२७ वैशाख २०८२, शनिबार 10 May 2025, Saturday

देशमा नयाँ जनमतको आवश्यक्ता छ : अध्यक्ष विजुक्छे

कांग्रेसले बिपीको समाजवाद, एमाले र माओवादीले समाजवादको नारा दिएर जनतालाई ठग्दै छ
द नेप्लिज संवाददाता
२७ वैशाख २०८२, शनिबार

Advertisement

विराटनगर– नेपाल मजदुर किसान पार्टी (नेमकीपा)का अध्यक्ष नारायणमान विजुक्छेले तीन ठूला दल नेपाली कांग्रेसले बिपीको समाजवाद, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समाजवादलाई चुनावी नारा बनाएर जनतालाई ठग्दै आएको आरोप लगाएका छन् । नेमकीपाले विराटनगरमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विजुक्छेले कांग्रेस, एमाले र माओवादीले जनतासँग भोट माग्ने बेला दिएको चुनावी नारा र घोषणापत्रमा उल्लेख गरेको समाजवाद सरकारमा बसेर कार्यान्वयन नगरी जनतालाई ढाँटेकोले अब ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका हुन् । 

‘कांग्रेसले बीपीको समाजवादको, एमाले र माओवादीले समाजवादको नारा घन्काएर जनतासँग भोट लिएर सरकारमा जाने तर सरकारमा गइसकेपछि कार्यान्वयन नगरेर जनादेशको अवज्ञा गर्दै आएको छ,’ उनले भने, ‘समाजवादी सिद्धान्त अनुसार अहिलेसम्म कांग्रेस, एमाले र माओवादी नेतृत्वको सरकारले उत्पादनको साधन उद्योगहरुलाई सार्वजनिकीकरण, योग्यता अनुसारको रोजगारी र काम अनुसारको ज्याला किन दिएनन् ?’

अहिले त संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था गरिएको तर त्यसको कार्यान्वयनका लागि अहिलेका एमाले र कांग्रेसको सरकारले आउँदो वर्षको बजेटका लागि ल्याएको नीति तथा कार्यक्रम ल्याउन नसकेको अध्यक्ष विजुक्छेको भनाइ थियो । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरानै सिलसिलामा आएको बताएका हुन् । 

‘यदी समाजवादी व्यवस्थामा नजाने हो भने कांग्रेस, एमाले र माओवादीले जनतालाई स्पष्ट रुपमा भन्नुपर्ने हो, यसरी ढाँट्न मिल्छ ?,’ अध्यक्ष विजुक्छेले भने, ‘यो तीन वटै दलको कार्यशैली पूजिवादी नै देखिएकोले स्पष्ट रुपमा जनतालाई बताउनु ती दलहरुको दायित्व हो । तीन वटै दलले यसरी कहिलेसम्म जनतालाई धोखा दिरहने हो ?’ तीन वटै दलका नेताहरु प्रधानमन्त्री, मन्त्री हुने र उनीहरुले आ–आफ्ना मान्छेहरुलाई उच्चपदमा पुर्‍याउने काम गरेर ब्रहम्लुट मचाउनेलाई नै समाजवाद बनाएको उनको आरोप छ । 

संसदीय व्यवस्था र अभ्यास विपरित दुई ठूला दलको सरकारले लामो समयसम्म गभर्नर नियुक्त गर्न नसक्नु सरकारको अकर्मण्यता भएको उनले बताएका छन् । अध्यक्ष विजुक्छेले संसारभरि नै राजाहरु शासन व्यवस्थाबाट हटेपछि उनका समर्थकहरुले आन्दोलन गर्दै आएकाले अहिले मुलुकमा राजा वा राजसंस्थाको पक्षमा उठिरहेको आवाजलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन् ।

‘प्रजातन्त्रमा सबैले शान्तिपूर्ण तवरले आ–आफ्ना माग राख्न पाउनु पर्छ तर अहिलेसम्मका सरकारहरुले गर्दै आएको काम पनि सन्तोषजनक नभएकोले सुध्रिनु आवश्यक छ,’ उनले भने, ‘प्रजातान्त्रिक व्यवस्थामा देशका ठूला दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठूला दल प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने सिद्धान्त र अभ्यास विपरित सरकार निर्माण हुनु नै प्रजातान्त्रिक मूल्य र मान्यता विपरितको कार्य भएको छ त्यसैले अब नयाँ जनादेशमा जानुको विकल्प छैन ।’ देशको ढुकुटी रित्याएर समाजवाद आउन नसक्ने अध्यक्ष विजुक्छेको भनाइ थियो । 

प्रकाशित : २७ वैशाख २०८२, शनिबार 16:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved