२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

ओली–प्रचण्ड भेटले फेरि तात्यो वाम एकताको सम्भावना, गभर्नर नियुक्तिमा सत्ता गठबन्धन धरापमा

द नेप्लिज संवाददाता
२१ वैशाख २०८२, आइतबार

Advertisement

काठमाडौँ– गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ नेपाली कांग्रेस र एमालेबीच विवाद चुलिँदै जाँदा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग राजनीतिक संवाद अघि बढाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच आइतबार साँझ भेटवार्ता भएको हो। भेटमा संक्रमणकालीन न्यायका विषयसहित समसामयिक राजनीतिक मुद्दामा छलफल भएको स्रोतले जनाएको छ।

वाम एकताको पहलस्वरूप प्रचण्डसँग भेट गर्न पार्टी उपमहासचिव वर्षमान पुनलाई पनि साथमा लगिएको थियो। यसबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत चिनियाँ पक्षको सद्भावसहित वाम एकता प्रयासमा सक्रिय रहेको बताइएको छ।

प्रधानमन्त्रीका तर्फबाट भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकारको भूमिकामा रहेका अग्नि खरेल सहभागी थिए। यद्यपि भेटको विषय सत्तारूढ गठबन्धनभित्रको विवाद र वैकल्पिक सरकार गठनको सम्भावनासँग समेत जोडेर हेरिएको छ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सम्मान गर्दै आफैँ तल बस्नु, संवादमा नयाँ तरंग ल्याएको देखिन्छ। सत्तासाझेदार कांग्रेससँग सम्बन्ध चिसिदै जाँदा ओलीले माओवादी केन्द्रसँग सहकार्यको सम्भाव्यता खोज्न थालेको संकेत भेटले दिएको छ।

गभर्नर नियुक्तिको विषय पनि हाल विवादको केन्द्रमा छ। कांग्रेसले राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेकोमा समितिमा एमाले निकट महाप्रसाद अधिकारी थपिएपछि सिफारिस समिति एमालेको प्रभावमा पुगेको छ। अधिकारीलाई वैशाख १७ मा मन्त्रिपरिषदले सदस्यमा नियुक्त गरेको हो।

सिफारिस समितिमा रहेका अर्का सदस्य राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल बाहेक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र अधिकारी दुवै ओलीका नजिकका मानिन्छन्। यसले कांग्रेसलाई आशंका बढाएको छ किनकि भट्टको राजीनामा स्वीकृत नभएको अवस्थामा नियुक्ति प्रक्रिया अन्योलमा परेको छ।

कांग्रेसका एक नेताले ‘पूर्वसहमति अनुसार गभर्नर नियुक्ति अघि बढ्ने विश्वास’ व्यक्त गर्दै चेतावनी समेत दिएका छन्, ‘यदि समितिबाट गडबड भयो भने ओलीले गभर्नर नियुक्त गरेर विदा हुने तयारी त छैन होला नि !“

कांग्रेसभित्र सरकारप्रति असन्तुष्टि बढ्दै गएको छ । महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै सार्वजनिक आलोचना गर्दै आएका छन्। यसबाट प्रधानमन्त्री ओली पनि असन्तुष्ट देखिएका छन्।

ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग पनि संवाद थालेका छन्। बालुवाटारमा भएको भेटपछि दुवै पार्टीबीचको कटुतामा कमी आएको र संवाद पुनः सुरु भएको स्रोतले जनाएको छ।

यता संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग—सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग—को पदाधिकारी सिफारिसप्रति द्वन्द्वपीडितहरुले असन्तुष्टि जनाएका छन्। उनीहरूले हालको प्रक्रिया रोक्न र नयाँ रूपमा अघि बढाउन माग गरेका छन्।

ओलीलाई माओवादीको समर्थन विना संक्रमणकालीन न्याय प्रक्रियामा अगाडि बढ्न गाह्रो पर्ने अवस्था छ। यही कारण उनले माओवादीसँग सहकार्यको सम्भाव्यता बलियो बनाउने प्रयास थालेको विश्लेषकहरूको भनाइ छ।
 

प्रकाशित : २१ वैशाख २०८२, आइतबार 21:11
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved