विराटनगर — दक्षिण एशियामा भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य भिडन्त केवल सैन्य रणनीतिमा सीमित छैन, यसले गहिरो धार्मिक र वैचारिक अर्थ बोकेको संकेत दिएको छ। भारतले कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आक्रमणपछि सुरु गरेको ‘अपरेसन सिन्दूर’को जवाफमा पाकिस्तानले शुक्रबार ‘अपरेसन बुन्यान उल मर्सूस’ नामक आक्रमण थालेको छ, जुन नाम इस्लाम धर्मग्रन्थ कुरानको ६१ः४ आयतबाट लिइएको हो।
‘बुन्यान उल मर्सूस’ अरबी शब्द हो, जसको अर्थ हुन्छ ‘अटुट पर्खाल’। कुरानको उक्त आयतमा अल्लाहको मार्गमा एकताबद्ध भएर लड्नेहरूलाई अटुट पर्खालसरहको उपमा दिइएको छ। पाकिस्तानी सेनाका अनुसार यो नाम राख्नुको उद्देश्य राष्ट्रिय एकता, धार्मिक भावना र संगठित प्रतिरोधको सन्देश दिनु हो।
यस सैन्य कारबाहीमा पाकिस्तानले भारतका पठानकोट एयरफिल्ड, ब्रह्मोस मिसाइल भण्डारण केन्द्र र उधमपुर एयरबेसमा लक्षित क्षेप्यास्त्र आक्रमण गरेको छ। प्रारम्भिक विवरणअनुसार भारतमा १६ र पाकिस्तानमा ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुवै देशले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् भने सीमावर्ती क्षेत्रका विद्यालयहरू पनि बन्द गरिएको छ।
भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ले राष्ट्रवादी सांस्कृतिक सन्दर्भ बोकेको देखिएको छ भने पाकिस्तानले कुरानबाट उद्धृत नाममार्फत युद्धलाई धार्मिक र मनोवैज्ञानिक आयाम दिन खोजेको देखिन्छ। विश्लेषकहरूका अनुसार पाकिस्तानको कदम घरेलु जनमत र इस्लामिक विश्व समुदायलाई प्रभावित गर्न उद्देश्यप्रेरित छ।
पाकिस्तानले राखेको यही नाम ‘बुन्यान उल मर्सूस’ सन् २०१६ मा लिबियामा पनि प्रयोग भएको थियो। लिबियाली संयुक्त सरकार (जीएनए) र मिसराता मिलिसियाहरूको संयुक्त अपरेसनमा सिरते शहरलाई इस्लामिक स्टेट (आईएस)को कब्जाबाट मुक्त गर्न यही नामको अभियान सञ्चालन गरिएको थियो, जसमा हजारौँ लडाकु मारिए, ठूलो मानवीय क्षति भयो । तर आईएसको प्रभाव निर्णायक रूपमा समाप्त भएको थियो।
यस सन्दर्भमा अन्तर्राष्ट्रिय विश्लेषकहरूले भारत–पाकिस्तानबीचको भिडन्तलाई धार्मिकीकरणतर्फको खतरनाक मोड’ भन्दै चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन लगायत विश्व शक्तिहरूले तत्काल संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न दुवै पक्षलाई आग्रह गरेका छन्।
भारतले कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा पाकिस्तानमा आश्रित आतङ्ककारी समूहहरूलाई दोष दिएको छ, जसमा २५ भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको थियो। पाकिस्तानले भने उक्त आरोप अस्वीकारेको छ। विशेषज्ञहरूका अनुसार यो सैन्य तनाव केवल क्षेत्रीय स्थायित्वमाथि खतरा हैन, सम्पूर्ण दक्षिण एशियाली भूराजनीतिक सन्तुलनलाई असर पार्न सक्ने संवेदनशील मोडमा पुगेको छ।
समाचार
७३औँ कानुन दिवस आज : न्यायमा पहुँच र सुशासनमा जोड
छिमेकीविरुद्ध भूमि प्रयोग हुन नदिने प्रतिबद्धता
द नेप्लिज संवाददातापाकिस्तानमा रहेका नेपालीको सुरक्षाबारे सरकार सतर्क
द नेप्लिज संवाददाताभारत–नेपाल सीमामा परिचयपत्र अनिवार्य
द नेप्लिज संवाददातादेशमा नयाँ जनमतको आवश्यक्ता छ : अध्यक्ष विजुक्छे
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares