६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

किन आक्रोशित छन् इजरायली ?

द नेप्लिज संवाददाता
१० चैत २०८१, आइतबार

Advertisement

विराटनगर– इजरायलको राजधानी तेल अविभस्थित हबिमा स्क्वायरमा शनिबार राति दशौं हजार नागरिकहरू सरकारविरुद्ध प्रदर्शन गर्न भेला भए । उनीहरूले मोबाइलको टर्च बालेर शान्तिपूर्ण विरोध जनाए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको नेतृत्वमाथि प्रश्न उठाउँदै सरकारविरोधी नाराबाजी गरे ।

यो विरोध प्रदर्शन इजरायलको गाजामा जारी सैन्य आक्रमणको विरोधमा गरिएको हो । ’टाइम्स अफ इजरायल’ का अनुसार, प्रधानमन्त्री नेतन्याहूको आदेशमा सेनाले गाजामा व्यापक आक्रमण जारी राखेपछि नागरिकहरू आक्रोशित बनेका हुन् ।

केवल तेल अविभ मात्र होइन, जेरूसलेम लगायत प्रमुख सहरहरूमा पनि व्यापक प्रदर्शनहरू भए । शनिबार मात्र इजरायलभर १ लाखभन्दा बढी नागरिकहरू सडकमा उत्रिएको रिपोर्टहरूमा उल्लेख छ । इजरायलीहरूको असन्तोषको मूल कारण गाजामा हमासले नियन्त्रणमा लिएका बन्धकहरूको अवस्था हो ।

अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दै १ हजार २ सय जनाको हत्या गरेको थियो । २ सय ४९ जनालाई बन्धक बनाएको थियो । हमासको कब्जामा रहेका आफ्ना नागरिकहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्नुभन्दा नेतन्याहू नेतृत्वको सरकारले निरन्तर सैन्य आक्रमण गरिरहेको भन्दै जनता आक्रोशित छन् । 

यसअघि युद्धविरामको क्रममा हमासले १ सय ५ बन्धकलाई रिहा गरेको थियो । तर पछिल्लो समय मध्यस्थकर्ताहरूले युद्धविरामको दोस्रो चरण सुरु गर्न नसक्दा तनाव झन् बढेको छ । गाजामा अझै ५९ जना इजरायली बन्धक छन् ।

गृहयुद्धको चेतावनी ?

विरोध प्रदर्शनका क्रममा इजरायली नेताहरूले नेतन्याहूलाई देशलाई गृहयुद्धतर्फ धकेल्न खोजेको आरोप लगाए । हबिमा स्क्वायरमा प्रदर्शनकारीहरूले ’उनीहरूलाई घर ल्याऊ’ भन्ने नारा लेखिएको डिजिटल स्क्रिन प्रदर्शन गरेका थिए ।
पूर्वप्रधानमन्त्री यायर लापिड र नेताविरोधी गठबन्धनका नेता यायर गोलानले हजारौंको भिडलाई सम्बोधन गरे । लापिडले भने, ‘प्रधानमन्त्री नेतन्याहू इजरायललाई गृहयुद्धतर्फ धकेल्दैछन् ।’ विपक्षी वामपन्थी दल र डेमोक्रेटिक समूहका झन्डा पनि प्रदर्शनस्थलमा फहराइएका थिए । 

सरकारविरुद्ध थप दबाब

प्रधानमन्त्री नेतन्याहूले गुप्तचर संस्था शिनबेटका प्रमुख रोनेन बार र महान्यायाधीवक्ता गाली बहाराव मियारालाई पदबाट हटाएपछि असन्तोष झन् चर्किएको छ । यस घटनाले नेतन्याहूको नेतृत्वप्रति इजरायली नागरिकहरूको अविश्वास थप गहिरिएको देखिन्छ । यसरी निरन्तर बढ्दै गएको जनआक्रोशले इजरायली सरकारलाई दबाबमा पारिरहेको छ । नेतन्याहू सरकारले बन्धक समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न नसके आन्तरिक अस्थिरता झन् चर्किन सक्ने आकलन गरिएको छ ।
 

प्रकाशित : १० चैत २०८१, आइतबार 17:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved