विराटनगर– विराटनगर महानगरपालिकाले उद्योग संगठन मोरङसँगको सहकार्यमा बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्न ‘विराट सीप विकास केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
महानगर प्रमुख नागेश कोइरालाले आइतबार केन्द्रको उद्घाटन गर्दै शुभारम्भ गरेका छन् । तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबस्को स्कुलमा ५ वटा कोठा भाडामा लिएर केन्द्रले तालिम सञ्चालन गर्ने सम्झौता गरेको हो ।
विभिन्न व्यावसायिक फर्म र सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । महानगरले कार्यविधि नै बनाएर केन्द्रमार्फत बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्ने व्यवस्था गरेको छ । महानगरले उद्योग संगठन मोरङका कार्यकारी सदस्य सुरेन्द्र गोल्छालाई केन्द्रको संयोजक तोकेको छ ।
तालिम सञ्चालनका लागि महानगरले विभिन्न संस्थालाई बजेट विनियोजन गर्ने गरेको थियो । यसरी संस्थाहरूमार्फत तालिम सञ्चालन गर्दा प्रभावकारी नभएको भन्दै महानगरवासीले नै गुनासो गर्दै आएका थिए । ती संस्थाहरूले उद्घोषण कलादेखि जुत्ताचप्पल बनाउने, अचार बनाउने, सिलाई बनाइलगायतका तालिम सञ्चालन गर्दै आएको थियो । अब महानगरले एकद्वार प्रणालीमार्फत बजारको मागअनुसारको तालिम सञ्चालन गर्ने कोइरालाले बताएका छन् ।
सीप विकास केन्द्रलाई देशभरकै उत्कृष्ट नमुना बनाएर उदाहरण प्रस्तुत गर्ने उनको भनाइ थियो । कोइरालाले सीप सिकेर आफैं स्वरोजगारसमेत बन्न सकिने धारणा राखेका हुन् । ‘सीप सिकेर जागिर नै खानुपर्छ भन्ने छैन,’ उनले भने, ‘आफ्नै व्यवसाय गरेर स्वरोजगार पनि हुन सकिन्छ । त्यसका लागि महानगरले पूँजीको समेत व्यवस्थापन गर्छ ।’
कसैसित सीप छ तर लगानी गर्ने पूँजी छैन भने त्यस्तो व्यक्तिका लागि महानगरले पूँजीको व्यवस्थापन गर्ने उनको भनाइ थियो ।
उपमेयर शिल्पा निराला कार्कीले रोजगारीको खोजीमा रहेका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच महानगरले पुलको काम गर्ने बताइन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सीपलाई व्यापारीकरणसमेत गर्नुपर्नेमा जोड दिएका हुन् । सीप सिकेर मात्रै नहुने बताउँदै सीपलाई व्यवहारमा उतार्नु जरुरी रहेको उनको भनाइ थियो ।
सीप विकास केन्द्र शुभारम्भसँगै निःशुल्क माला र पोते बनाउने तालिम सुरु भएको छ । तालिममा सहभागीहरूलाई मेयर कोइरालाले एप्रोन प्रदान गरे । १५ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक मालती उपाध्यायले सहजीकरण गर्नेछिन् । तालिममा २० जना महिला सहभागी छन् । अब ई–रिक्सा मर्मत, बिल्डिङ इलेक्ट्रानिक्स, प्लबिङसहितका बजारको मागअनुसार अन्य तालिम पनि सञ्चालन गरिने केन्द्रका संयोजक गोल्छाले बताए ।
स्थानीय सरकार
आगलागी नियन्त्रणका लागि महानगरलाई रोटरीको सहयोग
द नेप्लिज संवाददाताढल निकासको पाइप फुट्दा सडक जलमग्न, वर्षाले थप समस्या
द नेप्लिज संवाददाताभौगोलिक सूचना प्रणालीसम्बन्धी तालिम सुरु
द नेप्लिज संवाददातामहानगरको सहयोगमा गैससद्वारा प्रस्ताव लेखन तालिम !
द नेप्लिज संवाददातारेणु दाहालसँगको भनाभनदेखि राजनीतिक संकेतसम्म
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares