श्रीनगर, भारत — जम्मू–कश्मिरको पहलगामस्थित बाइसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मंगलबार दिउँसो बन्दुकधारी आतंकवादी समूहले पर्यटकीय क्षेत्रमा आक्रमण गरेको हो ।
मृतकमध्ये दुई विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयबासीकाको पहिचान खुलेको जनाइएको छ । मारिनेमा अधिकांश पर्यटक भएको बताइएको छ । नेपालका सन्दीप न्यौपाने र युएईका उद्वानी प्रदीप कुमारको पनि मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ । त्यसबाहेक अन्य सबै भारतभित्रकै आन्तरिक पर्यटक छन् ।
मिडिया रिपोर्टका अनुसार बन्दुकधारीहरूले एक पर्यटकलाई उनको नाम सोधेपछि टाउकोमा गोली हानेका थिए । यसपछि उनीहरूले अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेको समाचारमा उल्लेख छ। यस क्रममा करिब ५० राउन्ड गोली चलाइएको थियो ।
घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिले त्यस क्षेत्रमा हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ ।
गोली चलेको आवाजपछि सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए । ‘मिनी स्विट्जरल्यान्ड’ भनेर चिनिने पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । पदयात्रा वा घोडाको सहायताबाट मात्र पुग्न सकिने भएकाले उद्धारमा कठिनाइ भएको अधिकारीहरूले जनाएका छन् ।
घाइते भएका कम्तीमा १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ। स्थानीय चिकित्सकहरूले उनीहरूको अवस्था सामान्य रहेको बताएका छन् । आक्रमणको जिम्मेवारी ’द रेसिस्टेन्ट फ्रन्ट’ नामक आतंकवादी समूहले लिएको बताइएको छ । सुरक्षा अधिकारीहरूका अनुसार यो विगत केही वर्षयताकै नागरिकमाथिको सर्वाधिक घातक आक्रमण हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाल साउदी अरबको भ्रमणमा छन् । उनले घटनाबारे गृहमन्त्री अमित शाहसँग टेलिफोन वार्ता गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । घटनाको निन्दा गर्दै मोदीले दोषीलाई कडा कारबाही गरिने बताएका छन् । गृहमन्त्री शाह घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् र उनले पनि दोषीलाई उस्तै कठोर सजाय दिइने चेतावनी दिएका छन् । विपक्षी नेता राहुल गान्धीले घटनालाई ’हृदयविदारक’ भन्दै संघीय सरकारले यसको जिम्मेवारी लिनुपर्ने माग गरेका छन् ।
विश्व/प्रवास
पुटिनद्वारा अस्थायी युद्धविराम घोषणा, युक्रेनद्वारा अविश्वास, दुवैलाई नियाल्दै ट्रम्प
द नेप्लिज संवाददाताअमेरिकाभरि ट्रम्पविरुद्ध ‘५०५०१’ प्रदर्शन
द नेप्लिज संवाददाता‘पुटिनको युद्धविरामको घोषणापछि पनि युक्रेनमा आक्रमण’
द नेप्लिज संवाददातापोप फ्रान्सिसको निधन, भ्याटिकनले जनायो गहिरो शोक
द नेप्लिज संवाददाताससुराली भारतमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares