३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

थाई परम्पराअनुसार लुम्बिनीमा नयाँ वर्ष मनाइयो

‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना

द नेप्लिज संवाददाता
३१ चैत २०८१, आइतबार

Advertisement

लुम्बिनी — स्थानीय नेपाली नयाँ वर्षको स्वागतका लागि तयारीमा व्यस्त रहेको बेला थाई नागरिकहरूले बुद्ध जन्मस्थल लुम्बिनीमा आफ्नै परम्पराअनुसार नयाँ वर्ष ‘सोङक्रान’ पर्व भव्य रूपमा मनाएका छन् । 

आइतबार (अप्रिल १३) को दिन, लुम्बिनीस्थित राजकीय थाई विहारमा आयोजित धार्मिक समारोहमा थाई भिक्षु, भिक्षुणी, गुरुमा, आनी तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति थियो । उक्त अवसरमा ‘बेबी बुद्ध’को मूर्तिलाई धार्मिक विधिपूर्वक पूजा गरी विशेष स्नान गराइयो ।

करिब डेढ मिटर लामो पित्तलको पाइप प्रयोग गरी पवित्र पानी झारेर मूर्तिको पाउ धोइयो । यस क्रममा भिक्षु÷भिक्षुणी तथा श्रद्धालुहरूले पुष्पवर्षा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । राजकीय थाई विहार परिसरमा सुगन्धित पानी र फूल मिसाएर एकापसमा छ्यापाछ्याप गर्ने परम्परागत विधिबाट पर्वको उल्लास साटासाट गरियो । यसरी एक अर्कामाथि पानी छ्याप्नु करुणा, मैत्री र सद्भावको प्रतीक हो ।

यो अवसरमा समग्र मानव जीवन र सम्पूर्ण प्राणीहरूको शान्ति, सुख र कल्याणका लागि ‘परित्राण पाठ’ समेत गरिएको थियो । थाईल्यान्डमा ‘सोङक्रान’ पर्व राष्ट्रिय रूपमा अत्यन्तै महत्वका साथ मनाइन्छ । यो पर्व हरेक वर्ष अप्रिल १३ देखि १५ सम्म मनाइन्छ । तर कतिपय ठाउँमा यो उत्सव पाँच दिनसम्म लम्बिन्छ । युनेस्कोले यस पर्वलाई सन् २०२३ मा ‘अमूर्त सांस्कृतिक सम्पदा’ मा सूचीकृत गरेको छ जसले यस पर्वको सांस्कृतिक महत्व अझै बढाएको छ ।

पानी फाल्ने परम्परा यो उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष हो । यो कार्यले पुराना दोष हटाउने, नयाँ वर्षमा शुभकामना व्यक्त गर्ने र पारस्परिक प्रेम तथा सम्मान अभिव्यक्त गर्ने विश्वास रहिआएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा यसरी अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्वहरूको उत्सव मनाइनुले नेपाल पर्यटनका लागि सकारात्मक सन्देश प्रवाह भएको भन्दै सहभागीहरू उत्साहित देखिन्थे ।
 

प्रकाशित : ३१ चैत २०८१, आइतबार 16:17
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved