४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

यातायात कार्यालयमा मासिक ‘तीन करोड लेनदेन’

द नेप्लिज संवाददाता
२७ चैत २०८१, बुधबार

Advertisement

नेपालगन्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालयका दुई कर्मचारीसहित चार जनालाई बुधबार पक्राउ गरेको छ ।

नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा ’नक्कली सवारी चालक अनुमतिपत्र’ वितरणको नाममा करोडौंको लेनदेन गरेको सूचनाका आधारमा अख्तियारले कारबाही अघि बढाएको हो ।  पक्राउ पर्नेमा यातायात कार्यालयका कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका  सञ्चालक शरदकुमार गोराथोकी हुन् ।

अख्तियारलाई प्राप्त सूचना अनुसार यी कर्मचारीहरूले नक्कली ड्राइभिङ लाइसेन्स वितरण गर्दै मासिक ३ करोडभन्दा बढी रकम संकलन गर्ने गरेका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको टोलीले  विद्युतीय  उपकरण, तस्बिर र प्रमाणसहित बाँकेको  विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रदेश यातायात मन्त्रालयसम्मको सेटिङमा लुम्बिनीका विभिन्न यातायात कार्यालयहरूमा लाइसेन्सको व्यापार भइरहेको उजुरीको आधारमा आयोगले छानबिन सुरु गरेको थियो । यस घटनामा संलग्नहरुको बारेमा अनुसन्धान जारी राखिएको छ । अख्तियारले संकलन गरेका प्रमाणहरूका आधारमा छानबिन अघि नै लेनदेनका थप विवरण पत्ता लागेको उल्लेख गरेको छ ।
 

प्रकाशित : २७ चैत २०८१, बुधबार 23:37
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved