौंगूमा एउटा मस्जिद आंशिक रूपमा भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

शान राज्यको आङ बानमा रहेको एउटा होटल पूर्ण रूपमा भत्किएको छ । २० जना भग्नावशेषमा फसेका छन् । दुई जनाको मृत्यु भइसकेको डेमोक्रेटिक भ्वाइस अफ बर्माले जनाएको छ । एम्नेस्टी इन्टरनेशनलका अनुसार यो भूकम्प म्यानमारका लागि सबैभन्दा खराब समय लिएर आएको छ । तीस लाखभन्दा बढी विस्थापित भइसकेका छन् । खाद्य असुरक्षा व्यापक छ । अमेरिकी प्रशासनले सहायता कटौती गरेको छ ।

‘सबथोक पूर्ण रुपमा ध्वस्त भएकाल म्यानमारका नागरिक समाज यो विपत्तिको सामना गर्न सरकार असक्षम छ,’ बेलायतको ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक नाई नाई क्याउले भने । भूकम्प गइरहँदा बैंककमा होटलका पाहुनाहरू नुहाउने लुगा र पौडी खेल्ने कपडामै बाहिर निस्कन बाध्य भए जब एक लक्जरी होटलको छतमा रहेको पौडी पोखरीबाट पानी सडकमा पोखियो । थाई राजधानी बैंककमा एक भवन ढल्दा १७ जनाको देख्दादेख्दै पुरिएर मृत्यु छ । ‘त्यो भवनमा सयभन्दा बढी अझै बेपत्ता छन्,’ बैंककका उपराज्यपाल टाभिडा कामोलभेजले भने । यस्ता थुप्रै भयावह र हताहतीका घटनाहरु सार्वजनिक भइरहेका छन् । 

प्रकाशित : १६ चैत २०८१, शनिबार 06:19
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved