११ वैशाख २०८२, बिहीबार 24 Apr 2025, Thursday

तातो लहरको प्रकोप : तराई तातिँदा जनजीवन प्रभावित

द नेप्लिज संवाददाता
११ वैशाख २०८२, बिहीबार

गर्मीले सुनसान विराटनगरको देवकोटा चोक क्षेत्र । तस्बिर : जितेन्द्र साह/द नेप्लिज डट कम

Advertisement

विराटनगर — हाल स्थानीय वायु प्रणालीको आंशिक प्रभाव देखिएको छ जसका कारण देशका अधिकांश भूभागमा तापक्रम बढ्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रबाहेक अधिकांश स्थानमा गर्मी बढ्नेछ ।

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनदेखि तापक्रम निरन्तर बढिरहेको छ । आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ । देशभरमा सबैभन्दा बढी तापक्रम भैरहवामा ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावना छ भने जुम्लामा रातिको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियससम्म झर्ने देखिन्छ ।

मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी लुम्बिनी प्रदेशका तराई भूभागमा तातो लहर (हीट वेभ) चल्ने सम्भावना रहेको छ जसले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

महाशाखाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी वृद्ध, बालबालिका र दीर्घरोगीहरूलाई दिउँसोको समयमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र शरीरलाई चिसो राख्न सुझाव दिइएको छ ।
विराटनगरमा पनि अत्यधिक गर्मीले जनजीवन प्रभावित बनाएको छ । स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विराटनगरमा अहिले तापक्रम करिब ३३ डिग्री सेल्सियस छ । दिउँसोको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ । विराटनगरमा शुक्रबार र शनिबार पनि घामसहित अत्यधिक गर्मी हुने र दिउँसोको तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुग्ने सम्भावना छ ।

यहाँ आइतबार बिहान हल्का बादल लाग्ने, दिउँसो कम हुने र तापक्रम ३५ डिग्री सेल्सियस सम्म पुग्ने सम्भावना छ । विराटनगरमा सोमबार बिहान भने बादल र घामको मिश्रण देखिनेछ । दिउँसो केही स्थानमा चट्याङसहितको शक्तिशाली मेघगर्जन हुने सम्भावनाका साथ अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने अडकल गरिएको छ ।

स्थानीय कोशी अस्पतालले बाहिर निस्कँदा हल्का र खुकुलो कपडा लगाउन, निर्जलीकरणबाट बच्न पर्याप्त पानी पिउन, दिउँसोको समयमा सिधा घाममा लामो समय नबस्न र बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई विशेष ध्यान दिन सार्वजनिक अनुरोध गरेको छ ।
 

प्रकाशित : ११ वैशाख २०८२, बिहीबार 12:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved