विराटनगर — काठमाडौँ र धादिङ जोड्ने बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य अहिले प्रहरी सुरक्षा घेरामै अगाडि बढिरहेको छ । स्थानीयको असन्तुष्टि, माग र आन्दोलनबीच सरकारले निर्माण कार्यलाई तीव्रता दिँदै प्राविधिक तथा सुरक्षाकर्मी परिचालन गरेको हो ।
पछिल्लो एक सातादेखि सुरुङमार्गको दुवै छेउ — काठमाडौँतर्फ बलम्बु किसिपिडी क्षेत्र र धादिङतर्फ सुरुङमुख — मा सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ८० भन्दा बढी सुरक्षाकर्मी खटाइएका छन् । धादिङतर्फ पहिरो नियन्त्रणको काम भइरहेको छ भने सुरुङभित्र लाइटिङ, फायरफाइटिङ, भेन्टिलेसन र कंक्रिट सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए ।
स्थानीय आन्दोलन र सरकारी प्रतिक्रिया
चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखाका स्थानीयले आफ्ना माग पूरा नभएको भन्दै चैत ३ देखि ३० गतेसम्म निर्माण रोक्ने गरी आन्दोलन चलाएका थिए । बारम्बारको वार्ता प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा प्रहरी सुरक्षामा पुनः निर्माण कार्य सुरु गरिएको हो ।
‘अहिले पनि स्थानीय बिहानै आएर सुरुङ निर्माणस्थलअगाडि नाराबाजी गर्छन्,’ इन्जिनियर पन्थीले भने, ‘तर ३ सयभन्दा बढी कामदार प्रहरी सुरक्षामा काम गरिरहेका छन्। ’ उनका अनुसार चर्किएका घरहरूको क्षतिपूर्तिसम्बन्धी निर्णय मन्त्रिपरिषद्मा पुगिसकेको छ र कार्यान्वयन प्रक्रियामा रहेको छ ।
मागको स्थितिः केही सम्बोधन, केही प्रक्रियामा
स्थानीयहरूले निर्माण सम्पन्नपछि निःशुल्क खानेपानीको स्थायी व्यवस्था, चर्किएका घरको क्षतिपूर्ति, योग्यता र क्षमताका आधारमा रोजगारीको ग्यारेन्टीलगायत माग अघि सारेका छन् । सडक विभागका अनुसार तीमध्ये धेरैजसो माग सम्बोधन भइसकेका छन् भने केही प्रक्रिया अघि बढिरहेको छ ।
‘स्थानीयहरू वार्तामा आउन चाहन्छन् भने सडक विभाग सधैं तयार छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘हामीले उनीहरूको हकहितलाई बेवास्ता गरेका छैनौं ।’ तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने समस्या समाधानका लागि स्पष्ट र प्रभावकारी पहल नदेखाएको स्थानीयको आरोप छ ।
कामको प्रगति र ढिलाइ
सुरुङमार्गको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ । तर काम निर्धारित समयभन्दा निकै ढिला भएको छ । सन् २०१९ (२०७६ कात्तिक ४) मा सुरु भएको निर्माण कार्य ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर अहिले ६५ महिना पुगिसक्दा पनि आयोजना सम्पन्न हुन सकेको छैन ।
पहिलो चरणमा कोभिड–१९ महामारी र पछिल्लो चरणमा दोहोरिएका स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाइ भएको आयोजनाको दाबी छ । अहिले भने बाँकी रहेका काम सम्पन्न गरी २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
प्रभाव र सम्भावना
नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । सुरुङमार्ग निर्माणपछि यो खण्डको ट्राफिक चाप कम हुने, समय र इन्धनको बचत हुने तथा सडक दुर्घटना समेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माणको जिम्मा लिएको परियोजना नेपालको पूर्वाधार इतिहासमै एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
तर स्थानीय सरोकार, सरकारी ढिलासुस्ती र पारदर्शिताको अभावले आयोजना समयमै सम्पन्न हुनेमा अझै अनिश्चितता देखिन्छ । सुरुङमार्ग ‘पहिलो सवारी सुरुङ’ को रूपमा प्रचार गरिएको भए पनि अन्तिम फिनिशिङका काम सक्न सरकारी निकायले तत्कालीन समाधानमुखी चासो देखाउन नसकेको प्रष्ट देखिन्छ ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताअब सरकारी करार र ज्यालादारी श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares