१० वैशाख २०८२, बुधबार 23 Apr 2025, Wednesday

नेकपाको ७७ वर्ष

आदर्शको क्षय, सत्ताको व्यापार र अन्धकारमय भविष्य

द नेप्लिज संवाददाता
९ वैशाख २०८२, मङ्गलबार

Advertisement

विराटनगर– २००६ को वैशाख १० मा श्यामबजार, कोलकाताको एक सानो कोठामा केही युवाहरूले नेपालको सामाजिक परिवर्तनको सपना देख्दै स्थापना गरेका थिए—नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ।
संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्वमा सुरु भएको यो आन्दोलनको उद्देश्य थियो—राजनीतिक चेतना, सामाजिक न्याय र समतामूलक समाज निर्माण । 

तर ७७ वर्षपछि आज जब हामी पछाडि फर्केर हेर्छौं, कम्युनिस्ट आन्दोलनको सपना छिन्नभिन्न भएको, आदर्श र विचारधाराको ह्रास भएको, सत्ताको नाममा पार्टीहरूको ध्रुवीकरण र अविश्वासको जालो मात्र बाँकी रहेको देखिन्छ । रुसी क्रान्तिको प्रभाव, भारतको स्वतन्त्रता र नेपालमा राणा शासनको अन्त्यको चाहनाले पुष्पलाललाई प्रेरित ग¥यो । उनको नेतृत्वमा सुरु भएको नेकपाले शुरूका दिनमा वर्ग संघर्ष र जनताका सवाल उठायो । तर सत्ता प्राप्तिसँगै यो आन्दोलन सैद्धान्तिकभन्दा बढी गुटीय प्रतिस्पर्धामा बदलिन थाल्यो ।

२०६२/०६३ को जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढलेपछि २०६५ मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । राजतन्त्रपछिको १७ वर्षमा बनेका १३ मध्ये ९ वटा सरकार एमाले र माओवादीको नेतृत्वमा बने । तर जनताले परिवर्तन अनुभूत गर्न सकेनन् । संविधानसभाबाट गणतन्त्र ल्याउनेहरू नै गणतान्त्रिक मूल्यविपरीतका आचरणमा सीमित छन् । प्राध्यापक कृष्ण खनालका अनुसार यो गणतन्त्र होइन, कुर्सीको खेल हो । परिवारवाद, भ्रष्टाचार र राजनीतिक साँठगाँठले यो शासन व्यवस्थालाई अलोकप्रिय बनाउँदै लगेको छ ।

विश्लेषक हरि रोकाका अनुसार कम्युनिस्ट नेताहरू कम्युनिस्ट विचारधारा पढ्दैनन्, बुझ्दैनन् । उनीहरू क्रान्तिको नाममा विदेश भ्रमण गर्छन्, तर त्यहाँको प्रगतिशील नीतिलाई आत्मसात गर्न सक्दैनन् । न उनीहरूले चीनको उत्पादन नीति बुझेका छन्, न भियतनामको समाजवाद नजिकबाट नियालेका छन् । केवल नाम मात्रको कम्युनिस्ट हुन् ।

स्थापनादेखि विभाजनसम्म : इतिहासको पुनरावलोकन
नेकपाको इतिहास छुट्टै सङ्ग्रहालय हो—जसमा मतभेद, फुट, निष्कासन, पुनर्गठन, फेरि फुट र फेरि मिलनको श्रृङ्खला छ । पुष्पलाललाई हटाएर मनमोहन, फेरि केशरजंग र अन्ततः तुलसीलालसम्म आइपुग्दा पार्टीका प्रत्येक मोडमा आदर्शभन्दा बढी नेतृत्वको लडाइँ प्रमुख रह्यो । २०१९ को तेस्रो महाधिवेशन पार्टीको विधिवत फुटको सुरुवात भयो जहाँदेखि नेपाली कम्युनिस्ट आन्दोलन कहिल्यै एकजुट हुन सकेन ।

नक्सलबारीदेखि झापा विद्रोहसम्म
भारतको नक्सलवादी आन्दोलनले झापामा विद्रोह गरायो । त्यो विद्रोहले केपी ओली, मोहनचन्द्र अधिकारी, सीपी मैनालीजस्ता नेताहरू जन्मायो । त्यसैको फलस्वरूप नेकपा (माले) र पछि एमाले जन्मिए । तर आन्दोलन संस्थागत हुनुको सट्टा नेताहरूको व्यक्तिकेन्द्रित सोच, राजनीतिक अवसरवाद र विचारधाराविहीन कार्यदिशाले आन्दोलन दिशा बिहीन बन्यो ।

वर्तमान र भविष्य : के बाँकी छ ?
आज ६० प्रतिशत जनमत पाउने वामपन्थीहरू जनताको विश्वास गुमाउँदै छन् । राजतन्त्र फाल्नेहरूले गणतन्त्र गुमाउने स्थिति बनाउँदै छन् । सत्ता, साइनो र स्वार्थकै वरिपरि घुम्ने कम्युनिस्ट नेताहरूले ‘क्रान्ति’लाई नाराको रूपमा मात्रै बोकिरहेका छन् । त्यसैले आज नेकपाको स्थापनाको दिनले प्रेरणा होइन, निराशा बाँडिरहेको छ ।

नयाँ सपनाको आवश्यकता
अब आवश्यक छ—नेतृत्व परिवर्तन होइन, सोचको परिवर्तन । वामपन्थी आन्दोलनले आफूभित्रै आत्मसमीक्षा गर्नुपर्छ । जनतालाई केन्द्रमा राख्ने, वैचारिक रूपमा स्पष्ट, निष्ठावान र पारदर्शी नेतृत्व निर्माण गर्न सकेन भने नेकपा केवल एउटा पुरानो किताबको अध्याय बन्नेछ जहाँ क्रान्तिको सपना थियो तर सत्ताको व्यापार भयो ।
 

प्रकाशित : ९ वैशाख २०८२, मङ्गलबार 19:30
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved