४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

स्वदेशमै प्राकृतिक ग्यास उत्पादन सम्भव छ

जितेन्द्र साह
२० फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– आममान्छेलाई दिनभरिका कुन समाचारले बढी छुन्छ भन्ने ठम्याउन कठिन हुन्छ । द नेप्लिज डटकमको कार्यालयमा मंगलबार मोरङका नागरिकले समेत सबैभन्दा बढी ललितपुरको ललितपुर महालक्ष्मी नगरपालिका–५ शान्तिटोलमा स्थानीय खानेपानी आयोजनाका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वालाको बारेमा जिज्ञासा राखे । हरेक पल्ट यो खाले घटना हुँदा भुइँमान्छेमा आफ्नो देशको जमिनमुनि ग्यासको खानी छ कि भन्ने आशा जागेर आउँछ । यो स्वभाविक र सकारात्मक सोच पनि हो । म जस्तो सामान्य मान्छेले ‘आहा, यस्तो ग्यास सिलिण्डरमा भरेर वा पाइपबाट घरघर पुग्दा कति मज्जा हुन्थ्यो,’ भन्ने सोच्छ ।

बिहान करिब साढे आठ बजेदेखि दन्किएको आगोको ज्वाला स्थानीय र सुरक्षाकर्मीको टोलीको निरन्तर प्रयास पछि दिउँसो करिब १२ बजेतिर नियन्त्रणमा आएको हुनाले सामाजिक सञ्जालमा यसकै चर्चा रह्यो । करिब ९ सय फिट खनिसके पछि निस्किएको आगोको ज्वालामा पानी हाल्दा झनै उग्र रुप लिने गरेको स्थानीयले भनेका छन् । आगो निभाउने यन्त्रकै प्रयोग गर्नुपरेको देखियो । 

खानी तथा भूगर्भ विभागको अध्ययनले काठमाडौँ उपत्यका क्षेत्रमा प्राकृतिक ग्यास (मिथेन) रहेको भनेको पनि धेरै भयो । यो मिथेन जमिनमुनि पानीमा मिसिएको हुन्छ । बोरिंग गर्ने क्रममा नजिकै बालिएको आगोले उक्त ग्यासलाई भेटेको मात्र हो । केही नगर्दा पनि केही समयमा यो आफै निभ्छ ।

टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बोरिंग सकेर सिलिङ गर्ने क्रममा आगोको लप्का निस्किएको थियो । पाइप गाडेर अन्तिममा सिल गर्न वायरिङ गरिरहेको बेला आगोको ज्वाला निस्किएको हो । उक्त बोरिङ झन्डै २७५ मिटर गहिराइको छ ।

काठमाडौँ उपत्यकामा यसभन्दा अगाडि पनि इनार र बोरिङ खन्दा ग्यास निस्किएकै हो । महालक्ष्मी नगरपालिकाका केही स्थानमा यस अगाडि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास बाहिरिएको थियो । टीकाथलीमा आगोको मात्रा धेरै र धेर बेर सम्म रहेकाले सबैको ध्यान तान्यो । 

यसअघि २०७९ को साउनमा काठमाडौंको जोरपाटी लोसेटारमा बोरिङ गर्ने क्रममै लेदोसहित पानी र ग्यास निस्किएको थियो । ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको थियो ।  पूरै टोलमा ग्यासको गन्ध फैलिएको थियो । ८ वर्षअघि भक्तपुर पिलागाउँमा पनि डिप बोरिंगकै क्रममा ग्यास निस्किएर आगलागी भएको थियो ।

२०७२ को पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलामा ‘अलिकति समय पाए घरघरमा ग्यासको पाइप फिट गरिदिन्छु’ भनेर भाषण गरेको हामीले संझेकै छौँ । ओलीको भनाइको पृष्ठभूमि यस्तै प्राकृतिक ग्याससँगै जोडिएको छ । एलपीजी ग्यास घरघरमा पाइपबाट पुर्याउन कठिन चाहिँ पक्कै पनि होइन । तर काठमाडौं उपत्यकामा पाइने प्राकृतिक ग्यास पाइपबाट वितरण गर्न अप्ठेरो हुने खानी तथा भूगर्भ विभागका विज्ञहरुले भन्दै आएका छन् ।

ललितपुरमा भेटिएको कम्प्रेस्ड न्याचुरल ग्यास(सीएनजी) मिथेन हरितगृह ग्यास हो । हाइड्रोजन र कार्बनको मेलबाट बन्ने भएकाले यसलाई हाइड्रोकार्बन भनिन्छ । प्रकृतिमा लामो समयसम्म जैविक वस्तुहरू थुप्रिदा, खाँदिँदा पनि यो ग्यास बन्छ । ऊर्जाका रूपमा  प्रयोग गर्न सम्भव छ । मिथेन ग्यासलाई भर्नलाई छुट्टै ठूल्ठूला ग्यास सिलिन्डर आवश्यक पर्छ । एलपी ग्यास पेट्रोलियम पदार्थमा मिसिएको हुन्छ । फोहोरमैलाबाट बन्ने मिथेन ग्यास पानीसँग मिसिएको हुन्छ ।

सन् १९७८ मै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र खानी तथा भूगर्भ विभागको टोलीले काठमाडौँ उपत्यकामा प्राकृतिक ग्यासबारे अध्ययन गरेको थियो । उक्त टोलीले ललितपुरको टीकाथली, इमाडोल, बालकुमारी, शंखमूल, भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु,कालीमाटी, विष्णुमती किनार, भृकुटीमण्डपलगायत  विभिन्न १४ स्थानमा अध्ययनका लागि इनार (ग्यास कुवा) खनेको थियो । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा करिब २६ वर्गकिलोमिटरमा ३ ब्लकमा विभाजित गरी १४ वटा ग्यास कुवा ड्रिल गरिएको थियो । अहिले ग्यास निस्किएकै टीकाथली क्षेत्रमा पनि उक्त टोलीले २०४९/५० मा ३ सय मिटर गहिराइको कुवा खनेर परीक्षण गरेको थियो ।

उक्त टोलीले सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन पछि मिथेन ग्यास उत्पादन गर्न सकिने प्रारम्भिक प्रतिवेदनसहित उत्खननका लागि सुझाएको थियो । उक्त अध्ययनले काठमाडौं उपत्यकामा करिब ३ सय मिलियन क्युबिक मिटर ग्यास रहेको देखाएको थियो ।

३ सयदेखि ५ सय ७० मिटर गहिराइका इनार खनिएका थिए । ती सबै इनारको सुरक्षाका लागि अहिले पनि विभागले सुरक्षा गार्ड तैनाथ गरेको छ । ’डेमोनेस्ट्रेसन प्रोजेक्ट’अन्तर्गत ग्यास उत्पादन गरिएर टेकु अस्पतालमा वितरणसमेत गरिएको छ । 

सन् १९७८ पछि भने काठमाडौँ उपत्यकामा रहेको प्राकृतिक ग्यास र वितरणबारे अध्ययन नभएको विभागले जनाएको छ । पहिलेभन्दा अहिले काठमाडौँको जनघनत्व बढेकाले पनि पाइपबाट ग्यास वितरण गर्न कठिन हुने देखिन्छ । बाक्लो बस्ती भएकाले जोखिम बढी हुन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार काठमाडौँको जनघनत्व १७ हजार ४ सय प्रति वर्गकिलोमिटर छ । यो राष्ट्रिय जनघनत्व(१८९) भन्दा ८७ गुणाभन्दा पनि धेरै हो । 

काठमाडौँ उपत्यकाको प्राकृतिक ग्यास औद्योगिक प्रयोजनका लागि प्रयोग गर्न सकिने विभागले भनेको पनि धेरै भइसक्यो । प्राकृतिक ग्यासलाई उद्योग, होटेल र अटोमोबाइल्स क्षेत्रले प्रयोग गर्नसक्छ । भारत व्यावसायिक रूपमा सीएनजी प्रयोग हुँदै आएको धेरै भइसक्यो । नेपालमा नवलपरासी पश्चिमको रामग्राम–२ मा एन्भीपावर इनर्जी एन्ड फर्टिलाइजर प्राइभेट लिमिटेडले ग्यास उत्पादन गरेर नजिकका उद्योगहरूलाई उपलब्ध गराइरहेको छ । 

६ वर्षअघि स्थापना भएको उक्त उद्योगले पनि कच्चा पदार्थ, प्राविधिक कठिनाइ, आर्थिक मन्दीले भनेजस्तो उत्पादन गर्न नसकेको भन्दै आएको छ । उसको दैनिक उत्पादन क्षमता १५ सय किलो भए पनि अहिले ५० देखि १०० किलो मात्र सीएनजी उत्पादन गरिरहेको छ ।      (विभिन्न सञ्चार माध्यमहरुको सहयोगमा)


 

प्रकाशित : २० फागुन २०८१, मङ्गलबार 23:48
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved