विराटनगर – एमाले मोरङ र एमाले विराटनगर महानगर कमिटीको अधिवेशनमा संस्थापन पक्षलाई पराजित गर्दै असन्तुष्ट पक्षको प्यानल विजयी हुँदा सबैभन्दा बढी खुशी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका आसेपासेहरूको हप्कीदप्कीबाट विचलित नभइ परिवर्तनका संवाहक नेता–कार्यकर्ताहरूले संस्थापन पक्षलाई भोटबाटै जवाफ दिएका थिए ।
तर प्रचण्डको खुशी धेरै दिन टिकेन । अहिले उही कथा नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको चुनावमा दोहोरिएको छ । माओवादीका उपमहासचिव जनार्दन शर्मा निकट समूहले अनपेक्षित ढंगले जित हात पार्यो । दाहालका भक्त नेता–कार्यकर्ता र पत्रकारहरूको चुरी–फुरी परिणामसँगै सेलायो । मोरङमा प्रचण्ड स्तब्ध भए भने ओलीको घाउमा यसले मलमको काम गर्यो । ओली पनि मनमनै भन्दै होलान्, ‘मोरङेलीले प्रचण्डलाई पनि चमत्कार देखाइहाल्यो !’
शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक हिसाबले मोरङले मुलुकमा अलग्गै पहिचान बनाएको छ। उबेलादेखि देशमा क्रान्ति र राजनीतिक परिवर्तनको बिगुल फुक्दै आएको मोरङका ठूला राजनीतिक समूहहरू कुनै नेता वा व्यक्ति विशेषका दास वा भक्त बन्न रुचाउँदैनन् । उनीहरू नेताको आश्रयभन्दा आफ्नै अस्तित्व र पहिचानमा भरोसा राखेर अघि बढ्छन्, चाहे त्यसका लागि जीवनपर्यन्त सडक संघर्ष नै किन न गर्नुपरोस् । सस्तो लोकप्रियताका लागि राजनीति नगर्ने र सामाजिक सञ्जालमा भाइरल हुने मोह नराख्ने यस्ता स्वाभिमानीहरू हरेक राजनीतिक दलभित्र छन्, जो वास्तविक परिवर्तनका संवाहक हुन्।
एमाले र माओवादीको यो आन्तरिक निर्वाचनले पार्टी र नेताका भक्त, चाकरीबाज र दासहरू विरुद्ध लोकतन्त्रको मूल्यमान्यतामा विश्वास राख्नेहरूको जित सुनिश्चित गरेको छ। सामाजिक सञ्जालमा ‘यो दाइ’, ‘यो दिदी’ जिताउनु पर्छ भनेर पोस्ट गर्नेहरूलाई पार्टीको आन्तरिक लोकतन्त्रले कडा झापड हानेको छ। आफ्नै स्वार्थका लागि पार्टीमा लागेका समूहहरूलाई यी चुनावहरूले हैसियत देखाउँदै कुनामा पुर्याइदिएको छ।
कांग्रेस, एकीकृत समाजवादी र अन्य एबीसीडी दलहरूमा पनि यही कथा दोहोरिने हो । किनभने परिवर्तनका लागि मुलुकलाई राजावादी वा खाजावादी होइन, सच्चा लोकतन्त्रवादीहरू चाहिन्छन् । मुख्य दलहरूभित्र जन्मिरहेका नयाँ अनुहार र शक्तिहरूले नै देशको मुहार फेर्ने छन् । तर मोरङमा माओवादी पार्टी र यसको भातृसंगठनहरूले समावेशीताको सवालमा अन्य दलहरूभन्दा अग्रता लिएको तथ्य भने प्रशंसनीय छ।
व्यवहारमै समावेशी चरित्र देखाउने मामिलामा माओवादी एमाले र कांग्रेसभन्दा उदार देखिएको छ। सबैभन्दा ठूलो कुरा, मुलुकभर पैसा, शक्ति र पहुँचमा अगाडि रहेका समूहलाई पराजित गर्दै माओवादीका आमकार्यकर्ताले विराटनगरको नेतृत्व कब्जा गरेका छन्। यो पार्टीभित्रको आन्तरिक क्रान्ति भए पनि भुइँमान्छेमा आशा र भरोसा जगाएको छ।
भित्रबाटै विद्रोह र परिवर्तनको आवाज नउठेसम्म राजनीतिक दल सबल हुँदैनन्, न त लोकतन्त्र संस्थागत हुन्छ। राजावादीहरूको अनाहक गुनासोलाई शान्त पार्न संविधानसम्मत बाटोमा हिंड्ने पार्टीभित्रका सच्चा लोकतन्त्रवादीहरूले मोरङमा एमाले र माओवादीबीच देखिएको जस्तै देशभरि परिवर्तनका लागि आँट गर्नुपर्छ। यो कार्य कठिन छ, तर आँट र स्वाभिमान भएका नेता–कार्यकर्ता जुटेपछि शक्ति प्रदर्शनको राजनीति गर्नेहरू स्वतः पराजित हुनेछन्।
विचार/अन्तर्वार्ता
भारतले झूटो बोल्यो
जितेन्द्र साहउपलब्धि भन्दा पनि असन्तुष्टिको सन्देश बढी
द नेप्लिज संवाददाताके सरकार परिवर्तन हुँदैछ ?
देव नारायण साहसडकमा शक्ति प्रदर्शन गर्ने ट्राफिक प्रहरीहरू
जितेन्द्र साहआतंकवादविरुद्ध न्यायोचित आवाज : भारत र पाकिस्तान दुवै जिम्मेवार
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares