विराटनगर — चार महिना अघि यौन दुर्व्यवहारमा परेकी सिरहाकी दलित विवाहित महिला मंगलबार आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय दिउँसो झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
दुई वर्षीया छोरीकी आमा आनन्दी गाउँकै दुई युवकबाट यौन दुर्व्यवहारमा परेकी थिइन् । लामो समयसम्म प्रहरीले उजुरी लिन मानेको थिएन भने उजुरी दर्ता भएपछि केही व्यक्तिले मिलापत्र गर्न दबाब दिँदै आएका थिए । श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनी छोरीसहित माइतीमै बस्दै आएकी थिइन् ।
आनन्दी गत पुस ९ कम बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न गएकी थिइन् । गाउँमै रहेको पोखरी हुँदै हिँड्दै गर्दा स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालेका थिए । पीडित परिवारका अनुसार ती युवाहरूले आनन्दीलाई शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । अस्वीकार गरेपछि उनले प्रतिकार गर्दा जबर्जस्ती दुई हात समातेर छेउको आँपको बगैंचातर्फ लगेका थिए ।
बगैंचामै रहेको परालको थुप्रोमा लडाएर कपडा च्यात्दै जबर्जस्ती करणी गर्न खोजिएको आनन्दीकी आमा बिल्टौनदेवी सदायले बताइन् । छोरी उम्किएर रुँदै घर फर्किएपछि उनीहरू इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिन गएका थिए । तर प्रहरीले उजुरी लिन अस्वीकार गरेको बताइएको छ ।
पीडित पक्षले ‘मिडियामा जाने’ चेतावनी दिएपछि मात्र साढे दुई महिनापछि, फागुन २५ मा जबर्जस्ती करणी उद्योग अन्तर्गत उजुरी दर्ता भएको थियो । त्यसपछि पनि पीडकको पक्षबाट गाउँमै मिलापत्र गराउने प्रयास भएको थियो । आमाका अनुसार गाउँकै नरेन्द्र यादवसहित केही व्यक्तिले रकम लिएर मिल्न दबाब दिँदै नमाने उल्टै मुद्दा हाल्ने धम्की दिएका थिए । ‘उनीहरूले केही पैसा लिएर मिलिहाल भन्थे, हामीले नमाने उल्टै मुद्दा हाल्ने भन्थे,’ उनले भनिन् ।
फागुन २६ मा सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि आरोपितहरू अझै पक्राउ परेका छैनन् । महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीले पक्राउ प्रयास भएको तर आरोपितहरू घरमा नपाइएको दाबी गरेका छन् । ‘जाहेरी आएपछि आरोपितहरूले फसाइएको दाबी गरेकाले अनुसन्धान गर्दा केही समय लागेको हो,’ उनले भने ।
मृतककी आमाले पीडकहरू गाउँमै खुलेआम घुमिरहे पनि प्रहरीले पक्राउ नगरेको आरोप लगाएकी छन् । ‘हामी न्याय माग्न गयौं, तर प्रहरीले हामीलाई वास्तै गरेन,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै हामीलाई अपमानित बनाइन्थ्यो ।’
नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय प्रवक्ता सुनील सदाले प्रहरीको भूमिका राजनीतिक प्रभावमा रहेको भन्दै छानबिनको माग गरेका छन् । ‘पीडितलाई अल्झाएर निराश बनाइयो, जसले उनको मृत्यु निम्त्यायो,’ उनले भने ।
अधिवक्ता रामसुफल सदायले इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन् । ‘महिनौं न्यायका लागि ढोका ढकढक्याउँदा पनि कानुनी कारबाही नहुनु पीडितमाथिको दोहोरो पीडन हो,’ उनले भने।
शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको बेला आनन्दी छानोमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले जानकारी दिएका छन् । गृहमन्त्री रमेश लेखकले घटनाबारे चासो राख्दै छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका छन् ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares