विराटनगर– कहिलेकाँही लाग्छ, सडकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुले ‘व्यवस्थापन’ होइन, ‘प्रदर्शन’ गरिरहेका हुन्छन् । त्यो प्रदर्शन अनुशासनको होइन, शक्तिको हुन्छ । राज्यको पोशाक लगाएर सर्वसाधारणमाथि हात उठाउनु उनीहरूको अधिकारजस्तो भान हुने दृश्यहरू सामाजिक सञ्जालमा बारम्बार देखिन थालेका छन् ।
यो साता सामाजिक सञ्जालमा भाइरल भएका दुई भिडियोहरू हेर्दा मेरो अन्तरमनै झस्कियो । एकजनालाई दौडिएर समातेर लछारपछार गर्दै कुटिएको दृश्य अनि अर्काे भिडियोमा भुइँमा लडाइएका एक सर्वसाधारणमाथि ट्राफिक पोशाकधारी प्रहरीको हात, लात—यी सबैले मलाई केवल दृश्य होइन, हाम्रो अलोकतान्त्रिक राज्य प्रणालीको छायाँझल्को देखाए ।
हो, ती भिडियोहरू अहिले सार्वजनिक भएका हुन् । एउटा एक वर्ष पुरानो, अर्को केही महिना अघिको । पुराना हुन् भनेर गल्ती पुरानो हुन्न । समयले अत्याचारलाई निष्क्रिय बनाउँदैन । प्रहरी प्रशासनले पनि भिडियो बाहिरिएपछि मात्र ‘छानबिन अघि बढायौं’ भन्ने भनाइ सार्वजनिक ग¥यो । मलाई थाहा छ, त्यो ’अघि बढायौं’ भन्ने वाक्यांश कहिले काहीँ ‘ढाकछोपको’ अर्को नाममात्र हो ।
साच्चै भन्नुपर्दा ट्राफिक प्रहरीमाथि निगरानी गर्ने कुनै स्वतन्त्र संयन्त्रको खाँचो अब स्पष्ट देखिन थालेको छ । नागरिकलाई सम्हाल्नुअघि प्रहरीलाई सम्हाल्ने संरचना हुनु जरुरी छ । कारण–कानूनको हातमा लाठी दिन सकिन्छ, तर लाठीको भरमा कानून छाड्न सकिँदैन । म सोच्न बाध्य छु—यो लाठी ट्राफिकको हो कि राज्यको अनुशासनको असफलताको प्रतीक ?
एकजनालाई सार्वजनिक ठाउँमा लखेटेर कुट्ने अनि अर्को घटनामा बाटोमै लडाएर लात्ताले हान्ने काम, ती पोशाकभित्रका मानिसहरूले गरे । अनि अन्य प्रहरीहरू त्यो हेरेर चुप लागे । त्यो चुप्पी अपराधभन्दा कम थिएन ।
धेरैले भनिरहेका छन्—‘भिडियो एकतर्फी हो, सुरुवात के भयो थाहा छैन ।’ तर म भन्छु, सुरुवात जेसुकै भए पनि निष्कर्ष हातपात हुन सक्दैन । नियम कार्यान्वयन गर्ने संरचनामा बसेकाहरूले यदि कानूनलाई नै तोड्ने हो भने नागरिकले कसरी भरोसा गर्ने ? अनि किन र केका लागि नियम पालन गर्ने ?
सडकमा हेल्मेट नलगाएको, सवारी अनुमति पत्र नभएको, वा पार्किङ गलत ठाउँमा गरेको जस्ता सामान्य गल्तीहरूमा पनि सार्वजनिक ठाउँमै प्रहरीको कडा स्वर र कडा हर्कत सहनुपरेको अनुभव धेरै नेपालीसँग छ । प्रहरीभित्र अनुशासन छैन भन्ने होइन—छ, तर त्यो अनुशासन ‘पोशाक लगाएको’ क्षणदेखि सुरु हुनु पर्ने हो । त्यो अनुशासन ‘क्यामेरा अन भएपछि’ सस्तो लोकप्रियता वा प्रचारप्रसारका लागि मात्र देखाउने कुरा होइन ।
एकातर्फ ट्राफिक प्रहरीको कमजोरीको समाचार आउने गर्छ, अर्कातर्फ ट्राफिक सेवा सुधार गरिएको दाबी पनि सुनिन्छ । तर सुधारको मापन तब मात्र हुनेछ जब ट्राफिक प्रहरीले स्वयं आफ्नो जिम्मेवारीलाई ‘अधिकारको नाममा दमन’ होइन, ‘सेवाको नाममा मर्यादा’ बनाउँछन् ।
साच्चै भन्नुपर्दा ट्राफिक प्रहरीमाथि निगरानी गर्ने कुनै स्वतन्त्र संयन्त्रको खाँचो अब स्पष्ट देखिन थालेको छ । नागरिकलाई सम्हाल्नुअघि प्रहरीलाई सम्हाल्ने संरचना हुनु जरुरी छ । कारण–कानूनको हातमा लाठी दिन सकिन्छ, तर लाठीको भरमा कानून छाड्न सकिँदैन । म सोच्न बाध्य छु—यो लाठी ट्राफिकको हो कि राज्यको अनुशासनको असफलताको प्रतीक ?
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares