कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेर तयारी सुरु गरेको छ । कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गति प्रदान गर्दै पर्यटन क्षेत्रको प्रवर्द्धन गरी रोजगारी सृजनाका साथै मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यका साथ प्रदेश सरकारले पर्यटन वर्ष मनाउन लागेको हो ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ किन <
नेपालका सात प्रदेशहरूमध्ये एक सुन्दरतम समृद्ध प्रदेश हो । कोशी प्रदेश सरकारले पहिचान गरेका आर्थिक समृद्धिका विविध आधारहरूमध्ये पर्यटन एक महत्त्वपूर्ण बहुआयामिक सम्भावनायुक्त क्षेत्र हो ।
संसारका अगला हिमालमध्ये कञ्चनजङ्गा, मकालु, लोत्से, आमादब्लम, लुप्से र पुमोरी जस्ता हिम श्रृङ्खला यस प्रदेशका गहना हुन् । यी हिम श्रृङ्खलाहरूमा पर्वतारोहण पर्यटन र साहसिक पर्यटनको लागि यो प्रदेश विश्व प्रसिद्ध रहेको छ । यसका साथै यस प्रदेशमा सबैभन्दा होचो भूभाग कचनक्वलदेखि संसारको नै सबैभन्दा अग्लो हिमाल सगरमाथा यसै प्रदेशमा छ ।
प्रदेशमा भएका धार्मिक सम्पदाहरू पर्यटनका लागि अर्को महत्त्वपूर्ण क्षेत्र हो । हिन्दु र किरात समुदायको समागम पाथीभरा मुकुम्लुङ, संसारको नै पहिलो भगवान विष्णु अवतार वराह क्षेत्र, पौराणिक कुम्भ चतराधाम, पौराणिककालमा भगवान रामले बालेको रामधुनी, दन्तकाली, पिण्डेश्वर अनि हिन्दु र बौद्ध धर्मको समागम स्थल हलेसी महादेव, महाभारतकालिन राजा विराटको दरबार क्षेत्र यस प्रदेशको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् ।
१४ जिल्ला तथा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकाहरू गरी जम्मा १३७ स्थानीय तह विभाजन गरिएको सात प्रदेशहरूमध्ये एक सुन्दरतम समृद्ध प्रदेश कोशी हो । कोशी प्रदेशले २५,९०५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । हिमाल, पहाड, र तराई–मधेसको जनजीवनको समिश्रणले यस प्रदेशलाई सामाजिक र सांस्कृतिक विविधताले भरिपूर्ण बनाएको छ । उच्च हिमाली जलवायुदेखि महाभारत पर्वत शृंखलासम्मको भौगोलिक बनावट, वानस्पतिक विविधता तथा प्राकृतिक सौन्दर्य एवं विषमताका कारण प्राप्त प्रचुर जैविक विविधता यस प्रदेशको विशिष्टता हो ।
विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, सिमसार संरक्षणका लागि रामसार सूचीमा सूचिकृत गोक्यो ताल, माइपोखरी र कोशी टप्पु वन्यजन्तु आरक्षलगायत जैविक विविधताले भरिपूर्ण मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्र, तीनजुरे मिल्के जलजलेको लालिगुँरास क्षेत्रका साथै धार्मिक रुपमा प्रसिद्ध तिर्थस्थलहरु वराह क्षेत्र, हलेसी महादेव, पाथिभरा मन्दिर, गुरु फाल्गुनन्द जन्मस्थान, विराट दरवार, किचकबध, कन्याम, श्रीअन्तु जस्ता प्रसिद्ध गन्तव्यहरू यस प्रदेशमा पर्दछन् । यहाँ कोच र किराँत सभ्यताका अनुपम विशिष्टताहरु उपलब्ध छन् । सप्तकोशी नदीको वृहत जलाधार क्षेत्रले सिंगो कोशी सभ्यताको प्रतिनिधित्व गर्छ । नदीमा आधारित सभ्यताका लागि समेत कोशी नदि एक उत्कृष्ट गन्तव्य हो ।
ग्रामीण पर्यटनका लागि कोशी प्रदेशका विभिन्न स्थानहरू अत्यन्त उपयुक्त छन् । इलाम, श्रीअन्तु, कन्याम, करफोक, माइपोखरी, फालेलुङ, तिम्वुङ पोखरी क्षेत्र, रोङ, सलकपुर, पाँचथर, ताप्लेजुङका विभिन्न गाउँहरु, धनकुटा, भेडेटार, जेफाले, उदयपुर, खोटाङ, संखुवासभाको अरुण उपत्यका, मोरङको जेफाले, सिंहदेवीलगायत र भोजपुरको हलेसी महादेव धार्मिक स्थल ग्रामीण पर्यटनको उत्कृष्ट उदाहरण हुन् । वन्यजन्तुमैत्री खास गरेर हात्तीमैत्री पर्यटन बाहुनडाँगी जैविक विविधता र ग्रामीण पर्यटनको मोडल हुन् । कृषि पर्यटन र स्थानीय संस्कृतिको अनुभूत गर्ने अवसर ग्रामीण क्षेत्रमा प्रचुर मात्रामा छन् । ग्रामीण पर्यटनले स्थानीय रोजगारी सिर्जना र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँछ ।
कोशी प्रदेश जैविक विविधताको दृष्टिले पनि सम्पन्न छ । विश्वका महत्वपूर्ण सिमसारहरुको सूचीमा उल्लेखित रामसार सूचीमा कोशीटप्पु वन्यजन्तु आरक्ष अर्ना र विभिन्न जलपक्षीका लागि प्रख्यात छ । नेपालमा पाइने जम्मा ८९५ प्रजातिका चराहरुमध्ये ५३५ प्रजातिका चराहरु कोशीटप्पुमा हेर्न पाइन्छन् । विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज र नेपालकै होचो उपत्यकालाई समेटेको भूभागले हिमाली क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दछ ।
कंचनजङ्गा, तिम्वुङपोखरी, सन्दकपुर, माइपोखरी, सभापोखरी, ह्यातुङ झरना, अरुण उपत्याका, चुरे क्षेत्र आदिले दीगो पर्यापर्यटन र पर्यावरणीय सन्तुलनका साथै, दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउन सक्दछन् । यसका लागि पर्यटकमैत्री नीति कानुन, पर्यटकीय मैत्री व्यवहार लागयतका बिषयमा ध्यान दिन जरूरी रहेको छ । ट्राभल्स, ट्रेकिङ, होमस्टे, सवारी चालक,गाइड एवं भरियाहरूको प्रशिक्षण र संरक्षणसम्बन्धी सचेतना कार्यक्रमहरू आवश्यक छ ।
कोशी प्रदेशमा होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । विराटनगर, धरान, गाइघाट, काकरभिट्टा, धुलावारी, विर्तामोड, इलाम, श्रीअन्तु, कन्याम, वसन्तपुर, सल्लेरी, लुक्ला, नाम्चेवजार, हलेसी जस्ता सहर र गन्तव्यहरुमा सुविधायुक्त आधुनिक होटलहरू उपलब्ध छन् । यस प्रदेशका पहाडी तथा हिमाली जिल्लामा होमस्टेहरु लोकप्रिय बन्दै गएका छन् । जसमध्ये प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका होमस्टेको संख्या ६१ होटल ३२ र ट्राभल्स र ट्रेकिङ एजेन्सी १०३ छन् ।
साहसिक पर्यटनमा सगरमाथा आधार शिविर ट्रेक, मकालु वरुण ट्रेक, कंचनजङ्गा आधार शिविर, तिम्वुङ पोखरी ट्रेक, मुन्धुम ट्रेल, र्याफ्टिङ, प्यारग्लाइडिङ, माउन्टेन बाइक, साइकिलिङ, एवं सहासिक पर्यटनसँग सम्वन्धित खेलकुदले पर्यटकलाई आकर्षित गरिरहेका छन् । प्याराग्लाइडिङ र माउन्टेन बाइकका लागि नयाँ गन्तव्य र सम्भावनाहरूको पहिचान हुने क्रम विस्तार हुँदैछ ।
यो प्रदेशको सिमानामा रहेको भारतीय प्रान्तहरू बिहार, पश्चिम बंगाल र आसामका अत्यन्त गर्मी हुने ठाउँहरूका भारतीय नागरिकहरूलाई यस प्रदेशमा मौसमी अनुकूलता, धार्मिक पर्यटन र मनोरम प्राकृतिक दृष्य हेर्नुका साथै मनोरञ्जनात्मक पर्यटनका लागि ल्याउन सकिने प्रयाप्त सम्भावना रहेको छ ।
यी विविधता र विशिष्टताको अनुपम पहिचानले यस प्रदेशको पर्यटनको विकास मार्फत रोजगारीको अवसर सिर्जना गरी आर्थिक सुधारमा उल्लेखनीय भूमिका खेल्न सक्छ । कोभिड १९ को महामारीले पर्यटन उद्योगमा गम्भीर असर पारिसकेको अवस्थामा, पर्यटन क्षेत्रलाई पुनः सक्रीय तुल्याउन र वर्तमान समयमा निराशाले घेरिएको समाज र विदेश पलायन हँुदै गरेको प्रदेशको युवा जनशक्तिलाई प्रदेशमै कायम राख्न तथा प्रदेशमा नै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न र पर्यटनमार्फत राष्ट्रिय पुँजीको महत्त्वपूर्ण आधार तयार गर्न कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट मार्फत कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अवधारणा र कार्यक्रम अघि सारेको छ ।
पर्यटन वर्षको तयारी
यसै गरी प्रदेश सरकारले २०८१ साल कार्तिक २१ गते मन्त्रिपरिषद्को निर्णय गरी कोशी प्रदेश पर्यटन वर्ष २०८१ सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ । सो कार्यविधि बमोजिम माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा अध्यक्षतामा एक मूल आयोजक समिति रहने छ भने पर्यटन, वन तथा वातावरण मन्त्रीज्यूको अध्यक्षतामा निर्देशन समिति रहने छ । यसैगरी सो कार्यक्रम सञ्चालनका लागि व्यवस्थापन समिति र सचिवालयको समेत व्यवस्था गरेको छ । यसको मूल आयोजक समितिमा ५७५ सदस्यीय एक वृहत समिति गठन भएको छ । जसले प्रदेशमा पर्यटनको सम्भावना र पर्यटनको प्रभावलाई अघि बढाउन समग्र प्रदेश सरकार स्थानीय सरकार निजी क्षेत्र सरोकारवाला सबैको सहभागिताको सुनिश्चितता गरेको छ । यसको निर्देशन समितिमा माननीय मुख्यमन्त्रीज्युबाट मनोनित २ जना निजी क्षेत्र तथा पर्यटन व्यवसाय क्षेत्रबाट प्रतिनिधित्व गर्ने सह संयोजकहरू रहनुभएको छ भने अन्य पर्यटनका विविध विधालाई समेटी निजी क्षेत्रबाट २ जना महिलासहित ७ जना गरी जम्मा १५ सदस्यीय निर्देशन समिति गठन गरिने छ । यस कार्यक्रमका लागि सम्पन्न गरिने क्रियाकलापहरू पहिचान तथा स्वीकृतीका लागि निर्देशन समितिलाई जिम्मेवारी दिएको छ ।
पर्यटन वर्ष २०८२ को उद्देश्य
कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले दिगो विकासको अवधारणा अनुरूप पर्यटनका माध्यमबाट प्राप्त गर्न सकिने रोजगारी, स्थानीय भाषा, कला, साहित्य, संस्कृति, कृषि उत्पादन साना तथा मझउला उद्यम, भौगोलिक र प्राकृतिक सौन्दर्य लगायत प्रदेशको विविधताले दिएको अवसर तथा सम्भावनालाई प्रदेशबासीको जीवनस्तर उकास्ने माध्यम बनाउँदै स्थानीय अर्थतन्त्रका साथै समग्र प्रदेश तथा राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्ने उद्देश्य राखिएको छ ।
सिमाना नाकाहरूबाट पर्यटक आगमनको अवस्था
कोशी प्रदेशका प्रमुख सिमाना नाकाहरूमा जोगवनी, काकरभिट्टा, र पशुपतिनगर, मनेभञ्जयाङ पर्छन्। यी नाकाहरू भारत र बङ्गलादेशका पर्यटकहरूको प्रवेशद्वार हुन् । यिनका अतिरिक्त अन्य सिमा नाकामा समेत पर्यटक आगमनलाई व्यवस्थित बनाउनका लागि स्वागत एवं सूचना कक्ष तथा रिफ्रेसमेन्ट सेन्टरहरुको निर्माण एवं स्तरोन्नतीलाई सरकारले प्राथामिकतामा राखी काम गर्नु आवश्यक छ । पर्यटक आगमनलाई थप सुरक्षित र भरपर्दाे बनाउनका लागि यातायातमा सहजता, मुद्रा सटही, नेपाली सिम कार्डको व्यवस्थापन, यातायात व्यवस्थापन, सूचना केन्द्रहरुको निर्माण आदि गर्न सके पर्यटक आगमन व्यवस्थित हुँदै जानेछ ।
पर्यटक प्रहरी र पर्यटक सुरक्षाको अवस्था
पर्यटक सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण छ । हालसम्म प्रहरी सेवाले आधारभूत सुरक्षा व्यवस्था प्रदान गरे पनि पर्यटक मैत्री सेवा र छिटो प्रतिक्रिया प्रणालीको अभाव देखिएको छ । प्रशिक्षित गाइड, स्वास्थ्यकर्मी र आपतकालीन सहायता सेवाहरूको उपलब्धता हुन सकेमा पर्यटक सुरक्षाको प्रत्याभुती पूर्ण रुपमा गर्न सकिन्छ । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालयको मातहतमा कोशी प्रदेशको काँकरभिट्टा, पशुपतिनगर र सोलुखम्बुमा पर्यटक प्रहरीको इकाइ कार्यरत छन् । तर भौतिक पूर्वाधार र साधन स्रोतको अभावका वावजुद सेवारत पर्यटक प्रहरीलाई अझ सुदृढ र सवल बनाउन आवश्यक छ । प्रादेशिक संरचना अन्तर्गत पर्यटक प्रहरीको परिचालन र व्यवस्थापन हुन सकेको खण्डमा पर्यटकहरुको सुरक्षा प्रत्याभुति बढउन सकिन्छ ।
पर्यटन सूचना केन्द्रहरूको अवस्था र भूमिका
प्रदेश सरकार स्थापना भएपश्चात कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा सूचना केन्द्रहरु स्थापना भइ सञ्चालनमा छन् । तथापि यिनमा भौतिक पूर्वाधार, जनशक्ति तथा सूचना प्रविधिको पर्याप्ताका अभाव रहेको छ । यी सूचना केन्द्रहरूलाई आधुनिक प्रविधिको प्रयोग गरेर पर्यटकलाई मार्गदर्शन गर्ने, गन्तव्यहरूको विस्तृत नक्शा, विवरण उपलब्ध गराउने, पर्यटकहरुको भावना, यस प्रदेश र गन्तव्य प्रतिको अनुभव प्राप्त गरी सोबाट सिकाइ हासिल गर्ने र सुधार गर्ने कार्यमा सूचना केन्द्रहरुलाई अधिकत्तम उपयोग गर्न सकिन्छ । केही स्थानीय तहबाट सञ्चालित सूचना केन्द्रहरुले आफ्ना कामलाई व्यवस्थित गरेको उदाहरण समेत छन् । सूर्योदय नगरपालिका अन्तरगत पशुपतिनगर र रोङ गाउँपालिका अन्तरगत जोरकलस सूचना केन्द्रले पर्यटकलाई सूचना प्रदानमा सहजीकरण गरिरहेका छन । पर्यटन कार्यालय, काकरभिट्टामा रहेको सूचना केन्द्रले पूर्वी नाकाबाट भित्रिने पर्यटकहरुलाई समेत सहजीकरण गरिरहेको छ । प्रदेश सरकारले यस बर्ष हलेसी, पाथिभरा र वराह क्षेत्रमा सूचना केन्द्र व्यवस्थापन गर्ने योजना बनाएको छ । पर्यटक आगमन र तथ्याङ्क संकलनमा सूचना केन्द्रको भूमिका महत्वपूर्ण हुनेछ ।
स्थानीय तहको भूमिका र प्रदेश सरकारसँगको सम्बन्ध
प्रत्येक पर्यटकीय गन्तब्यहरु कुनै न कुनै स्थानीय तहमा छन् । यी गन्तव्यहरुको पहिचान, विकास, प्रचार प्रसारमार्फत पर्यटन प्रवद्र्धनमा स्थानीय तहहरूको भूमिका निर्णायक छ । स्थानीय स्रोतहरुको उपभोग र परिचालनमा स्थानीय तहहरुले भूमिका निर्वाह गरिरहेका छन् । ग्रामीण पर्यटन प्रवद्र्धन, जैविक विविधताको संरक्षण र घरेलु उत्पादन, स्थानीय कृषि उपज, साना तथा मझौला उद्यमको प्रवद्र्धनमार्फत स्थानीय वस्तु तथा सेवालाई विविधीकरण गरी पर्यटक उपजका रुपमा प्रस्तुत गर्दै पर्यटनसँग जोड्नका लागि स्थानीय तहहरु उपयुक्त माध्यम तथा मञ्चका रुपमा स्थापित हुँदै गइरहेका छन् । स्थानीय तहहरुले स्थानीय सम्पदाको संरक्षण, साहसिक खेलकुद कार्यक्रमहरूको आयोजना र सांस्कृतिक महोत्सवहरूको प्रवद्र्धनमा योगदान पुर्याइरहेका छन् । संघ र स्थानीय तहहरूको प्रदेश सरकारसँगको सहकार्यले पर्यटन योजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन मद्दत गरिरहेको छ । प्रदेश सरकारका प्राथामिकता र छनौट गरेका आयोजनाहरुको सञ्चालन र अपेक्षित परिणाम प्राप्तिमा स्थानीय तहहरुको भूमिका प्रभावकारी रहेको छ । तसर्थ दिगो पर्यटन प्रवद्र्धन मार्फत विभिन्न तहका सरकारहरुले लिएको समग्र राष्ट्रीय समृद्धिको लक्ष्य प्राप्तिमा प्रदेश सरकार र स्थानीय तहबिचको सहकार्य र सहअस्तित्व अपरिहार्य छ ।
मुख्य हस्तक्षेपकारी कार्यक्रमहरू
पर्यटन वर्ष २०८२ को अपेक्षित उपलब्धी
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को घोषणा प्रदेशकै समृद्धि र दिगो विकासका लागि एउटा दूरदर्शी प्रयास हो । तीनै तहका सरकार, नीजि क्षेत्र तथा सम्वद्ध सरोकारवालाहरु लगायत पर्यटनका सबै क्षेत्रलाई एकीकृत गरी पर्यटन मार्फत समग्र अर्थतन्त्रमा सुधार र प्रदेशवासी नागरिकहरुको समृद्धिमा टेवा पुर्याउने लक्ष्यसहितको यो अभियान प्रदेशका लागि दीर्घकालीन परिवर्तनको वाहक बन्नेछ । -लेखक पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश सचिव हुन् ।_
विचार/अन्तर्वार्ता
५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदै
देव नारायण साहट्रम्प कर युद्धको छायाँमा नेपाल : विश्व व्यापारिक अस्थिरता र साना अर्थतन्त्रका चुनौतीहरू
जितेन्द्र साहदेशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहपूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares