४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

शार्फु–४ मा पहिलो पाइला : ताप्लेजुङको हिमाली पर्यटन नयाँ उचाइमा

द नेप्लिज संवाददाता
२६ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर — ताप्लेजुङको शार्फु–४ हिमालमा पहिलोपटक मानव पाइला पुगेको छ । चिलीका पर्वतारोही हर्नान लीलसहित लाक्पा छिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठको टोलीले ६ हजार ४ सय ३३ मिटर अग्लो शार्फु–४ पिकको सफल आरोहण गरेका हुन् । यसअघि गत कात्तिकमा दक्षिण कोरियाली टोलीले ६ हजार ३ सय २८ मिटर उचाइको शार्फु–५ पिक पहिलोपटक आरोहण गरेका थिए ।

पर्वतारोही नादा शेर्पाको नेतृत्वमा शार्फु–४ र ५ दुवै पिकमा सफल आरोहण भएको हो । शार्फु हिमाल शृंखलामा शार्फु–१ देखि ६ सम्म पिकहरू छन् जसमध्ये तीन पिकमा अझै मानवीय पाइला पुगेका छैनन् । आरोहणको तयारी तीव्र भइरहेको शेर्पाले जानकारी दिए ।

‘अब म काठमाडौँ जाँदैछु, त्यहाँबाट अर्को टोली लिएर नयाँ पिकतिर लाग्ने योजना छ,’शेर्पाले भने । उनले ताप्लेजुङमा पर्वतारोहण र साहसिक पर्यटनको ठूलो सम्भावना भए पनि सरकारी चासोको कमीले निराशा व्यक्त गरे । ‘स्थानीय तहहरूले मेला–महोत्सवमा खर्च गर्ने गर्छन् तर त्यसले पर्यटनमा दीर्घकालीन प्रभाव पार्दैन,’ उनले थपे ।

नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा ५ हजार मिटरदेखि ८ ह जार ५ सय ८६ मिटर उचाइसम्मका ४८ वटा पिक सरकारद्वारा आरोहणका लागि खुला गरिएका छन् । फक्ताङ्लुङ गाउँपालिकामा मात्रै ३७ पिकहरू खुला छन् भने सिरिजङ्घा गाउँपालिकामा पाँच वटा पिकमा आरोहण सम्भावना छ । कञ्चनजंघा, कुम्भकर्ण, काब्रु, लुम्बा सुम्बा, नाङ्गामरीलगायतका प्रसिद्ध हिमाल यही क्षेत्रमा पर्छन् ।

सन् १९५५ मा पहिलोपटक बेलायती टोलीले आरोहण गरेको विश्वको तेस्रो अग्लो कञ्चनजंघा (८ हजार ५ सय ८६ मि.) यही जिल्लामा पर्छ । धार्मिक आस्थाका कारण आजसम्म पर्वतारोहीहरू चुचुरोमा नचढ्ने परम्परा पालना गर्दै आइरहेका छन् । कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल ७ हजार ७ सय १० मिटर उचाइको साथ नेपालको १५औँ र विश्वको ३२औँ अग्लो हिमाल हो ।

पर्वतारोहण खर्च र चुनौती

पर्वतीय पथप्रदर्शक संघ नेपालका अनुसार ६ हजार मिटर हाराहारीको पिकमा पाँचदेखि छ जनाको टोलीको लागि कम्तीमा १५ लाख रुपैयाँ खर्च लाग्छ । गाइड र शेर्पाका पारिश्रमिक, सामग्री खरिद, यात्रा खर्च, अनुमति शुल्क, बिमा लगायतका कारण आरोहण खर्चिलो हुने गरेको छ ।

‘पाँच जनाको समूहमा दुई गाइड अनिवार्य छन् । प्रत्येक गाइडको दैनिक पारिश्रमिक ४ देखि ६ हजारसम्म पर्छ,’ संघका अध्यक्ष सन्दीप गुरुङले भने । स्थानीय गाइड नादा शेर्पाका अनुसार नेपाली नागरिकलाई पनि एक पिक आरोहण गर्न ५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्छ ।

महोत्सवबाट हिमाली पर्यटन प्रवद्र्धनको प्रयास

ताप्लेजुङको फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाले हिमाल प्रवद्र्धनका लागि पर्यटन महोत्सवको तयारी गरेका छन् । फक्ताङ्लुङ–६ लेलेपमा वैशाख ५–७ सम्म ‘कञ्चनजंघा प्लाटिनम जुब्ली २०८२’ महोत्सव हुँदैछ । महोत्सव कञ्चनजंघा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजना गरिएको हो ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा हुने महोत्सवमा पर्यटकीय पदमार्ग प्रचार, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन प्रदर्शनी, भलिबल प्रतियोगिता लगायत विविध गतिविधि हुनेछन् । पहिलो आरोहण टोलीका परिवारसमेत आमन्त्रित गरिने आयोजकले जनाएका छन् ।

त्यस्तै सिरिजङ्घा गाउँपालिकाले वैशाख १२–१४ मा ‘पर्यटन सिरिजङ्घा महोत्सव’ आयोजना गर्दैछ । कञ्चनजंघा आधार शिविरमा हुने महोत्सवमा जलवायु परिवर्तन, हिमताल र हिमनदीमाथि अध्ययन र छलफल हुनेछ । याक प्रदर्शन, साहित्य गोष्ठी, साइक्लिङ, र ४ हजार ५ सय मिटर उचाइमा म्याराथन प्रतियोगिता महोत्सवका आकर्षण हुन् ।

अवसर प्रसस्त, तर सरकारी चासो न्यून

ताप्लेजुङमा साहसिक पर्यटनको अपार सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभाव, पदमार्गको असहजता र सरकारी तर्फबाट रणनीतिक चासो नहुनु विकासको मुख्य बाधक देखिएको छ । स्थानीय पर्वतारोही र व्यवसायीहरू सरकारी सहयोग र नीति सुधारको माग गरिरहेका छन् ।
‘नयाँ पिकहरूको पहिचान र आरोहण पर्यटन प्रवद्र्धनको सुरुआत हो,’ पर्यटन व्यवसायीहरू भन्छन्, ‘यदि सरकारी योजना, लगानी र स्थानीयको सहकार्य मिल्यो भने ताप्लेजुङलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिन्छ ।’
                                                                                                                                                                                                                                                                                             (रासस)

प्रकाशित : २६ चैत २०८१, मङ्गलबार 12:23
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved