३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

मुस्ताङमा ८९४ किलोग्राम शालिग्राम बरामद

द नेप्लिज संवाददाता
१ वैशाख २०८२, सोमबार

Advertisement

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोस्टमा प्रहरीले ठूलो परिमाणमा शालिग्राम शिला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार ३४ वटा सेतो बोराभित्र लुकाएर राखिएको ८९४ किलोग्राम शालिग्राम एक बोलेरो जीपबाट फेला पारिएको हो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नम्बरको बोलेरो जीप चेकजाँच गर्दा उक्त शालिग्राम बरामद गरिएको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उक्त जीप लोघेकर दामोदरकुण्ड–५, सुर्खाङ निवासी ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङको रहेको खुलेको छ ।

शालिग्रामसहित बोलेरो जीपसहित चालक र शालिग्राम ओसारपसारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण कार्यालय (एक्याप) जोमसोममा बुझाएको जनाएको छ । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार उनीहरूलाई हाल अनुसन्धानका लागि पोखरास्थित एक्यापको प्रधान कार्यालय पठाइएको छ ।

मुस्ताङको दामोदरकुण्ड हुँदै कालिगण्डकी नदीमा जम्मा हुने शालिग्राम हिन्दू धर्मशास्त्रअनुसार भगवान विष्णुको प्रतीकका रूपमा पूजनीय मानिन्छ । शालिग्राम शिला व्यावसायिक रूपमा ओसारपसार गर्न कानुनतः प्रतिबन्ध छ । त्यसैले प्रशासन, प्रहरी र एक्यापले अवैध कारोबार नियन्त्रणका लागि निगरानी कडा गर्दै आएको छ । तर व्यक्तिगत पूजा प्रयोजनका लागि सीमित मात्रामा शालिग्राम खरिद गरी लैजान भने प्रशासन, प्रहरी र एक्यापले छुट दिँदै आएको छ ।

प्रकाशित : १ वैशाख २०८२, सोमबार 13:36
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved