४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

महानगरको सडक सौन्दर्यीकरणका लागि प्राइम बैंकको सहयोग

द नेप्लिज संवाददाता
२१ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यीकरणका लागि २ लाख रुपैयाँ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यीकरणका लागि ‘क’ वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप प्राइम बैंकले रकम हस्तान्तरण गरेको हो । 

महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख रविन्द्र अर्याल, क्लस्टर ए कोशी प्रदेश प्रमुख ऋषिराम भट्टराई, ट्राफिक चोक शाखा प्रमुख सिद्धिराज थापा र रिलेशनसिप म्यानेजर (क्लस्टर ए) रुपकराज सुवेदीले २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । विराटनगरमा ४ शाखासहित कोशी प्रदेशमा प्राइम बैंकका ४७ वटा शाखा रहेका छन् । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यीकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिएका हुन् । 

प्राइम बैंकसहित १७ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३१ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् । 

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यीकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोक दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिएका हुन् । 

बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३६ वटामा सौन्दर्यीकरणको काम सकिएको छ । मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आएको छ । कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने बताए । उनले सौन्दर्यीकरण अभियानलाई सहयोग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरूलाई समेत धन्यवाद दिए । 

बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो । महानगरले सौन्दर्यकरण जस्तै अन्य परियोजना पनि सञ्चालन गर्ने योजना बनाइरहेको मेयर कोइरालाले बताए । 

प्रकाशित : २१ फागुन २०८१, बुधबार 18:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved