विराटनगर — सप्तरीको राजगढ गाउँपालिका–४ जमुवा टोलमा एक दलित मुसहर परिवारको घर वडाध्यक्षको निर्देशनमा डोजर लगाएर जबर्जस्ती भत्काइएको छ । सामुदायिक भवन निर्माणको नाममा स्थानीय जनप्रतिनिधिले अवैधानिक रूपमा घर भत्काएको भन्दै पीडितले न्याय मागेका छनु ।
पीडित रञ्जनकुमारी सदाका अनुसार चैत २६ मा वडाध्यक्ष अशोककुमार साहको निर्देशनमा उनीहरूको घर डोजर लगाएर भत्काइएको थियो । उनका पति र ससुरा वैदेशिक रोजगारीका लागि भारतको पञ्जाब गएका चार दिन नपुग्दै घर भत्काइएको उनले बताइन् ।
‘मेरो पति र ससुरा चैत २२ मा पञ्जाब जानुभयो । त्यसको चार दिनपछि वडाध्यक्षले आफ्ना मान्छे पठाएर डोजर चलाए । अहिले म चार जना नाबालक छोरासहित छिमेकीको घरमा बस्दैछु,’ रञ्जनकुमारीले दुखेसो पोख्दै भनिन् ।
सार्वजनिक पोखरीको डिलनजिकै रहेको उक्त घरमा तीन पुस्तादेखि बस्दै आएका थिए । उनले चैत २९ मा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दहालसमक्ष निवेदन दिएकी छन् । प्रजिअले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई घटनाको छानबिन गरी आवश्यक सहजीकरण गर्न आदेश दिएका छन् ।
वडाध्यक्ष अशोककुमार साहले भने सामुदायिक भवन निर्माणका लागि स्थानीयको सहमतिमा घर भत्काइएको दाबी गरेका छन् । उनका अनुसार उक्त स्थान सार्वजनिक जग्गा भएको र वैकल्पिक रूपमा आवास निर्माणका लागि पहल गरिने बताए ।
सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले भने, ‘वडाबाट सामुदायिक भवन निर्माणको प्रक्रिया सुरु भएको, सार्वजनिक जग्गा भएको दाबी गरिएको छ । पीडित परिवारलाई अन्यत्र वैकल्पिक व्यवस्था गरिने भनिएको छ ।’
राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले प्रदेश सरकारबाट सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैयाँ बजेट आएको पुष्टि गरे । उनका अनुसार वडा कार्यालय जग्गा खोजीको प्रक्रिया अघि बढाइरहेको थियो ।
सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सिमान्तकृत समुदायको जबर्जस्ती विस्थापनले संविधान प्रदत्त आवास अधिकारको उल्लंघन हुने कानुनविद्हरू बताउँछन् । नेपालको संविधानको धारा ३७ अनुसार प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरिएको छ । त्यसैगरी मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय सन्धिहरूमा पनि दलित समुदायमाथि हुने विभेदको अन्त्य र संरक्षणको व्यवस्था छ। स्थानीय तहबाट हुने यस प्रकारको एकतर्फी निर्णय र कार्यान्वयनले संवेदनशील समुदायको अधिकार हनन हुने देखिन्छ । हाल उक्त विषयको अनुसन्धान जिल्ला प्रहरी कार्यालयमार्फत अघि बढाइएको छ ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares