२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

चार वर्षमा चट्याङले २३७ को ज्यान गयो, ९०८ घाइते

द नेप्लिज संवाददाता
६ जेठ २०८२, मङ्गलबार

Advertisement

जोखिममा कोशीदेखि कञ्चनपुरसम्म, सचेतनाले ८० प्रतिशत क्षति कम गर्न सकिने विज्ञको सुझाव

विराटनगर— नेपालमा पछिल्ला चार वर्षमा चट्याङ लागेर २ सय ३७ जनाको ज्यान गएको छ भने ९ सय ८ जना घाइते भएका छन्। चट्याङका घटना कोशीको झापा, उदयपुरदेखि सुदूरपश्चिमको कञ्चनपुर, कर्णालीको हुम्लादेखि मधेसको धनुषासम्मका क्षेत्रमा उच्च जोखिममा छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार २०७८ साउन १ देखि २०८२ जेठ ५ सम्म देशभर १ हजार १ सय १८ वटा चट्याङका घटना भएका छन्। यस अवधिमा १  हजार ६ सय ७ परिवार प्रभावित बनेका छन्। विश्वमा चट्याङबाट हुने मानवीय क्षतिको आधारमा नेपाल पाँचौँ स्थानमा पर्छ।श्रेष्ठका अनुसार घर, गोठ र अग्ला टावरहरू चट्याङको निशाना बन्ने गर्छन्। बर्खायाममा कृषिमा संलग्न सर्वसाधारण बढी प्रभावित हुन्छन् ।

प्रदेशअनुसार तथ्याङ्क यस्तो छ :

कोशी प्रदेश : २९५ घटना, ५१ मृतक, ८४ घाइते, ३६६ घर प्रभावित, ४२० चौपाया मरे, करिब रु १.६ करोडको क्षति।

लुम्बिनी प्रदेश : १८० घटना, ५४ मृतक, १६५ घाइते, २७६ परिवार प्रभावित, ९८ चौपाया मरे, करिब रु ३.४९ करोडको क्षति।

अन्य प्रदेशहरू : सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाको ज्यान गएको छ।

वैज्ञानिक दृष्टिकोण
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. मदन सिग्देलका अनुसार चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा वायुमण्डल अस्थिर हुने भएकाले चट्याङका घटना बढी हुन्छन्। हिमाल, पहाड र तराईको मिश्रित भौगोलिक बनावटले नेपाललाई चट्याङप्रति बढी संवेदनशील बनाएको उनले बताए।

‘चट्याङलाई रोक्न सकिन्न, तर यसबाट हुने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिन्छ,’ सहप्राध्यापक सिग्देलले भने, ‘सर्वसाधारणमा चेतना र प्रविधिको पहुँच अभाव नै ठूलो क्षतिको मुख्य कारण हो।’

उनले चट्याङबाट हुने अधिकांश मानवीय क्षति खुला स्थानमा काम गर्दा हुने बताउँदै बर्खायाममा दिउँसो १२ बजेपछि खेत–घाँसका काम नगर्न सुझाव दिए। चट्याङको समय खुला स्थानबाट टाढा रहन र घरभित्र सुरक्षित बस्न सके धेरै ज्यान जोगिन सक्ने उनको भनाइ छ।

प्रविधिको अभाव चुनौती
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेतमा चट्याङ पूर्वानुमान गर्न राडार जडान गरे पनि ती हाल बिग्रिएर थन्किएका छन्। ती उपकरण मर्मत गरी सञ्चालनमा ल्याउन सके चट्याङ आउनु अघिको एक घण्टासम्म पूर्वसूचना दिन सकिने विज्ञ सिग्देल बताउँछन्।

विशेषज्ञहरूका अनुसार घर तथा सार्वजनिक संरचना निर्माणमा चट्याङ निवारण उपकरण अनिवार्य बनाउने, स्थानीय तहबाट सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने र राडार उपकरण सञ्चालनमा ल्याउने हो भने चट्याङबाट हुने मानवीय र भौतिक क्षति उल्लेख्यरूपमा घटाउन सकिन्छ। (स्रोत : रासस)
 

प्रकाशित : ६ जेठ २०८२, मङ्गलबार 08:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved